२३ चैत, काठमाडौं । गत वर्षको तुलनामा यसपालि नेपालमा वैदेशिक लगानी बढेको छ । गत असार मसान्तसम्म १५ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत भएकोमा यो आर्थिक वर्षको ८ महिनामा यस्तो लगानी दोब्बरले बढेर ३४ अर्ब पुगेको छ ।
पछिल्ला वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढेको छ । यो वर्ष सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागको बैदेशिक लगानी महाशाखाका अनुसार गत वर्षसम्म कुल स्वीकृत लगानीको १७ प्रतिशत हिस्सा चीनले ओगटेको थियो । तर, यसपालि भने यस्तो हिस्सा २५.५८ प्रतिशत पुगेको छ ।
बैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्रबहादुर बस्नेतका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा कुल ३४ अर्ब ९१ करोड रुपैयाँ वैदेशिक लगानी भएको छ । जसमध्ये २८ अर्ब ४९ करोड चिनियाँ लगानी स्वीकृत भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष भारतीय लगानी पनि बढेको छ । गत वर्ष २ अर्ब ८ करोड बैदेशिक लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा ३ अर्ब ९८ करोड बराबरको भारतीय लगानी स्वीकृत भएको छ ।
४ हजार २ सय ७० उद्योगका लागि २ खर्ब ४७ अर्ब स्वीकृत
अहिलेसम्म विश्वका ९० देशले नेपालमा लगानी गर्नका लागि स्वीकृति लिएका छन् । विभागले अहिलेसम्म ४ हजार २ सय ७० उद्योगका लागि लागि २ खर्ब ४७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । कुल स्वीकृत भएको बैदेशिक लगानीमध्ये ३५ प्रतिशत हिस्सा भारतीय कम्पनीहरुको छ ।
संख्यात्मक हिसाबले हेर्ने हो भने भारतीय भन्दा चिनियाँ लगानीमा खुल्न लागेका उद्योग धेरै देखिन्छन् । अहिलेसम्म चिनियाँहरुले १ हजार २ सय २५ उद्योगमा लगानी गर्न स्वीकृती लिएका छन् । त्यस्तै भारतीयहरु भने ७ सय १३ वटा उद्योगमा लगानी गर्नका लागि लगानी स्वीकृत गरेका छन् । कुल लगानीको कम्पनी स्वीकृत भएको छ ।
बस्नेतका अनुसार नेपालमा यस्तो बैदेशिक लगानी ०३२ सालबाट हुन लागेको हो । सुरुवातमा भारतीय लगानीको हिस्सा बढी थियो । र, लामो समय भारतीय लगानीकै हिस्सा ठूलो रहन गयो । यसपालि भने भारतीय लगानी भन्दा चिनियाँ लगानीको हिस्सा बढेको छ ।
चीनको बढीजसो खानीजन्य र पर्यटन उद्योगमा लगानी केन्द्रित भएको देखिन्छ भने र भारतको सेवा र उत्पादनमूलक क्षेत्रमा
चीनको खानीमा र भारतको सेवामूलक उद्योगमा चासो
वैदेशिक लगानी महाशाखाका प्रमुख बस्नेतका अनुसार पछिल्लो समय खानीमा लगानी गर्ने चीनको चासो बढ्दै गएको छ । अहिलेसम्म उद्योग विभागमा ६८ वटा बिदेशी कम्पनी तथा ब्यक्तिहरुले खानीमा लगानी गर्नका लागि स्वीकृति लिएका छन् । त्यसमध्ये ४८ वटा खानीजन्य उद्योगमा लगानी गर्न चिनियाँ कम्पनीहरुले स्वीकृति लिएका छन् ।
बस्नेतका अनुसार चीनको बढीजसो खानीजन्य र पर्यटन उद्योगमा लगानी केन्द्रित भएको देखिन्छ भने र भारतको सेवा र उत्पादनमूलक क्षेत्रमा लगानी बढ्दै गएको छ ।
उनका अनुसार अहिलेसम्म उत्पादनमूलक क्षेत्रमा १ हजार ७६ उद्योगमा लगानी गर्न बैदेशिक लगानी स्वीकृत भएको छ । जसमा ४७ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
२८४ ठूला उद्योगका लागि लगानी स्वीकृत
अहिलेसम्ममा स्वीकृत भएको लगानीका आधारमा २८४ वटा ठूला खालका उद्योगका लागि लगानी स्वीकृत भएको छ । र यस्ता ठूला उद्योगको लागि १ खर्ब ७३ अर्ब ४८ करोड बराबरको रकम स्वीकृत भएको छ ।
बस्नेत भन्छन् ‘साना उद्योगले देशमा रोजगारीको सिर्जना गर्छन् भने ठूला उद्योगले ठूलो मात्रामा कर तिर्छन्, त्यसैले हामीलाई दुवै खालका उद्योगको आवश्यकता छ ।’
साना उद्योगमा भने अहिलेसम्म ४७ अर्ब ७७ करोड बराबरको मात्रै लगानी स्वीकृत भएको छ । ३ हजार ५ सय ८९ वटा साना खालका उद्योगमा लगानी गर्न विभागले स्वीकृति प्रदान गरेको छ ।
संख्यात्मक आधारमा हेर्दा स्वीकृत भएका यस्ता साना उद्योगको ८४ प्रतिशत हुन आउँछ । तर, यस्ता साना उद्योगको लगानी भने ठूला उद्योगको तुलनामा सानो देखिन्छ । किनकि कुल स्वीकृत लगानीको ४१ प्रतिशत हिस्सा ठूलो उद्योगको छ भने साना उद्योगको जम्मा ११ प्रतिशत मात्रै छ ।
प्रतिक्रिया 4