Comments Add Comment

पुरुष पनि डरपोक हुन्छन् र भन्या ?

सामान्यतः पुरुषार्थ पुरुषसँग नै जोडिएर आउने गर्छ । हाम्रो सामाजिक परम्पराले पुरुषलाई रुनु हुँदैन, डराउनु हुँदैन, मर्द बन्नुपर्छ भनेर निर्भयताको आदर्शका रूपमा प्रस्तुत हुन उत्प्रेरित गर्ने गरेको पाइन्छ । समाजमा डर केवल महिलाहरूसँग सम्बन्धित कुरा हो, डराउने पुरुष नामर्द हो भनेर डरको अंश महिलाहरूमा मात्र हुन्छ भन्ने किसिमको विचार स्थापित गरिआएको पाइन्छ । पुरुषहरूभित्र डरको कुनै नाता रहँदैन भन्ने आम सोचाइ देखिन्छ । यसमा लैंगिक दृष्टिको कुरा अर्कै होला, अहिले त्यतातिर नजाऔं ।

सत्य के हो भने पुरुषहरू पनि डरपोक हुन्छन् । उनीहरूको मनमा अनेकौं प्रकारका डर लुकेको हुन्छ । बाहिरी रूपमा जतिसुकै बहादुरी प्रदर्शित गरे पनि मनभित्र भने डरको घर हुन्छ । अझै प्रस्ट भन्नुपर्दा हरेक पुरुषको मनमा जीवनपर्यन्त एक बालक रहिरहेको हुन्छ जुन पटक-पटक डराउँछ । साथै कतिपय डर त्यसका पछि मात्र चल्दैन पुरुषहरूको जीवनका पाइला-पाइलामा साथ लाग्छ । यहाँ पुरुषहरूको डरका केही कारण उल्लेख गरिएको छ ।

नकार्लान् कि भन्ने डर

आफूलाई कसैले नकार्ने कुरा सम्झँदा पनि पुरुषहरू डराउँछन् । जीवनको जुनसुकै मोड वा सन्दर्भमा किन नहोस्, आफूलाई कसैले नकार्ला कि भन्ने डरले पुरुषलाई सदैव सताइरहन्छ । कसैले नकार्दा उनीहरूको अहंमा चोट पुग्छ । प्रेमिका वा साथीले नकारे भने त झन् के कुरा गर्नु । आफूले ज्यादै मन पराएकी युवतीलाई ठूलो अँाट गरेर प्रेमप्रस्ताव राख्यो, उसले भन्दिन्छे- तिमीजस्ता लुतेसँग के प्रेम गर्नु । अनि केटाहरूको निद हराम । युवकहरू भोक न निद्राले आकुल-व्याकुल भइहाल्छन् । आखिर आप\mनी स्वप्नसुन्दरीले नकार्लिन् कि भन्ने डरले किन पिछा छोड्थ्यो र । अनि कुन मुखले भन्नु, पुरुषहरूमा डरको कुनै अंश हुँदैन ।

पर्याप्त कमाउन सकिँदैन कि भन्ने डर

छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी । पैसा पर्याप्त हुनेसँग जो पनि नजिकिन खोज्छन् अनि त पैसा कमाउन खोज्नु स्वाभाविक भइहाल्यो । झन् हाम्रो समाजले त काम गर्नु र पर्याप्त पैसा कमाउनुलाई पुरुषको योग्यतासँग जोडेर हेर्छ । पढाइ जतिसुकै होस्, जतिसुकै ह्यान्ढसम होस्, कमाइ नभएका युवकलाई अयोग्य मानिन्छ । तसर्थ पढाइ पूरा गरिसक्दानसक्दै कमाउने काममा लाग्नुपर्ने दबाब पुरुषहरूमा हुन्छ । दुःख गरेर पढिसकेपछि पनि भनेजस्तो जागिर नपाइएला कि भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ । त्यसमाथि छोरो मान्छेले कमाउनुपर्छ भन्ने धाराणा सानैदेखि पुरुषमाथि थोपरिएको हुन्छ त्यसैले आफू कमाइको मामिलामा अयोग्य साबित हुने त होइन भन्ने डरले पुरुषलाई कहिल्यै छोड्दैन ।

सामाजिक हैसियत उच्च बनाउन नसकिने डर

पर्याप्त बैंक ब्यालेन्स, शानदार महल, भनेजस्तो गाडी अनि परिवारका सदस्यको हरेक आवश्यकता पूरा गर्नका लागि गरिने दौडादौड । कतै आफू यी कुरा पूरा गर्नमा चिप्लिएर सामाजिक हैसियत गिर्ने त होइन भन्ने डरले प्रायः पुरुष पीडित हुन्छन् । एकातिर आधुनिक ऐसआरामपूर्ण जीवन बिताउन चाहने परिवारको हरेक आवश्यकता पूरा गर्नुपर्ने दायित्व अर्कातिर समाजमा अरूका अगाडि कम देखिन नहुने मानसिकताले जसरी पनि पैसा कमाउनुपर्ने दबाब दिइरहेको हुन्छ पुरुषलाई ।

एक्लो भइएला कि भन्ने डर

एक्लो रहनु कसैका लागि पनि सहज हुँदैन, झन् पुरुषका लागि त यो कुरो सुन्दैमा कहालीलाग्दो हुनसक्छ । यसबाट जोगिनकै लागि पुरुष हरेक समय आफूलाई प्रेम एवं साथसहयोग दिने जीवनसाथी खोज्छन् । जीवनसाथी पाएपछि बालबालिकाको चाहना गर्छन् । कामबाट र्फकंदा उनीहरूलाई देखेर सारा दुःख-पीडा भुल्नखोज्ने पुरुष एक्लोपनबाट जोगिन यी सारा प्रपञ्चमा फस्ने गर्छ । आफूलाई एक्लोपनबाट जोगाउने परिवार भताभुङ्ग होला अथवा आफूअनुकूल नहोला कि भन्ने डर पनि पुरुषहरूको मनमा सदैव रहिरहन्छ ।

साँचो प्रेमको चाहना

पुरुषहरू आफ्नी प्रेमिका वा पत्नीलाई अत्यधिक माया गर्छन् । उनका हरेक इच्छा जसरी पनि पूरा गर्ने ध्याउन्नमा सदैव लागिरहेका हुन्छन् आम पुरुष । उनीहरूको कान सदैव प्रेयसीले आफूलाई ‘म तिमीलाई सार्‍है माया गर्छु’ भनेको सुन्न चाहन्छ । उनीहरू आफूलाई श्रीमतीले मनैदेखि प्रगाढ माया गरून् भन्ने सोचेर नै साउदी, कतारको गर्मीसमेत झेल्न पुग्छन् । सम्बन्धको यस्तो गहिराइ प्राप्त गर्नकै लागि पुरुष जिउज्यान लगाएर कुदाकुद गर्छन् । आफूले यतिविधि गर्दागर्दै पनि प्रेयसी कतै टाप कस्ने पो हो कि, आफूलाई धोका हुने पो हो कि भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ ।

असफलताको डर

पुरुष जीवनको हरेक मोडमा सफल हुन चाहन्छ । सफलतालाई जीत अनि असफलतालाई हारसँग जोड्ने उसको चाहना सदैव हार-जीतकै गणितमा अल्भिmरहन्छ । जीवनमा सफलता प्राप्त होला कि नहोला ? सपना पूरा होला कि नहोला ? चाहना अधुरा रहने त होइनन् ? सफलताको नजिक पुगिसकेर पनि असफलता झेल्नुपर्ने त होइन ? जस्ता अनेकौं डर पुरुषहरूको मनमा दौडिरहन्छ । पैसाको सवाल होस् वा प्रेमको, कुनै पनि पुरुष असफल हुन चाहँदैनन् । त्यसैले उनीहरू सदैव असफल होइने हो भन्ने डरमा बाँचिरहन्छन् ।

बाहिरबाट जतिसुकै बलवान् तथा दृढ देखिए पनि पुरुषहरू आफूभित्र यस्ता अनेकौं डर पालेर बसिरहेका हुन्छन् जुन उनीहरूको मनको कुनासम्म पुगेर देख्न सकिन्छ । पुरुषहरू निडर हुन्छन् वा डरसँग पुरुषको कुनै साइनो रहँदैन भन्नु सामाजिक मान्यताले उब्जाएको भ्रान्तिसिवाय केही होइन । वास्तविकता के हो भने पुरुषहरू पनि महिलाजत्तिकै विभिन्न डर पालेर बसेका हुन्छन् । डरको सवालमा लिङ्गको कुनै भेद हुँदैन अर्थात् पुरुषहरू चाहिँ नडराउने महिलाहरू मात्र डराउने हुन्छन् भन्नु भ्रम मात्र हो । पुरुषहरू चाहिँ मानव होइनन् र , नडराउनलाई । डर त मानवीय स्वभाव हो नि । होइन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment