Comments Add Comment

क्रिकेट रंगशाला प्रदेश १ मा बनाउन धुर्मुसलाई आग्रह

अर्थमन्त्री र व्यापारीले सहयोग गर्ने

फाइल फोटो

१६ चैत, इटहरी । कलाकार सिताराम कट्टेल (धुर्मुस) अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा सामाजिक सञ्जालबाट गरेपछि प्रदेश १ मा राम्रै तरंग आएको छ ।

स्थानीय उद्योगी-व्यवसायी तथा खेलप्रेमीहरुले प्रदेश १ मा रंगशाला निर्माण गरे आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।

धुर्मुस-सुन्तली फाउन्डेसनले यस अगाडि चार वटा वस्ती बनाएको नजिर र कामको विश्वसनीयता भएकाले सहयोग गर्न तयार रहेको उनीहरुको भनाइ छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा अन्तर्राष्ट्रिय रंगशाला नेपालको आवश्यकता भएकाले यसमा सहयोग गर्न तयार रहेको बताए । अनलाइखबरसँग कुरा गर्दै सारडाले एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटलाई अनिवार्य अत्याधुनिक रंगशाला चाहिएकाले आफ्नो र संस्थाको सक्रिय सहयोग हुने उल्लेख गरे ।

सारडाले भने, ‘जग्गा चाहिए जग्गा, आर्थिक सहयोग चाहिए आर्थिक सहयोग र प्राविधिक सहयोग चाहिए प्राविधिक सहयोग सबै गर्न मोरङ व्यापार संघ तयार छ ।’

विराट गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजाल अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने अवस्था आएमा सहयोग गर्न तयार भएको बताउँछन् । उनले भने, ‘आज मोफसलमा पहिलोपटक फ्लड लाइट जडान गरेर नयाँ काम हामीले थालेका छौँ । अझ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने हो भने हामी झनै सहयोग गर्छौ ।’

उद्योग वाणिज्य सङ्घ प्रदेश १ का एसोसिएटतर्फका उपाध्यक्ष तथा प्रदेश १ का सांसद लिलम बस्नेत पनि क्रिकेट स्टेडियममा सहयोग गर्न आतुर भएको बताउँछन् । ‘नेपाली खेल जगतको अहिलेसम्मको उत्कृष्ट परियोजना नै अत्याधुनिक र बहुउपयोगी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम हुनेछ’ सुनसरी ३ (क) का प्रत्यक्ष निर्वाचित सांसद बस्नेतले भने, ‘त्यसैले यो परियोजनाको लागि तन, मन र धनले सहयोग गर्न म तयार छु ।’

यस्तै, उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजु पनेरु र उद्योग वाणिज्य संघ सुनसरीका महासचिव शिभराज श्रेष्ठ पनि आफूहरूले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सक्दो सहयोग गर्ने बताए । ‘नेपाली क्रिकेटको चामत्कारिक विकासको कारणले गर्दा हामीले क्रिकेटका पूर्वाधार निर्माण गर्नैपर्छ’ पनेरुले भने, त्यसको लागि आवश्यक अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन म र मेरो संस्थार् सहयोग गर्न तयार छौँ ।’

अर्थमन्त्री पनि सकारात्मक

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोले पनि धुर्मुस-सुन्तलीले प्रदेशमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन खोजेमा सक्दो सहयोग गर्ने बताए ।

‘हाम्रो प्रदेश सरकार आफै पनि विराटनगरमा क्रिकेट मैदान बनाउनका लागि बजेटको गृहकार्यमा छौं,’ आङ्बोले भने, ‘धुर्मुस सुन्तली फाउन्डेसनले यहाँ आएर बनाउन चाहेमा हामी सकेको सबै सहयोग गछौर्ं ।’

अन्तर्राष्ट्रिय क्रिकेट मैदानको लागि पूर्वी तराई उपयुक्त हुने उनको तर्क छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा सुनसरी, मोरङ र झापाका कुनै स्थानमा क्रिकेट स्टेडियम बनाएर भारत र बंगलादेशका टिमहरू आएर खेल्न पनि सबैभन्दा पायक हुने बताउँछन् ।

धरान, इटहरी, विराटनगर, दमक, काकडभित्ता, भऽपुर जस्ता शहरमा क्रिकेट क्रेज बढेकाले अन्तर्राष्ट्रिय मैदान बने हौसला प्रदान गर्ने बताउँछन पूर्वफुटबल खेलाडी सुरेन्द्र तामाङ । उनी भन्छन्, ‘क्रिकेटको अप्रत्याशित लोकप्रियताका कारण पूर्वाधार विकास गर्न जरुरी छ, जुन प्रदेश १ बाट सुरु गर्दा धेरै सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment