Comments Add Comment

डीपीएल इलिमिनेटर : महेन्द्रनगरद्वारा अत्तरिया पराजित

२७, चैत, धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) को इलिमिनेटर खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई १५ रनले पराजित गर्दै  क्वालिफायर्समा पुगेको छ ।

सोमबार भएको खेलमा १३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११५ रनमात्र बनाउन सक्यो ।

अत्तरियाका लागि सुवास खकुरेलले ३०, विपिन चन्द्रले २८, दीपेन्द्रसिंह ऐरीले २७ र गौरव चित्काराले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । बलिङतर्फ महेन्द्रनगरका रोविन क्षेत्रीले २ र भुवन कार्कीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन जोडेको थियो । उसका लागि आरिफ शेखले ३५, पुनित मेहराले २६, करन केसीले नटआउट २४, आशिफ सेख र रोहितकुमार पौडेलले समान ११ रन जोडे ।

बलिङतर्फ अत्तरियाका कमलसिंह ऐरीले २, कृष्ण कार्की, शुभांकर उराउ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्रले १/१ विकेट लिए ।

अब फाइनल प्रवेशका लागि महेन्द्रनगरले काठमाडौं गोल्डेन्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सोमबार नै काठमाडौं गोल्डेन्सलाई हराउँदै धनगढीको टीम चौराहा फाइनल प्रवेश गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment