Comments Add Comment

उफ् ! पोखराको ट्राफिक : सडक छिचोल्नै सकस

२ लाख गाडी व्यवस्थापन गर्न २८ ट्राफिक प्रहरी

२८ चैत, पोखरा । पोखराको सभागृह चोकमा ठडिएको छ, नयाँ आइल्याण्ड । आइल्यान्डमा उभिएर एक जना ट्राफिक प्रहरी इसारा गर्दैछन् । तीनतिरबाट आएका सवारी साधनलाई रोक्दै पालैपालो जान उनले सिठी फुकिरहेका छन् ।

नजिकै एक जना युवक ओभरटेक गर्दै आउँदा एउटा टयाक्सीसँग ठोक्कियो । ट्राफिक प्रहरी त्यतातिर दौडिए । जब ट्राफिक प्रहरी घटना भएतिर गए यता गाडीहरु ठूलो स्वरमा हर्न बजाउँदै अघि बढे । अर्को ट्राफिक नहुँदा एकैछिनमा सवारी व्यवस्थापन अस्तव्यस्त बन्यो ।

पृथ्वीचोकमा ट्राफिक व्यवस्थापनकै लागि भनेर शालिकसहितको आइल्यान्ड हटाइएको छ । आइल्यान्डसहित शहीद लखन थापाको शालिक हटाएपछि जनजाति समुदायले आन्दोलन गरे । महानगरपालिकाले फेरि सानो आइल्यान्डमा लखन थापाको शालिक राख्ने भयो ।

त्यसको विरोधमा फेरि क्षत्री समाज आन्दोलनमा उत्रियो । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले फेरि लखनको शालिक नराख्ने सहमति गरे । अहिले पृथ्वीचोकमा बन्दाबन्दै रोकिएको आइल्यान्ड छ ।

अहिले त्यसले ट्राफिक प्रहरीलाई नै सास्ती दिएको छ । सीमित ट्राफिक प्रहरीबाट सवारी व्यवस्थापनको काम हुँदा ट्राफिक, यात्रु, चालक र पैदलयात्रुलेसमेत सास्ती खेप्नु परेको छ ।

चारैतिरबाट गाडी आउने पृथ्वीचोकको सडक पार गर्न सास्ती खेप्नुपर्ने समस्या आइसकेको छ । पोखरामा सवारी साधनको चाप बढेकोबढ्यै छ तर सडकको अवस्था, ट्राफिक जनशक्तिको कमी, ट्राफिक लाइटको अभावलगायतका समस्याले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

चोकहरुमै सीमित ट्राफिक प्रहरी

प्रादेशिक राजधानी र त्यसमा पनि पर्यटकीय केन्द्र पोखरामा जम्मा ट्राफिकको दरबन्दी कति होला ? उत्तर अपत्यारिलो लाग्न सक्छ । साँचो हो, देशकै ठूलो महानगरपालिका र प्रदेशकै केन्द्र र पर्यटकीय चहलपहल हुने कास्कीमा जम्मा २८ जना ट्राफिक प्रहरीको दरबन्दी छ ।

ट्राफिक प्रहरी प्रमुख ऐनबहादुर मल्ल भन्छन्, ‘पोखराको ट्राफिक व्यवस्थापन गर्न कम्तीमा थप डेढ सय जना जनशक्ति चाहिन्छ । तर, यत्रो शहरमा जम्मा २८ जनाको दरबन्दी छ । तानतुन गरेर काजमा ९० जनाको हाराहारीमा खटिएका छन् । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ ।’

पोखराका ट्राफिक प्रहरी पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, पालिखे चोक, महेन्द्रपुलचोक, चिप्लेढुंगा चोक, हलनचोक, सहिद चोक, मुस्ताङचोक, अमरसिंंह चोक लगायतका मुख्य चोकमै सीमित हुनुपरेको छ । ‘ट्राफिक प्रहरी खटाएर व्यवस्थापन गर्छु भन्न अहिले निकै समस्या छ,’ मल्ल भन्छन्, ‘सडक उही छ, सवारी चाप बढ्ने क्रम तीब्र छ तर व्यवस्थापन गर्ने जनशक्ति असाध्यै कम छ ।’

पोखराको ट्राफिक व्यवस्थापन गर्न गुल्म, गण, अञ्चल प्रहरी लगायतबाट झिकाएर पठाइएको प्रदेश प्रहरी प्रमुख कमलसिंह बम बताउँछन् । ‘अब पोखराको व्यवस्थापन गर्न यति ट्राफिक प्रहरीले पुग्दैन,’ बम भन्छन्, ‘यो हेर्ने छुट्टै निकाय चाहिन्छ ।’

गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गाडीको संख्या बढिरहेको छ । तर स्तरोन्नति नगरिएका साँघुरा सडक समस्या बनेको यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमखु अच्युत रेग्मी बताउँछन् ।

वैकल्पिक मार्ग छैन, सवारी चाप बढेको बढ्यै

पृथ्वीराजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएको पोखरामा ठूला गाडीलाई मुख्य चोकसम्म नआई सुखै छैन । किनकी यहाँ एक राजमार्गबाट अर्को राजमार्ग जाने वा मुख्य चोक नपुगी गन्तव्यसम्म जाने वैकल्पिक मार्ग छैन । जसले गर्दा ठूला-साना सबै खाले गाडीले पोखराका मुख्य चोकको व्यवस्थापन सकसपूर्ण बनेको छ ।

बेलाबेलामा बैकल्पिक मार्गको कुरा उठे पनि त्यो कुरामै सीमित भएका छन् । प्रादेशिक राजधानी बनेसँगै संसद, मन्त्रालय पोखरामै छन् । मुख्यमन्त्रीदेखि, मन्त्री, सभामुख र सांसदका गाडी यहीँ गुड्छन् । तीलाई स्कर्टिङ गर्नुपर्दा पछिल्लो समय ट्राफिक जामको समस्या अझ बढेको छ ।

यसै पनि कुनै न कुनै भीआइपीको दिनहुँजसो पोखरा आगमन भइरहन्छ । त्यसले पनि ट्राफिक व्यवस्थापनमा यही जनशक्तिले नसकिने सई केशरबहादुर मल्लको दुखेसो छ । थोरै ट्राफिक त्यसमा पनि प्रविधिबिहीन हुनु देशकै ठूलो महानगर र प्रदेशको राजधानी पोखराकै दुखद कुरा हो ।

दैनिक २ लाख गाडी गुड्छन् पोखरा

पोखरामा दैनिक २ लाख सवारी साधन चल्छन् । दैनिक ७० को हाराहारीमा गण्डकी अञ्चल यातायात कार्यालय गण्डकीमा सवारी साधन गर्दा हुने गरेको कार्यालय बताउँछ । गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवागमन गर्ने गर्छन् ।
देशैभरीबाट गाडी पोखरा आइपुग्ने गरेका छन् । भारतीय नम्बर प्लेटका गाडी पनि पर्यटकीय नगरी पोखरा उत्तिकै आइपुग्ने गरेका छन् ।
पोखरामा न गतिलो बसपार्क छ, न पार्किङस्थल । पार्किङस्थलको अभावमा गाडी तथा मोटसाइकल सडकमै पार्किङ गरिदा सडक झनै साँघुरा बनेका छन् ।
पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउने नाममा सडक नै ठेक्कामा दिएको छ ।
पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले ट्राफिक व्यवस्थापनका लागि पार्किङस्थलको खोजी गरेको बताए । ‘पैसा कमाउनका लागि मात्रै शुल्क उठाउन सडक ठेक्कामा लगाएका होइनौं,’ मेयर जिसीले भने, ‘महानगरले आम्दानी गरिरहेको छ, पार्किङ पनि व्यवस्थित बनिरहेको छ नत्र झन् अस्तव्यस्त हुने थियो ।’
पोखराका लागि सवारी साधनको संख्या अत्याधिक बढी भइसकेको पृथ्वीराजमार्गका अध्यक्ष ऐनकुमार साई बताउँछन् । ‘पोखरामा गाडी अत्याधिक भइसक्यो । यही गाडी व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा सिन्डिकेट तोड्ने नाउँमा अझ थप गर्ने हो भने पोखराको अवस्था के होला ?’ साईले प्रश्न गरे ।

ट्राफिक कार्यालय नै अस्तव्यस्त

पोखराको ट्राफिक व्यवस्थापन गर्ने प्रहरीकै कार्यालय लामो समयदेखि अस्तव्यस्त छ ।

पुरानो र जीर्ण भवन । सानो र साँघुरो कोठा । भएका थोरै ट्राफिक भेला हुँदा पनि रात काट्न समस्या पर्ने कार्यालयबाट सेवा दिनुपर्ने अवस्था ।

५ कोठाबाट ब्यारेक तथा कार्यालय सबै चलाउनु परेको दुखेको सई केशरबहादुर गर्छन् । न पार्किङको सुविधा छ, न पक्राउ गरी ल्याएका गाडी तथा मोटरसाइकल राख्ने नै ठाउँ छ ।

०३६ सालमा ट्राफिक कार्यालय पोखरा बसपार्कभित्र ढुंगाले छाएको गोलघरमा थियो । पोखरा उपत्यका नगर विकास समितिले बसपार्क व्यवस्थित गराउने भनेपछि ट्राफिक कार्यालयमा पनि डोजर चलाइएको थियो ।

नगर विकास समितिले पृथ्वीचोक नजिकै आठ रोपनी जग्गा ट्राफिक कार्यालय निर्माणका लागि छुट्याएको छ । तर, ट्राफिकको आफ्नै नाममा नआउँदा अहिलेसम्म भवन बन्न सकेन । अब भने भवन निर्माण प्रक्रिया अगाडि बढेको छ । भवन निर्माणका लागि व्यवसायी दिलीप श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment