Comments Add Comment

भारत भ्रमणमा राजेश हमाल ‘शो पिस’ मात्र

अब राजदूत बन्न इच्छुक छन् हमाल !

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा पहिलोपटक कलाकारको सहभागिता गराइँदा सिंगो फिल्म इन्डष्ट्रीले सम्मानित महसुस गर्‍यो । कलाकारको तर्फबाट महानायक राजेश हमाल र दिनेश डीसीले यो अवसर पाएका थिए ।

तर, यी दुईको भारत भ्रमणको कुनै प्रयोजन भने देखिएन । भारतमा उनीहरुले कुनै अलग्गै विजनेस पाएनन् । फलत उनीहरु ‘शो पिस’ मात्र बन्न पुगे । त्यसो त प्रधानमन्त्रीको टोलीमा रहेका दुई-चार जना महत्वपूर्ण व्यक्तिहरुबाहेक अरु सबै डफ्फा बेरोजगार नै थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत जानुअघि नेपाली  फिल्म इन्डष्ट्रीलाई बलिउडसँग जोड्ने भाषण गरेका थिए । साथै उनले भारत भ्रमणका क्रममा बलिउडका कलाकर्मीसँग अन्तरक्रियाको कार्यक्रम रहेको पनि बताएका थिए । भ्रमणमा राजेश हमालको सहभागितालाई यसैसँग जोडेर हेरिएको थियो ।

तर, नेपाली दूतावासले पहल नगरेको हो कि नसकेको हो, भ्रमण तालिकामा त्यस्तो कुनै कार्यक्रम राखिएको थिएन । बरु नेपाली कलाकारहरुको सम्मानमा इम्पेरियल होटलमा राखेको रात्रीभोजमा केही कलाकारहरुलाई निमन्त्रणा गरिएको रहेछ । तर, त्यहाँ पनि चिनिएका कलाकार राजपाल यादव मात्रै देखिए ।

सोही रात्री भोजमा भारतीय जनता पार्टीका नेता विजय जोलीले राजेश हमाललाई ‘नेपालका अमिताभ बच्चन’ भन्दै अरुलाई चिनाइरहेका थिए । सो कार्यक्रममा उपस्थित नेपालीहरु हमालसँग सेल्फी खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे । अर्का कलाकार दिनेश डिसी भने खासै नोटिसमा परेनन् ।

उच्चस्तरीय भ्रमणमा कलाकारलाई स्थान दिइनु प्रधानमन्त्री ओलीको नयाँ र सुखद अभ्यास हो । तर, उनीहरुको विज्ञता आवश्यक पर्ने कुनै बेग्लै कार्यक्रम नहुँदा यो अभ्यास औचित्यपूर्ण भने बन्न सकेन ।

भ्रमण सोचेभन्दा राम्रो: दिनेश डिसी

भारत भ्रमणबाट फर्किएका दिनेश डिसीले भ्रमण सोचेभन्दा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँगको छोटो फोन सम्पर्कमा आएका उनले भने, ‘भ्रमण अत्यन्त फलदायी रह्यो ।’

उनले भारतीय कलाकारहरुसँग अन्तरक्रिया पनि भएको बताए । कोको कलाकारसँग भयो भन्ने प्रश्नमा उनले भने, ‘यसबारे बिस्तारमा बसेर कुरा गरौंला ।’

राजदूत बन्ने राजेशको इच्छा !

भारतमै छँदा एक अनलाइनलाई अन्तरवार्ता दिँदै राजेश हमालले प्रधानमन्त्री ओलीको खुलेर तारिफ गरे । साथसाथै उनले अवसर आएमा भारतका लागि नेपाली राजदूतको जिम्मेवारी लिन तयार रहेको समेत जनाउ दिए ।

‘प्रधानमन्त्रीको नयाँ सोच र विचारले मलाई प्रभावित बनाएको छ, मैले उहाँसँग जे अपेक्षा राखेको थिएँ, त्यो भ्रमणमा प्रतिबिम्बित भएको छ,’ अन्तरवार्तामा उनले भनेका छन् । आफू प्रधानमन्त्री ओलीको सहयोगी, प्रशंसक र समर्थक भएको उनले बताएका छन् ।

दिल्लीमा त तपाईंलाई भारतको राजदूत बनाउन लागियो भन्ने चर्चा चल्यो नी भन्ने प्रश्नमा उनको जवाफ छ, ‘मेरो व्यक्तिगत इच्छा आफ्नो ठाउँमा छँदैछ, पिताजीको लिगेसी पनि आफ्नो ठाउँमा छ । तर मलाई राजदूत बन्न कुनै झिनो प्रस्ताव पनि आएको छैन । मेरो भित्री इच्छा सोध्नुहुन्छ भने त्यो पाटो अंगाल्नै मन छैन चाहिँ भन्दिनँ । प्रत्यक्ष नभए पनि अप्रत्यक्ष, हिङ नभए पनि हिङ बाँधेको टालो हुँ । केही कुटनीति स्वभाविक रुपमा बुझेको छु, राष्ट्रको आवश्यकता अनुसार कुटनीतिक भूमिका निर्वाह गर्न सक्छु ।’

राजदूत बन्ने प्रस्ताव आइहाल्यो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘हुन्न भन्न सक्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment