News Summary
Generated by OK AI. Editorially reviewed.- जापानी वैज्ञानिकले बताएअनुसार, उपवासले ‘अटोफ्याजी’ प्रक्रिया सक्रिय पार्छ, जसले कोषहरूलाई पुनः प्रयोग गर्न मद्दत गर्दछ।
- अटोफ्याजीले शरीरको प्राकृतिक शुद्धिकरण र रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्छ, तर सबैका लागि उपयुक्त छैन।
- चिकित्सकको सल्लाह बिना उपवास गर्दा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ, विशेषगरी गर्भवती, बालबालिका र दीर्घ रोगीहरूका लागि।
तौल घटाउन मात्र होइन, स्वस्थ र दीघार्यु रहन पनि उपवास बस्ने चलन बढिरहेको छ । कतिपयले साताको एक दिन, कोही दैनिक १८ घण्टा इन्टरमिटेन्ट फास्टिङ त कोही कम खानमा जोड दिएर भोको रहने अभ्यास गर्छन् ।
के वास्तवमै यसले फाइदा गर्छ ?
जापानी वैज्ञानिक योशिनोरी ओह्सुमीका अनुसार भोको रहँदा शरीरमा ‘अटोफ्याजी’ हुन्छ । ‘अटोफ्याजी’ भनेको कोषहरूले आफ्ना बिग्रिएका वा अनावश्यक तत्वहरूलाई निलेर पुनः प्रयोग गर्ने प्रक्रिया हो, जुन भोक, तनाव वा कोषीय क्षतिमा सक्रिय हुन्छ ।
जब मानव शरीर लामो समयसम्म खानाबाट वञ्चित हुन्छ । यो अवस्थामा शरीरमा खाना नपुगेपछि पुराना, क्षतिग्रस्त वा बिरामी कोषहरूलाई टुक्राउन र पुनःप्रयोग गर्न थाल्छ, जसमा बुढ्यौली र सम्भावित रूपमा क्यान्सर र अल्जाइमर जस्ता रोगहरूसँग सम्बन्धित कोषहरू पनि समावेश हुन्छन् ।
यसले प्राकृतिक शुद्धिकरणका लागि मद्दत गर्छ । मर्मत प्रणालीले खराब भएका कोष, खराब प्रोटिन र मृत माइटोकन्ड्रियालाई हटाउँछ, जसले शरीरलाई भित्रैबाट सफा गर्छ । यो एक यस्तो जैविक संयन्त्र हो, जसले ऊर्जा संरक्षण मात्र गर्दैन, कोष र तन्तुहरुलाई नवीकरण पनि गर्छ । रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।
आवधिक वा इन्टरमिटेन्ट फास्टिङले यो प्रक्रियालाई बढावा दिन सक्छ, जसले शरीरलाई स्फूर्त गर्न मद्दत गर्छ । तर, यो सबैका लागि उपयुक्त हुँदैन ।
यद्यपि, यो प्रक्रिया स्वचालित रूपमा सबै बिरामी, क्यान्सर, अल्जाइमर र बुढ्यौलीका कोषहरूलाई पूर्णरुपले हटाउँदैन । तर, स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छ।
के भन्छ अध्ययन ?
अटोफ्याजीको वैज्ञानिक अवधारणा पहिलोपटक १९६० को दशकमा बेल्जियन वैज्ञानिक क्रिस्टियन डी डुबले प्रस्तुत गरेका थिए । उनले कोषभित्रका संरचनाहरूले आफ्ना भागहरूलाई तोड्ने प्रक्रिया देखे, जसलाई पछि अटोफ्याजी नाम दिइयो ।
यो प्रक्रिया कोषको स्वास्थ्य कायम राख्न र बिग्रिएका प्रोटिन वा अंगहरूलाई हटाउन महत्वपूर्ण छ । सन् २०१६ मा, योसाकु ओसुमीले गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार प्राप्त गरे, जसले यसको भूमिकालाई थप स्पष्ट पारे ।
उनका अनुसार जब मानिस वा जीव भोकको अवस्थामा हुन्छ, शरीरले ऊर्जाको लागि आफ्ना भण्डारण गरिएका पदार्थहरू प्रयोग गर्छ । यस्तो अवस्थामा अटोफ्याजी सक्रिय भइ कोषहरूले आफ्ना बिग्रिएका भागहरूलाई तोडेर ऊर्जा उत्पादन गर्छ ।
यो प्रक्रियाले कोषीय सफाइको काम गर्छ, जसले बिरामी वा कमजोर कोषहरूलाई हटाउन सक्छ । क्यान्सर र अटोफ्याजीको सम्बन्ध भने जटिल छ । यसबारे केही अध्ययन भएका छन् । कुनै अध्ययनले देखाए अनुसार अटोफ्याजीले क्यान्सर कोषहरूको वृद्धिलाई नियन्त्रण गर्न सक्छ, किनभने यो प्रक्रियाले क्यान्सर कोषहरूलाई पनि मार्न बाध्य पार्छ ।
तर, केही अध्ययनले भने क्यान्सर कोषहरूलेहरुलाई आफ्नो वृद्धिका लागि प्रयोग गर्न सक्छन्, विशेषगरी जब बाह्य पोषक तत्वहरू कम हुन्छन् । त्यसैले, यो दुवै तरिकाले काम गर्न सक्छ, जुन क्यान्सरको प्रकार र चरणमा निर्भर गर्छ ।
अल्जाइमर र बुढ्यौलीका कोष
अल्जाइमरमा, मस्तिष्कमा बिग्रिएका प्रोटिनहरू (जस्तै एमल्याइड बेटा जम्मा हुन्छन्, जुन अटोफ्याजीको कमीले बढ्छ । अध्ययन अनुसार भोक वा क्यालोरी प्रतिबन्धले अटोफ्याजीलाई बढावा दिँदा यस्ता प्रोटिनहरू हट्न सक्छन्, जसले मस्तिष्क स्वास्थ्यमा सुधार ल्याउन सक्छ ।
बुढ्यौलीका कोषहरू कोष विभाजन गर्न नसक्ने तर मर्न पनि नसक्ने अवस्थामा हुन्छन् । यी पनि यही प्रक्रियाले घट्न सक्ने उल्लेख छ । यसरी घट्दा उमेरसम्बन्धी रोगहरू कम गर्न सक्छ ।
चिकित्सा विज्ञानले यो प्रक्रियालाई स्वास्थ्य र रोग नियन्त्रणको एक महत्वपूर्ण प्रक्रियाको रूपमा स्वीकार गरेको छ । भोकको अवस्थामा यो प्रक्रिया स्वाभाविक रूपमा सक्रिय हुन्छ, तर यो सबै बिरामी वा हानिकारक कोषहरूलाई हटाउँदैन ।
उदाहरणका लागि, क्यान्सर कोषहरू हटाउन यही अटोफ्याजी मात्र पर्याप्त हुँदैन; यो प्रक्रियालाई औषधिसहित प्रयोग गर्नुपर्ने हुन सक्छ ।
फास्टिङ वा उपवासले क्यालोरी कटौती गर्दा अटोफ्याजीलाई बढावा दिने चिकित्सा अध्ययनहरूले देखाएका छन् । उदाहरणका लागि, १६ घण्टा भोक र ८ घण्टा खानाको समय) वा इन्टरमिटेन्ट फास्टिङले कोषीय सफाइमा सहयोग पुर्याउँछ । यी विधिले मेटाबोलिक स्वास्थ्यलाई राम्रो बनाउँदै लान्छ । तर, यो प्रक्रियालाई नियन्त्रित र चिकित्सकको सल्लाहबिना प्रयोग गर्दा हानि पनि पुग्न सक्छ ।
विशेषत पहिला नै रोगप्रतिरोधी क्षमता कम भएको अवस्थामा यो अभ्यास जथाभावी गर्दा स्वास्थ्य अवस्था झन बिग्रिन सक्छ । अल्जाइमर र स्नायु सम्बन्धी रोगहरूको उपचारमा अटोफ्याजीलाई लक्षित गर्ने अनुसन्धान भइरहेको छ ।
मस्तिष्कमा प्रोटिन जम्मा हुनबाट रोक्न र कोषीय स्वास्थ्य सुधार गर्न यो प्रक्रिया उपयोगी देखिएको छ । यद्यपि, यो अध्ययन अझै प्रारम्भिक चरणमा छ र मानवमा ठोस नतिजा आउन बाँकी छ।
बुढ्यौली र उमेरसम्बन्धी रोगहरूको नियन्त्रणमा अटोफ्याजीको भूमिका पनि महत्वपूर्ण छ । सेनोलाइटिक्स नामक औषधिहरू, जुन बुढ्यौलीका कोषहरू हटाउँछ, अटोफ्याजीलाई बढावा दिने तरिकाबाट काम गर्छन् । यी औषधिहरूले हड्डीको स्वास्थ्य, मांसपेशीको कार्य र मुटु रोगको जोखिम कम गर्न सक्छन्, जुन हाल परीक्षण चरणमा छन् ।
सावधानी आवश्यक
भोकको समयमा शरीरले आफैंलाई खान्छ भन्ने सत्य हो, तर यो प्रक्रियामा सबै हानिकारक कोषहरूलाई हटाउँदैन । लामो समयसम्मको भोकले मांसपेशी र अंगहरूमा नकारात्मक प्रभाव पार्न सक्छ, जसले स्वास्थ्यलाई हानि पुर्याउँछ।
चिकित्सा विज्ञान अनुसार अटोफ्याजीलाई बढावा दिनका लागि सन्तुलित खानपान र नियन्त्रित उपवास उपयुक्त हुन्छ, तर यो सबैका लागि उपयुक्त नहुन सक्छ । गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, वा दीर्घ रोगीहरूले चिकित्सकको सल्लाहबिना उपवास गर्नुहुँदैन ।
प्रतिक्रिया 4