Comments Add Comment

प्रदेश १ मा ६५२ मेगावाट विद्युत उत्पादनको काम जारी, सम्भावना १० हजार मेगावाटको

२५ चैत, विराटनगर । प्रदेश १ मा आगामी तीन वर्षभित्र ६ सय ५२ मेगावाट विद्युत् उत्पादनको काम अघि बढाइएको छ । तर प्रदेश १ मा १० हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको जानकारहरु बताउँछन् ।

प्रदेश १ लाई कसरी अरु प्रदेशभन्दा अब्बल बनाउने भन्ने योजनामा सरकार जुटेको छ । कृषि, औद्योगिक, पर्यटनलगायतका क्षेत्रसँगै  उर्जालाई पनि उत्तिकै प्राथमिकता दिइएको छ ।

तीन वर्षमा ६ सय ५२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निजी क्षेत्रले काम अघि बढाएका छन् । यी आयोजना निर्माण सम्पन्न भएमा कर्णाली प्रदेशपछि सबैभन्दा बढी विद्युत उत्पादन एक नम्बर प्रदेशमा हुनेछ । कर्णाली प्रदेशले १० वर्षमा १० हजार मेगावाट बराबरको जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालयले गठन गरेको विज्ञहरुको समितिले हालै तयार परेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ भित्रै ६ सय ५२ दशमलव ०६ मेगावाट विद्युत् उत्पादन गर्नसकिन्छ ।

सानाठूला आयोजनाबाट ६ सय ५२ मेगावाट बिजुली उत्पादन भएमा प्रदेश १ ले आफूले विद्युत खपत गरेर बाँकी करिब ४ सय मेगावाट बिजुली अन्य प्रदेशलाई बिक्री गर्न पनि सक्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १ मा हाल सोलु कोरिडोरअन्तर्गत सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरबाट ३ सय २५ मेगावाट विद्युत उत्पादनको काम अघि बढेको छ ।

यसैगरी कोशी कोरिडोरअन्तर्गत भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र मोरङबाट १ सय ४० दशमलव ०७ मेगावाट तथा काबेली कोरिडोरअन्तर्गत ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट १ सय ८६ मेगावाट बिजुली उत्पादनको काम अघि बढेको छ ।

यसबाहेक ३ हजार ७ सय २२ दशमलव १७ मेगावाट क्षमताका विभिन्न विद्युत् आयोजनाको सर्भेसमेत अघि बढाइएको छ । कोशी कोरिडोरबाट १ हजार ७ सय २७ दशमलव ९ मेगावाट, काबेली कोरिडोरबाट १ हजार १ सय ७३ मेगावाट र सोलु कोरिडोरबाट ८ सय २१ दशमलव २७ मेगावाटका क्षमताका विभिन्न आयोजनाहरुमा सर्भेको काम जारी छ ।

प्रदेश नम्बर १ अन्तर्गत १४ जिल्लामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेका विद्युत् आयोजनाबाट हाल १ सय २ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । यद्यपि केन्द्रीय प्रशारण लाइनमा भने आन्तरिक उत्पादनबाट पुवाखोलाको ३ मेगावाट र काबेली करिडोर तथा संखुवासभाको तिरतिरेबाट २७ मेगावाट विद्युत् मात्रै जोडिएका छन् ।

पूर्वमा पिलुवा, तल्लो पिलुवा, सभाखोला, पुवाखोला, माइखोला, सानिमा क्यास्केट, अपर माई अपर, माई क्यास्केट, जोगमाई, अपर पुवा, हेवाखोला, खोराङ खोला, फावा खोला, चतरा उत्पादन केन्द्रबाट १ सय २ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये चतरा केन्द्रको ३ मेगावाटको विद्युत् आयोजना भने हाल बन्द छ । प्रदेश नम्बर १ मा अहिलेको विद्युत् माग दैनिक २ सय मेगावाट छ ।

त्यसमा भारतबाट १ नम्बर प्रदेशका १४ जिल्लासहित पूर्वाञ्चलका लागि १ सय ३५ मेगावाट विद्युत् आपूर्ति भइरहेको कार्यपत्रमा उल्लेख छ ।

अझैपनि प्रदेश नम्बर १ मा दैनिक करिव १ सय मेगावाट विद्युत खपत हुने देखिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामा ५ लाख ९९ हजार ९ सय ७१ विद्युत उपभोक्ता छन् ।

प्रदेश नम्बर १ सहितका पूर्वमा जिल्लामा अझै १३ दशमलव ७४ प्रतिशत विद्युत् चुहावटको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment