+
+
Shares

छिमेकमाथि विजयः कमिलालाई मह !

ज्योति मल्होत्रा ज्योति मल्होत्रा
२०७४ चैत २३ गते ९:४५
फाइल तस्वीर

नेपालमाथि विजय प्राप्त गर्ने मनसायले प्रधानमन्त्री खड्गप्रसाद ओलीका लागि रातो कार्पेट बिछ्याउँदै गर्दा भारतले आफ्नो गल्ती बुझेजस्तो देखिएको छ । कूटनीतिक कमजोरीका कारण आफ्नो छिमेकमा चीनले ठाउँ पाएको उसको बुझाइ छ र अब ऊ आफ्नो गुमेको अस्तित्व फिर्ता लिनका लागि लागिपरेको छ ।

प्रधानमन्त्री ओलीलाई भेटेर बधाइ दिनका लागि विदेश मन्त्री सुष्मा स्वराजले हालसालै गरेको नेपाल भ्रमण पनि यो नयाँ व्यवहारवादकै उदाहरण हो । विगतका तीन वर्षमा भारत नेपालको मधेस समुदायसँग जोडिएको, तर गुमिसकेको ‘रोटीबेटी रिस्ता’ भँजाउने अनि आफ्ना सबै नागरिकलाई बराबर व्यवहार गर्नका लागि काठमाडौँलाई सन्देश दिने नाममा अनौपचारिक रूपमा नाकाबन्दीको समर्थन गर्ने स्थानबाट पर गइसकेको छ ।

आज ऊ ओलीलाई भन्दै छ कि दिल्ली नेपालसँग एक महत्वपूर्ण छिमेकीका हैसियतमा समझदारी गर्न तत्पर छ, चाहे काठमाडौँले तराईका आफ्ना जनतामाथि जति विभेद गरोस् ।

आगामी आम चुनावअघिको अन्तिम वर्षमा स्वराज भारतीय विदेश नीतिमा आफ्नो छाप अझ बलियो पार्न सक्षम देखिएकी छिन् । सायद प्रधानमन्त्री नरेन्द्र मोदीले देशभित्र आइरहेका विभिन्न चुनावको दबावका कारण ध्यान केन्द्रित गर्न सकिरहेका छैनन् वा असन्तुष्ट राष्ट्रिय लोकतान्त्रिक गठबन्धनसँग कुरा मिलाउनमै व्यस्त छन् ।

यथार्थ के हो भने भारतको ‘छिमेकी पहिला’ (नेइबरहुड फस्र्ट) नीति हाल आएर भद्रगोल भएको छ । धूर्त शैलीको स्पष्टतः एकोहोरो चिन्तन भएका मोदीको अधैर्य कूटनीतिका कारण भारतसँग जोडिएका सार्वभौम राष्ट्रहरूसँगको सम्बन्धमा विभिन्न असामञ्जस्य देखा परेका छन् । सायद मोदी अनि उनको सत्तारोहणपछिको पहिलो चरणको विदेश मन्त्रालयको टिमले बुझेन कि यी राष्ट्रहरू आफैँ मोदीको न्यानो अंगालोमा आउनेवाला छैनन् ।

भारतले पाठ सिकेको छ, तर मूल्य चुकाएर । जब नेपाल र माल्दिभ्सजस्ता राष्ट्रहरू ढुक्क हुनका लागि बेइजिङको शरणमा पुगे, भारतले तिनलाई फकाउन केही प्रयास गरेन । उल्टो आफूलाई एउटा उँचो, बलियो छाती भएको प्रभावशाली छिमेकीका रूपमा देखायो र तिनलाई थर्काउन लाग्यो । तर, यी छिमेकीले दिल्लीलाई सुनेनन्, उल्टो आफूमाथि खुट्टा बजार्न खोज्ने दिल्लीका मान्छेविरुद्ध छिमेकभरि डरलाग्दा कथा सुनिन थाले । आक्रामक दृष्टिकोणका चर्चा सुनिए । सत्यता पुष्टि हुन नसकेको एउटा कथा अनुसार काठमाडौँ पुगेर कोही भारतीय अधिकारीले नेपाली नेतालाई भने, “तपाईँ आज मसँग किन गुनासो गर्दै हुनुहुन्छ ?”

सत्यता पुष्टि हुन नसकेको एउटा कथा अनुसार काठमाडौँ पुगेर कोही भारतीय अधिकारीले नेपाली नेतालाई भने, “तपाईँ आज मसँग किन गुनासो गर्दै हुनुहुन्छ ?”

यो निश्चय नै हो कि चीनले माओवादी र ओलीको नरम कम्युनिस्ट पार्टीलाई चुनावका बेला एक ठाउँ ल्याइदियो । लेनिनको जन्म दिन पारेर आगामी अप्रिल २२ मा उनीहरूबीच पुनर्एकीकरण हुने तयारी छ । राजनीतिको पहिलो नियम यो हो कि आफ्नो छिमेकीलाई पूर्ण सम्मान देऊ । आफूजत्तिकै बलियो हैसियतमा चुनाव जितेर शक्तिमा आएका नेताका हकमा यो अझ लागू हुन्छ ।

सत्ता आफ्नो पोल्टामा आजीवन राख्न चीनका राष्ट्रपति सी जिनपिङ दृढ छन् भन्ने कुरा स्पष्ट छ । यो पनि निश्चित छ कि उनलाई पोखरामा दोस्रो चिनियाँ कन्सुलेट खोल्नु छ, तिब्बतदेखि उत्तर—दक्षिण राजमार्ग बनाएर, भारतसँग खुला सीमा जोडिएको तराईमा घुसपैठ र सुराकी गर्नु छ ।

हिन्दू बाहुल्य राष्ट्रलाई साथ दिनमा औपचारिक रूपमा गैरधार्मिक चीनलाई कुनै समस्या छैन, जब कि नेपाललाई सन् २००६ मा गणतन्त्रमा परिणत हुन भारतले बडो मेहनतका साथ सहयोग गरेको थियो ।

चीनले विश्वमा आफ्नो सामथ्र्य फैलाइरहँदा दक्षिण एसियामा पाकिस्तानदेखि माल्दिभ्ससम्म यसको प्रभाव देखिएको छ । पाकिस्तानका सेना प्रमुख कमार जाबेद बज्वाले हालै गरेको माले भ्रमण पनि बेइजिङ आफ्नो रणनीतिक साझेदार रहेको पाकिस्तानलाई कसरी नयाँ मित्रता गाँस्दै, मान्छेलाई प्रभावमा पार्दै भारतलाई घाटा लगाउन परिचालन गर्दैछ भन्ने कुराको एक मुख्य उदाहरण हो ।

भुटानसँगको वार्ता स्थगित भए पनि बेइजिङ अर्को विवादास्पद वास्तविक नियन्त्रण रेखामाथि हस्तक्षेप गर्न नकारात्मक नहुन सक्छ । आखिर चुनावका लागि दिनगन्ती सुरु हुँदा उसलाई अर्को माध्यमबाट भारतको ध्यान भङ्ग गरिदिनु छ ।

चीनको विस्तारित हैसियतसँग जुध्न भारतले के गर्नुपर्छ भन्ने प्रश्नको एउटा उत्तर स्पष्ट छ । हुन त विगत वर्षहरूमा पनि अमेरिकीहरूबाट फसाइएका भारतीय प्रधानमन्त्री चीनसँग जुध्न डराएका थिएनन् । सबभन्दा चिसो अवस्था दुई वर्ष अगाडिको साङघाई कोअपरेसन समिटमा आएको थियो, जतिबेला मोदीले सीलाई सोधे कि चीन किन न्युक्लिर सप्लायर्स ग्रुपको सदस्य बन्ने भारतको इच्छाविरुद्ध उभिएको छ ? उत्तरमा सी हाँसे मात्र । भारतीय प्रधानमन्त्री रित्तो हात फर्किए । एसियाको अर्को ठूलो शक्तिले उनलाई आफ्नो हैसियत देखाइदियो ।

दुई वर्षपछि आइपुग्दा मोदीको आक्रामकता हराइसकेको छ, उनी जोखिम नमोल्न सचेत छन् । सन् १९८० को दशकमा देङ स्याओपिङले व्याख्या गरेजस्तो विदेश नीति लिँदै छ चीन आज । त्यसबेला रेन्मिक विश्वविद्यालयका पत्रकारिता विभागका डिन तथा राज्य परिषद सूचना केन्द्रका प्रमुख झाओ क्युजिङले यो नीतिको व्याख्या गर्दै भनेका थिए, “शान्त भई हेर्ने, आफ्नो स्थान निश्चित गर्ने, शान्त भई परिस्थितिसँग जुध्ने, आफ्नो क्षमता लुकाउने, अवसरको प्रतीक्षा गर्ने, तल्लो हैसियत (लो प्रोफाइल) मा बस्ने र नेतृत्व दाबी कहिल्यै नगर्ने ।”

दोक्लामको तनाव सकिएसँगै भारतले ओलीका रूपमा एक विषालु हतियार आफूतिर तानेको छ भने माल्दिभ्सको प्रतिपक्षलाई चीनका मित्र रहेका अब्दुला यमिनसँग आफैँ लड्न उक्साएको छ । यी सबै भारतले चीनबारे बनाएको नयाँ सेटिङका उदाहरण हुन् । आफ्नो नियुक्ति लगत्तै परराष्ट्र सचिव विजय गोख्लेले दलाई लामासँग गरेको भेट पनि यसकै अंग हो । दलाई लामाले भारतका राष्ट्रपति र उपराष्ट्रपतिलाई भेट्न इच्छा जाहेर गरेका छन् र यसबारे विमर्श हुँदै छ ।

बेइजिङको अर्थतन्त्रको पाँच भागको एक भाग मात्र सामथ्र्य भएको दिल्लीले अन्ततः बुझेको छ कि ऊ चीनसँग दैनिक स्तरमा युद्ध गर्न समर्थ छैन । त्यसैले भारतको छिमेकलाई अन्य कुनै तरिकाले जित्नुपर्ने छ ।

शताब्दीयौँ अगाडि कौटिल्य तक्षशिलामा बस्थे, जुन आज पाकिस्तानमा पर्छ । (अनि पाकिस्तान हाम्रा प्रधानमन्त्रीको वर्तमान शत्रु हो ।)

एउटा कथा अनुसार घाँसे मैदानमा एक दिन हिँडिरहँदा कौटिल्यले एक अनौठो मानिसलाई देखे । त्यो मान्छे कमिलाको ताँती अगाडि मह खन्याउँदै थियो । “के गरेको ?” भनेर सोध्दा त्यो मान्छेले भन्यो, “म कमिलालाई मह खुवाउँदैछु । यदि उज्यालोमा मह चटाएरै म तिनलाई रोक्न सक्छु भने मार्नु किन ?”

प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत छ !

(ज्योति मल्होत्रा द इण्डियन एक्सप्रेसकी कल्सल्टिङ एडिटर हुन् । उनको यो लेख इण्डियन एक्सप्रेसबाट लिइएको हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?