Comments Add Comment

प्रहर के हो ? कुन प्रहरमा के नगर्ने ?

ज्योतिष शास्त्रअनुसार दिन र रात गरी २४ घन्टाको समयमा ८ प्रहर हुन्छन् । यी प्रहरहरूको प्रभाव मानिसको जीवन तथा प्रकृतिमा पर्ने गर्छ र मानिस एवं प्रकृतिमा परिवर्तन भइरहन्छ । एक प्रहरमा करिब तीन घन्टा वा सात घडी हुन्छ जसमा दुई मुहूर्त हुन्छन् । दिनको चार र रातको चार गरी जम्मा आठ प्रहर हुन्छ । ज्योतिष शास्त्रले प्रहरअनुसार गर्न नहुने काम बताएको छ । कुन प्रहरमा कुन काम गर्नु हुँदैन भन्ने जानिसकेपछि त्यसबाट हुने नकारात्मक असरबाट बच्न सकिन्छ ।

आठ प्रहरका नाम

दिनको चार प्रहरः पूर्वाहृन, मध्याहृन, अपराहृन एवं सायंकाल

रातको चार प्रहरः प्रदोष, निशिथ, त्रियामा एवं उषा

दिनको पहिलो प्रहर

सूर्योदयको समयमा दिनको पहिला प्रहर प्रारम्भ हुन्छ जसलाई पूर्वान्ह भनिन्छ । यसलाई पाँचौं प्रहर पनि भनिन्छ । यसको समय बिहान ६ बजेदेखि ९ बजेसम्म हुन्छ । यो प्रहर आंशिक रूपले सात्विक एवं राजसिक हुन्छ तर नकारात्मक हुँदैन । यो प्रहरमा सुत्नु तथा सम्भोग गर्नु वर्जित मानिएको छ । यो प्रहरमा क्रोध गर्न पनि वर्जित छ, क्रोध गरियो भने त्यसको नराम्रो प्रभाव मन तथा मस्तिष्कमा पर्नुका साथै भविष्यसमेत बिग्रन सक्छ । यो समयमा कटु वचन बोल्नु तथा घर झगडा गर्नसमेत वर्जित छ । यो प्रहरमा घर फोहोर पार्नु हुँदैन । यो बेला घरमा चन्दन एवं गुलाफको सुगन्ध फैलाइयो भने सुखशान्ति कायम भइरहन्छ ।

दिनको दोस्रो प्रहर

दिनको दोस्रो प्रहरलाई मध्याहृन पनि भनिन्छ । यो बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म रहन्छ । यो प्रहरमा मानिसको मस्तिष्क बढी सक्रिय हुन्छ तसर्थ यो बेला काम गर्ने क्षमता वृद्धि हुन्छ । ज्योतिष शास्त्रका अनुसार यो प्रहरमा हनुमानलाई रातो फूल चढाइयो भने सम्पत्ति वृद्धि हुनुका साथै ऋणबाट मुक्ति मिल्छ । जबकि यो प्रहरमा मांगलिक कार्य गर्न तथा रुखबिरुवा रोप्न नहुने समेत बताइएको छ ।

दिनको तेस्रो प्रहर

दिनको तेस्रो प्रहरलाई अपराहृन वा सातौं प्रहर पनि भनिन्छ । यसको समय दिउँसो १२ बजेदेखि ३ बजेसम्म हुन्छ । यसलाई तमोगुणी समय मानिएको छ । यो प्रहरमा भोजन गर्नु उत्तम मानिएको छ भने सुत्नु र स्नान गर्नु उचित मानिएको छैन । यो प्रहरमा नयाँ कामको सुरुवात गर्नु राम्रो मानिन्छ । ज्योतिष शास्त्रका अनुसार यो समयमा भगवान् श्रीकृष्णको उपासना गर्दा सन्तान नहुने समस्या समाधान हुन्छ ।

दिनको चौथो प्रहर

दिनको चौथो वा अन्तिम प्रहरलाई सायंकाल भनिन्छ । यो दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्मको समय हो । यो प्रहर सात्विक त हुन्छ तर यसमा तमोगुणको प्रधानता रहन्छ । यो प्रंहरमा विश्राम गर्न सकिन्छ तर खान, सुत्न तथा कुनै पनि नयाँ काम सुरु गर्नबाट भने जोगिनुपर्छ । ज्योतिष शास्त्रअनुसार यो समयमा नियमित रूपमा रुखबिरुवामा पानी हालियो भने आमाबाबु तथा बालबालिकासँगको सम्बन्ध राम्रो रहन्छ ।

रातको पहिलो प्रहर

रातको प्रथम प्रहरलाई प्रदोष काल तथा पहिलो प्रहर भनिन्छ । बेलुकाको ६ बजेदेखि राति ९ बजेसम्मको समय पहिलो प्रहर हुन्छ । यो प्रहरमा सत्वगुणको प्रधानता हुन्छ । यो समयमा कुनै पनि प्रकारको तामसिक कार्य गर्न वर्जित मानिएको छ । क्रोध, झगढा एवं बहस गर्न वर्जित छ । यो समयमा खान र सुत्नु पनि राम्रो होइन भनिएको छ । यो प्रहरमा पूजा, प्रार्थना, सन्ध्यावन्दन, ध्यान आदि गर्नु लाभदायी हुन्छ । यो बेला घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी हुन्छ ।

रातको दोस्रो प्रहर

रातको दोस्रो प्रहरलाई निशिथ भनिन्छ । यो रातको ९ बजेदेखि १२ बजेसम्मको समय हो । यो प्रहरमा तामसिक तथा राजसिक दुवै गुणको प्रधानता हुन्छ तर यो पूर्णतः नकारात्मक हुँदैन । यो प्रहरमा भुलेर पनि फूल टिप्नु, पात चुँड्नु तथा रुख काट्नु हुँदैन । यो प्रहरमा कुनै पनि प्रकारको किनमेल पनि गर्नु हुँदैन । यो प्रहरमा बनाइएको खानेकुराको केही अंश पशुलाई खुवाइयो भने आर्थिक फाइदा मिल्न सुरु हुन्छ ।

रातको तेस्रो प्रहर

रातको तेस्रो प्रहरलाई त्रियामा भनिन्छ । यो रातको १२ बजेदेखि ३ बजेसम्मको समय हो । यसलाई मध्यरात पनि भनिन्छ । यो समयलाई शुद्ध रूपले तामसिक मानिएको छ । यो पूर्ण विश्रामको समय हो । यो प्रहरमा खान, नुहाउन तथा ध्यान गर्न वर्जित छ । यसो गरियो भने ठूलो नोक्सान बेहोर्नुपर्ने हुन्छ । यो प्रहरमा गरिएको प्रार्थना भने शिघ्र फलदायी हुने बताइएको छ ।

रातको चौथो प्रहर

यो प्रहरलाई उषाकाल भनिन्छ । रातको ३ बजेदेखि बिहान ६ बजेसम्मको यो समय शुद्ध सात्विक हुने बताइएको छ । यो प्रहरमा कुनै खानेकुरा खान तथा पानी पिउन वर्जित मानिएको छ । यो समयमा उठेर नित्यकर्म पूरा गरिसकेपछि पूजा, अर्चना, जप, ध्यान आदि गर्दा लाभ मिल्छ । ज्योतिष शास्त्रका अनुसार यो प्रहरमा नियमित शिवलिंगमा जल चढाइयो भने जीवनका सम्पूर्ण समस्या हट्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment