+

अहिलेको विपदमा आफू र परिवारलाई स्वस्थ्य राख्न के-के गर्ने ? ८ उपाय

२०८२ भदौ  २५ गते १३:२४ २०८२ भदौ २५ गते १३:२४
अहिलेको विपदमा आफू र परिवारलाई स्वस्थ्य राख्न के-के गर्ने ? ८ उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा जेन्जी आन्दोलनले सरकारी संरचनाहरू जलाइएका छन् र कैदीहरू जेलबाट भागेका छन्।
  • औषधि अभाव र अस्पताल सेवा सीमित हुँदा सामान्य रोगको उपचार घरमै गर्न सुझाव दिइएको छ।
  • आन्दोलनका कारण दूषित पानी, प्रदूषण र मानसिक तनावले स्वास्थ्य चुनौती बढाएको छ।

नेपाल अहिले अत्यन्तै संवेदनशील घडीमा छ। जेन्जी आन्दोलनले देशभर उथलपुथल ल्याएको छ । सरकारी संरचनाहरू जलाइएका छन्, व्यक्तिका घरमा आगजनी गरिएको छ । अस्पतालहरूमा भिडभाड बढेको छ । कैदीहरू जेलबाट भागेका छन् । बजार प्रणाली अस्तव्यस्त भएको छ, औषधि अभाव र कालोबजारीको जोखिम बढेको छ । यस्तो बेला व्यक्ति स्वय‌ं जनस्वास्थ्यप्रति सचेत रहनु अत्यन्तै आवश्यक छ।

विपद्का बेला सबैभन्दा पहिले ध्यान दिनुपर्ने कुरा हो-आफ्नो र आफ्ना परिवारको स्वास्थ्य सुरक्षा । औषधिको अभाव, अस्पतालको सीमित सेवा, प्रदूषित वातावरण, दूषित पानी, मानसिक तनाव जस्ता समस्या अहिलेका स्वास्थ्य चुनौती हुन् ।

चुनौतीबीच आम नागरिकले स्वास्थ्य जटिलता निमम्तिनबाट बच्न केही सजगता अपनाउन जरुरी छ ।

१. सामान्य रोगहरूको उपचार घरमै गर्ने प्रयास गरौं

यस्तो अवस्थामा बजारमा औषधिको अभाव हुनसक्छ। अस्पतालमा उपचारका लागि लामो पर्खाइमा रहनुपर्ने अवस्था आउन सक्छ । यस्तोमा सामान्य रुघाखोकी, जरो जस्ता लक्षणहरू देखिएमा अनावश्यक अस्पताल धाउने होइन, । घरमै सहज उपचारको उपाय अपनाऔँ।

– नुनपानीले कुल्ला गर्ने

– तातोपानी पिउने, वाफ लिने

– आराम गर्ने, प्रशस्त पानी पिउने

– तुलसी, अदुवा, बेसार प्रयोग गरेर घरेलु उपचार गर्ने

सामान्य ज्वरो, खोकी दुई–तीन दिनमै आफैं निको हुने प्रकृतिका हुन्छन्, त्यसैले गाह्रो नभएसम्म धैर्यता गरौँ। तर तीव्र लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिनु वा स्वास्थ्य संस्था जानु उपयुक्त हुन्छ।

२. दूषित पानीबाट बच्न विशेष सतर्कता अपनाऔं

सरकारी संरचनाहरू, ढल तथा पानीका पाइपहरू क्षतिग्रस्त भएका छन् । यीबाट हानिकारक रसायनहरू, फोहोर वा संक्रमणयुक्त तत्त्व पानीमा मिसिन सक्छ। हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन सक्ने सम्भावना अत्यधिक हुन्छ तथा केमिकलजन्य पदार्थले गर्दा अनेक समस्याहरू निम्तिन सक्ने हुँदा सजग बनौँ।

– कम्तीमा १० मिनेट उमालेको पानी मात्र पिउने गरौँ

– सकेसम्म फिल्टर वा बोतलको पानी प्रयोग गर्नुहोस्।

– खाना पकाउँदा पानीको गुणस्तरमा विशेष ध्यान दिनुहोस्।

. आगलागी र प्रदूषणबाट जोगिन सावधानी अपनाऔँ

घरहरू जल्दा, ग्याँस ट्यांकी विस्फोट हुँदा र संरचनाहरू नष्ट हुँदा वातावरणमा विषालु ग्याँस र धूलो फैलिएर वायुप्रदूषण उच्चस्तरमा पुगेको छ।

– बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क प्रयोग गरौं।

– सकेसम्म अत्यधिक धूलो, धुँवा भएको स्थानमा नजानुहोस्।

– दम, एलर्जी वा फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरू अझै सावधान रहनुहोस्।

– हाम्रा साना नानीबाबुहरूको विशेष ख्याल गरौं।

४. जलन र घाउको प्राथमिक उपचार गरौं

आगलागीमा परी शरीर जलेका वा घाइते भएका घटनाहरू बढिरहेका छन्। तत्काल उपचार नपाउँदा सानातिना घाउहरू गम्भीर बन्न सक्छन्।

– जलन भएको छालामा चिसो पानी हाल्ने (तर बरफ प्रयोग नगर्ने)।

– नजिकको औषधि पसलमा पाइने ‘सिल्भर सल्फाडाइजिन’ लनामक क्रिम प्रयोग गर्ने।

– घाउ सफा राख्नुहोस्, फोहर पट्टी प्रयोग नगर्नुहोस्।

५. आन्दोलनमा होमिएकाहरूको शारीरिक थकानको व्यवस्थापन

आन्दोलनमा सरिक भएका धेरै युवाहरूको शरीर दुखिरहेको हुनसक्छ । यस्तोमा एन्टिबायोटिक वा पेनकिलर जथाभावी प्रयोग गर्नु हानिकारक हुन सक्छ।

– तातोपानीले स्नान गर्ने, चिसो पानीमा हात खुट्टा डुबाउने

– नुनपानीले सेक गर्ने

– प्रशस्त आराम गर्ने

– फलफूल, झोलिलो खाना, प्रोटिनयुक्त आहार लिने

– हल्का व्यायाम गर्ने

६. मानसिक स्वास्थ्यप्रति संवेदनशील बनौं

आन्दोलनको चरम क्षणमा एड्रिनालिनको प्रभावले मानिसहरू धेरै आवेगमा निर्णय लिन्छन् । कतिपय अवस्थामा त्यसले पश्चाताप र गहिरो मानसिक तनाव निम्त्याउछ । आफन्त गुमाउनु, चोटपटक लाग्नु, देशको संरचना ध्वस्त हुनु यी सबैले मनोबल कमजोर पार्न सक्छ।

– कुनै प्रेरणादावी पुस्तक पढ्ने । वर्तमान परिस्थितिलाई स्वीकार गरी, त्यसमा अभ्यस्त बनाउने प्रयास गर्ने ।

– योग, ध्यान गरेर मानसिक तनाव कम गर्ने प्रयासमा लाग्ने ।

– आफन्तसँग खुलेर कुरा गर्ने।

– सम्भव भएसम्म मनोरञ्जनात्मक सामग्री (संगीत, पुस्तक, शान्त चलचित्र) को सहारा लिने।

७. गलत सूचना र औषधिको अनियन्त्रित प्रयोगबाट जोगिनुहोस्

इन्टरनेटमा सस्तो उपचार वा औषधिको सुझाव धेरै देखिन्छ। ती सबै साँचो र सुरक्षित हुँदैनन्। आफूले प्रयोग गर्ने कुनै पनि औषधिबारे जानकारी चाहिएमा औषधि सूचना केन्द्रमा फोन गरेर निःशुल्क सल्लाह सुझाव लिन सकिन्छ।

टोल फ्री नम्बर: १६६०-०१-२१५००, ल्यान्डलाइन: ०१-५९१३११

इमेल: dicnepal@phectnepal.org ह्वाट्सएप/भाइबर: ९८०१२३६१६१

माथि उल्लेखित माध्यमबाट सम्पर्क गरेर आफूले प्रयोग गरिरहेको औषधिबारे जानकारी लिन सकिन्छ। औषधिको बारेमा आधारभूत जानकारी लिन औषधिको ज्ञान स्वस्थ ज्यान पुस्तकको सामग्री यहाँ निःशुल्क पढ्न सकिन्छ ।

त्यसैले, गुगलमा खोजेर वा एआइ लाई औषधि प्रयोग नगर्नुहोस् । कुनै अनुभवी व्यक्तिसँग परामर्श लिनुहोस् (फार्मासिस्ट, स्वास्थ्यकर्मी)। किनकि जथाभावी औषधि खाँदा झन् समस्या हुन सक्छ।

८. परिवारजनसँग सम्पर्कमा रहने

आन्दोलनमा होमिएका छोराछोरीको खबर नपाउँदा गाउँघरका आमाबुवाहरू अत्यन्त चिन्तित भइरहेको हुनसक्छन्। अफवाह र डर फैलिनसक्छ।

– समय समयमा आफन्तलाई फोन वा सन्देश पठाई ढुक्क गराऔं।

– यस्तै चिन्तित परिवारलाई पनि सन्देशहरू सम्प्रेषण गरौँ।

हामी सबै नागरिकका रूपमा, सचेत रूपमा, सहमतिपूर्वक, संयमताका साथ अगाडि बढ्नुपर्छ। सङ्कट टर्नेछ, समय फेरिनेछ, तर त्यसबीचमा हामीले जोगाएको हरेक जीवन अमूल्य हुनेछ ।

स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय