Comments Add Comment

त्यसै थन्क्याइन्छन् सरकारी अस्पतालमा करोडौंका उपकरण

मर्मत खर्च, जनशक्ति र पूर्वाधार अभावको बाहना


२९ चैत, काठमाडौ । सरकारी अस्पतालहरुले मर्मत खर्च र जनशक्ति अभावजस्ता कारण देखाएर अत्यावश्यक मेसिन र उपकरण प्रयोगविहीन अवस्थामा राखेको पाइएको छ ।

यसरी अत्यावश्यक उपकरण बिगि्रएको र प्रयोगविहीन अवस्थामा राख्नेमा काठमाडौको शुक्रराज ट्रपिकल अस्पताल, थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसुती गृह अस्पतालसहित क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल अस्पतालसमेत रहेका छन् ।

अस्पतालहरुले जनशक्ति, पूर्वाधार अभाव, मर्मतको समस्या लगायतका कारण देखाएर करोडौं मूल्यका अत्यावश्यक उपकरणहरु थन्क्याएर राखेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५५ औं प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताललाई चार शैय्याको आईसीयु सञ्चालनका लागि सरकारले २०७४ सालमा एक करोड ९० लाख २३ हजार रुपैयाँ बजेट दिएको थियो । तर जनशक्ति अभावको कारण देखाउदै अस्पतालले आईसीयू सञ्चालन गरेन ।

प्रसुती गृहले मेसिन मर्मत गर्न नसकेको कारण देखाउँदै २ थान बेबी इन्क्युवेटर, एक्सरे मेसिन, युएसजी मेसिन, बेड साइड मोनिटर, ओटी टेबल, तथा तीन थान फोटो थेरापी मेसिन उपयोग नगरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, भक्तपुर अस्पतालले आर्थिक वर्ष ०७२/७३ मा आईसीयूको उपकरण खरिद गर्न एक करोड २२ लाख ४१ हजार रुपैयाँ खर्च गर्‍यो । तर जनशक्ति नभएको कारण देखाएर उपयोगमा नल्याएको महालेखाले जनाएको छ ।

झापास्थित मेची अञ्चल अस्पतालले एक करोड दुई लाख ५८ रुपैयाँमा खरिद गरेको ईएनटी.माइक्रोस्कोप, सीआर्म, फ्लेक्जिबल फ्यारिइगोस्कोप, एनेस्थेसिया विथ भेन्टिलेटर, इन्डोस्कोपी तथा अल्ट्रासाउण्ड मेसिन जनशक्ति अभावको कारणले सञ्चालन गरेन ।

जनशक्ति अभावको कारण देखाएर उपकरण सञ्चालन नगर्ने अस्पतालमा सगरमाथा अञ्चल अस्पताल, धौलागिरी अञ्चल अस्पताल र सल्र्लाही जिल्ला अस्पतालसमेत रहेका छन् ।

ती अस्पतालहरुले एड्भान्स कलर डोपलर ईको, डायलासिस मेसिन, एनेस्थेसिया मेसिन, अल्ट्रासाउण्ड मेसिन उपयोगविहीन अवस्थामा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सगरमाथा अञ्चल अस्पतालले भने प्यासेन्ट मोनिटर, हेमाटोलोजी एनालाइजर, एक्सरे , हेमाटोलोजी एनालाइजर लगायतका चार लाख आठ हजार रुपैयाँ बराबरको मेसिन भौतिक पूर्वाधार अभावमा जडान गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, नारायणी उपक्षेत्रीय अस्पतालले भने स्थान अभावका कारण डायलासिस मेसिन जडान गर्न नसकेको उल्लेख गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अटोक्लेभ, एक्सरे मेसिन विगि्रएका कारण थन्किएको छ भने सीटी स्क्यान मेसिन मर्मत हुन नसकी तीन महिनादेखि थन्किएको पाइएको छ ।

भेरी अञ्चल अस्पतालमा ईको कार्डियोग्राफी, एक्सरे मेसिन ६ महिनादेखि सञ्चालनमा आएको छैन । डायलासिस मेसिन तथा भेन्टिलेटर विगत एक वर्षदेखि सञ्चालनमा आएको छैन । त्यस्तै, सेमी अटो एनार्लाजर र एम्बुलेन्स विगत दुई वर्षदेखि सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बन्दीपुर अस्पतालमा युएसजी मेसिन, एक्स रे मेसिन, सेमी अटो एनालाइजर, ईसीजी मेसिन भने मर्मत हुन नसकेका कारण सञ्चालनमा नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा भने पानी फिल्टर गर्ने मेसिनको अभावमा डायलासिस मेसिन सञ्चालनमा आउन सकेको छैन । यहाँ अटोक्लेभ मेसिन भने जडान भए पनि सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment