२७ चैत, तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपूरको दक्षिण तर्फ बन्दीपूर सामुदायिक होमस्टेको एउटा गेट देख्न सकिन्छ ।
त्यस गेटभन्दा भित्र रहेका परम्परागत घरहरुमा स्थानीय महिलाहरुको सक्रियतामा ०६८ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।
२० वटा घरमा नम्वर लगाइएको छ । पाहुनाका लागि सहज होस् भनेर ।
हरेक दिन आउने पाहुनाहरुलाई न्यानो स्वागत गर्नु र उनीहरुलाई स्थानीय उत्पादनको खानपिन गराउनु र सांस्कृतिक कार्यक्रम देखाउनु दैनिक जस्तैं बनेको छ यहाँका महिलाहरूको लागि ।
१५० जनासम्म पाहुनाहरुका लागि खान वस्नको ण्सहज व्यवस्थापन गर्न यहाँका महिलाहरु सक्षम छन् ।
पहाडकी रानी भनेर चिनिने बन्दिपुरमा पछिल्लो समय होमस्टेहरु पनि फस्टाएका छन् ।
सुरुमा १२ घरबाट सुरु भएको बन्दिपुर सामुदायिक होमस्टेमा अहिले २० घर आवद्ध बनेका छन् ।
जातीय हिसावले पनि सन्तुलित छ । ‘हामी कुनै एक जाति विषेशका मान्छे मात्रैं मिलेर होमस्टे चलाएका छैनौं,’ संस्थाकी अध्यक्ष डिलकुमारी रानाले भनिन्, ‘त्यही कारण हामी मिक्स खालको सांस्कृतिक प्रस्तुती पर्यटकलाई दिन्छौं ।’
हरेक साँझ स्थानीय मौलिकतासहितको खानपान अनि सांस्कृतिक प्रस्तुति त्यो पनि सस्तो मूल्यमा ।
जम्मा ६ सय ५० मा साँझको खाना, कोठा, बेलुकाको सांस्कृतिक प्रस्तुती, विहानको खाजा र सादा खाना उपलब्ध हुुन्छ ।
विदेशी पाहुनाका लागि एक हजार मूल्य तोकेको छ । ‘सायदै अन्यत्र बाहिर होटलमा यति मूल्यमा बस्न पाइन्छ’ अध्यक्ष रानाले भनिन् ‘कारण होटल जत्तिको लगानी र पूर्वाधार थप्नु पर्दैन, अर्गानिक बस्तुहरुकै प्रयोग गर्दछौं।’ खर्च कटाएर एक घरले मासिक २५ हजारसम्म आम्दानी गरेका छन् । अध्यक्ष रानाले भनिन् ‘घरमा नै बसेर थोरै लगानी र मेहनतमा २५ हजार कमाउनु भनेको ठूलो कुरो हो ।’
बन्दिपुर महंगो छ भन्ने रेडिमेड सोचाइमा परिवर्तन ल्याउन सस्तो मूल्यमा बसोवास र खानपानको व्यवस्था मिलाइएको उनको भनाइ छ ।
कम्तीमा १५ जना पाहुना भएपछि बन्दिपुर सामुदायिक होमस्टेमा मादल बज्न थाल्छ ।
स्थानीय महिलाहरु गीत गाएर रमाउँछन् । यसमा पुरुषहरुको पनि उत्तिकै साथ रहन्छ । होमस्टेमा रमाइलोका साथै थोरै खर्चले पनि बस्न र खान पाउने भएपछि पर्यटक होमस्टेतर्फ नै बढी आकषिर्त हुने गरेका छन् ।
होमस्टेमा बस्ने पर्यटकलाई होमस्टे व्यवसायीले लाखे, लोकदोहोरी, चुड्का लगायतका सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गर्ने गरेका छन् । क्याम्प फायरको समेत व्यवस्था मिलाउने सोच संस्थाको छ ।
एकजुट भएर सांस्कृतिक महत्वका नृत्य, दोहोरी गीत र स्थानीय उत्पादनका रूपमा साग, कोदोको ढिंडो, रोटी र लोकल कुखुराको मासु खुवाउने चलन यहाँको पहिचान बनेको छ ।
कोदाको रोटी, लोकल कुखुराको मासु, गुन्द्रुक र ढिँडोका परिकार पाहुनाको पहिलो रोजाइमा पर्ने गरेको छ ।
उत्तरतर्फ दर्जनबढी हिमशृंखला देख्न पाइने भएपछि बन्दिपुर धेरैको रोजाइमा पर्छ ।
लमजुङ, तनहुँ, गोरखा, कास्की लगायतका सरकारी तथा गैरसरकारी कार्यालय, राजनीतिक दलहरूसमेत आˆना कार्यक्रम लिएर बन्दिपुर पुग्छन् ।
होमस्टेमा दैनिक औसत ३० देखि ४० जनासम्म पर्यटक बस्ने गरेका छन् । बन्दिपुरमा अहिले दैनिक ५ देखि ७ सय पर्यटक आउँछन् ।
एक वर््षमा बन्दिपुरमा एक लाख २० हजारसम्म पर्यटक पुग्छन् । यहाँ ६० पर्यटक होटल छन् । होटल र होमस्टेमा गरी दैनिक १ हजार २ सयलाई सहज खानेबस्ने व्यवस्था छ ।
सस्तो मूल्यमा पाहुना राख्दा महंगीले समस्या पारेको उनीहरूको गुनासो छ । उनीहरूले ढाका तथा उनीका कपडा बुन्ने, हस्तकलाका सामग्री बनाउने र आएका पाहुनालाई बिक्रीसमेत गरेर थप आम्दानी बढाउने योजनामा लागेका छन् ।
प्रति पर्यटक लिइने ६ सय ५० को १० प्रतिशत रकम कोषमा जम्मा गर्ने गरीन्छ । यसका लागि अलग अलग समिति उनीहरुले बनाएका छन् ।
अहिलेको मूल्य निकै नै कम भएकोले एकपटक बढाउने हो की भन्ने सोच आएको अध्यक्ष डिलकुमारी रानाले बताइन् । अर्को वर्ष केही रकम बढाउने उनले जानकारी दिइन् ।
सस्तोमा पर्यटक राखेपछि होटलवालाहरु रिसाएका छैनन् भन्ने प्रश्नमा बन्दिपुर सामुदायिक होमस्टेकी अध्यक्ष डिलकुमारी रानाले भनिन् ‘स्थानीय होटलहरुसँग होमस्टेको सम्वन्ध राम्रो छ, द्धन्द्ध छैन । होटलहरुले आफ्नै रेट लिन्छन् । हामी आफ्नै लिन्छौं, मिलेर नै काम गरेका छौं ।’
बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा बन्दिपुरमा सञ्चालित होमस्टेको प्रबर्द्धनमा गाउँपालिकाले सहयोग गर्ने बताए । ‘होमस्टे बन्दिपुरको चिनारी बनिसकेको छ,’उनले भने ‘यसको प्रबर्द्धनका लागि गाउँपालिकाले कार्यक्रम समेत राखेको छ ।’
पृथ्वी राजमार्गको डुम्रेदेखि नियमित सवारी चल्ने र पक्की सडक भएकोले चाहना राख्ने पाहुनालाई बन्दिपुर आउन सहज छ ।
होमस्टेकै कारण धेरै पर्यटक बन्दिपुर भित्रिने गरेका छन् । देशका विभिन्न ठाउँबाट बेला-बेला समूह बनाएर आन्तरिक पर्यटक बन्दिपुरको होमस्टेमा रमाउन आउँछन् ।
सफा शितल, कोलाहल र धुवाँ धुलोरहित वातावरणीय सुन्दरतासँग रम्न आउने पर्यटनको संख्यामा दिन प्रतिदिन वृद्धि भएको छ ।
बन्दिपुरमा आउने पर्यटकहरु ८० प्रतिशतले होमस्टे नै रोज्ने गरेको उनीहरुको अनुभव छ । अन्य सिजनमा भन्दा गर्मी छल्न पर्यटकहरु बन्दिपुर उक्लने गर्दछन् ।
बन्दिपुर गाँउपालिका भित्रै मोहरियरा, तीनधारा, शेराटार, रामकोट, धरमपानी लगायतका अन्य होमस्टे समेत सञ्चालन गरिएको पर्यटन समितिका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
प्रतिक्रिया 4