Comments Add Comment

योगमाया उपन्यासः शोधयुक्त आख्यान


योगमाया उपन्यास लेख्न उत्प्रेरणा जगाउने व्यक्तित्व रहेछन् साहित्यकार दाहाल यज्ञनिधि । “चीरहरण” उपन्यास विमोचन समारोहमा उनैले अब तिमीले योगमायाको विषयमा उपन्यास लेख्नुपर्छ भनेर सुझाएका रहेछन् । तसर्थ यस्ता उत्प्रेरक व्यक्तित्वलाई पनि नमन । प्रतिभाको छनौट गर्न सक्ने उनको व्यक्तित्वले नै यो ग्रन्थ तयार भएको मान्नुपर्छ ।

अग्रजले देखाएको वाटोमा हिँड्ने नीलमले लेखनको कुरालाई सहर्ष स्वीकारे पनि यत्रो ठूलो चुनौतीको सामना गर्न निकै संघर्ष गरेको देखिन्छ । योगमायाका विषयमा लेखिएका केही पुस्तकहरुको संग्रह लिएर अमेरिका र्फकेपछि योगमायाको यथार्थ जीवन उनको चरित्र उनले भोगेको भूगोल, परिवेश, तत्कालीन समाजको चित्रण, योगमायाका अनुयायीहरुको पारिवारिक पृष्ठभूमि, योगदान आदिको तथ्याङ्क खोजी गर्न, बटुल्न उनले निक्कै मेहनत गरेको स्पष्ट देखिन्छ ।

अत्यन्तै कठिन, लगन मेहनत र परिश्रमका साथ सम्बन्धित क्षेत्रको यात्रा, अन्तर्वातावाट प्राप्त जानकारीले गर्दा यो उपन्यास अहिलेसम्म लेखिएका अन्य ग्रन्थभन्दा बढी विश्वसनिय भरपर्दाे यथार्थमूलक र अनुसन्धानात्मक गुणस्तरीय कृति बन्न सफल भएको छ । योगमायाको जीवनचरित्र र कार्यलाई घटनाको सत्यतथ्य तिथिमिति सहित प्रस्तुत गरिएकाले योगमायालाई जान्न चाहने सबैका लागि यो कृति नै अत्युत्तम भएको छ । उनको व्यक्तित्व, कवित्व तथा नारी उत्पीडनका, हिंसाका आवाज र सामाजिक न्यायका मुद्दालाई यो कृतीले जानकारी दिन सकेको छ । उनको तपस्वीरुप योग साधना, प्रभाव वाट स्वय्म श्री ३ महाराज पनि नतमस्तक भएका देखिन्छन् ।

अहिलेसम्म योगमायाका विषयमा केही व्यक्ति तथा संस्थाहरुले अध्ययन, लेखन कार्य गरेका छन । ती हुन् जनकलाल शर्मा, डम्वरबहादुर वस्नेत, ज्ञानमणि नेपाल, गोविन्दमानसिंह कार्की, मातृका तिमल्सेना, कविता चापागाई, अमेरिकी वार्वरा निम्रि अजिज, बेलायती प्रा. माइकल हट, लेखनाथ भण्डारी, नेपाल अध्ययन केन्द्र, आदिका पुस्तक, लेख रचनाहरु । डा. दीपेश न्यौपानेले योगमायाकै विषयमा शोधग्रन्थ तयार गरेर विद्यावरिधि प्राप्त गरेको प्रसङ्ग पनि उल्लेख छ ।

यी सबैका अतिरिक्त निहारिकाको उपन्यासको छुट्टै महत्व र विशेषता रहेको छ । माथि लेखिएका ग्रन्थहरुमा योगमाया विविध पक्षहरुलाई लेखकहरुले कसैले उनको भक्तिमार्गको निर्गुण सन्त धारालाई, कसैले उनको वाणी र कवित्व शक्तिलाई, कसैले योगी साधक तवस्विनीको रुपलाई कसैले नारी उत्पीडन तथा सामाजिक कुरीति विरुद्वको आवाज र न्यायको खोजी गर्ने अभियन्ताका रुपमा प्रस्तुत गरेको पाइन्छ ।

निहारिकाले योगमायाको जन्मदेखि मृत्युपर्यन्तका जीवन सुख दुःखका आरोह अवरोध सत्य-तथ्य घटना, व्यक्तित्व र कार्यहरुको मनोहरी तात्विक ढङ्गले प्रस्तुत गरेकी छन् । उनको औपन्यासिक प्रस्तुतिले पाठक चुम्बकिय ढङ्गले तानिन्छ । उनको भोगाई, दुःखमा छटपटाउछ र उनको संघर्षले तातिन्छ । यथार्थको खोजी गरी जिम्मेवारीपूर्ण लेखन कार्य सम्पन्न गर्न सक्नु लेखिकाको विशेषता हो र नेपाली साहित्यमा नारीप्रधान, अनुसन्धात्मक यथार्थपरक सामाजिक ऐतिहासिक उपन्यासका रुपमा यो उपन्यास आउनु खुशीको कुरा हो ।

यो उपन्यासको मूल अखण्डमा ५५ वटा अध्याय रहेका छन् । अन्य ३ खण्ड अझ शक्तिशाली छन् । आरम्भ खण्डमा पारिजात र वार्वरा निम्री अजिज पदयात्राका क्रममा संखूवासभाको मनोकामनाको कुटीमा एकरात बस्दा मनमायाले गाएको योगमायाको भजनवाट प्रभावित भै मझुवा बेंसी गई केही सामाग्री सङ्कलन गरी काठमाण्डौ पुगेर ती नेपाली भाषाका कुरालाई अङग्रेजीमा अनुवाद गनृ पारिजातको सहयोग लिन पुगेकी छिन् ।

असल काम गर्नेलाई ईश्वरले पनि साथ दिन्छन् भन्ने मिथकीय प्रयोग पनि यो खण्डमा पाइन्छ । यस्तै नाटकीय स्वप्नबिम्व प्रयोग गरी लेखिकाले आफूलाई सहयोग गर्नेहरुलाई औपन्यासिक शैलीमा सम्झेकी छिन् । आˆनो विगतलाई कोट्याएकी छिन् । परिधीयरुपमा काठमाण्डौ सडकको अवस्था, अकर्मण्य नेतृत्वप्रतिको आक्रोष पनि व्यक्त भएको छ । यस्तै दुखुनाले जल समाधि लिन उत्सुक व्यक्तिहरुको जानकारी दिएकी हो ।

मूल खण्डकी सामाख्याता योगमायाकै भाइबुहारी गङ्गा हुन् । प्रथम पुरुषीय दृष्टिबिन्दुमा आत्मपरक शैलिमा योगमायाकै सहयोगी सानीहजुरबाट मूलकथा बनाउने सोचले लेखिकामा आउनु र उनैबाट पूर्व दीप्ति शैलीमा बाल्यकालको जीवनको वृत्तान्त, आसामको जीवन भोगाइ, योगमार्गप्रतिको आˆनो आकर्षण योगमायासँगको वार्तालापमा बुहारी र आमाजु संलग्न हुँदै जानुले पाठक अब के होला ? भन्ने जिज्ञासामा रोमाञ्चक हुँदै पछ्याउँदै जान्छ ।

भाइ अग्निघर (तुलसा र गिरीका बावु) बुहारी गंङ्गाको पारिवारिक सिम्लेको पृष्ठभुमिवाट कथानक शुुरु भएको छ । देख्दै नदेखेकी फुपूलाई लिन बाबु अग्निघर आसाम गएपछिको बाल मनोविज्ञानका योगमायाकी छोरी नैनकला थपिएपछिका घटनाहरु रोमाञ्चकारी र कौतुहलपूर्ण छन् ।

सामाजिक आक्षेपबाट दिक्क भएर स्वर्गद्वारी पुगी सन्यास को दीक्षा लिएकी, बदरीकाश्रमको भ्रमण गरी मझुवाबेसी साधानास्थल बनाएकी योगमायाका कार्यलाई समर्थन गर्नै चेलाचेलीको पारिवारीक स्थिति, तिनीहरुको चरित्रचित्रण गर्न उपन्यासकार सफल छिन् ।

योगमायाले गरेका कठीन तपस्या, स्थान, परिवेशका साथै सिम्ले, मझुवाबेसी, गौडेनी, धोदलेखोला, गुफा, भोजपुरको वज्रधार, उत्तरवाहिनी गुफा, धनकुटा, ख्याम्पालुङ, सेदुवा गुफा, भोजपुरको राधाकृष्ण मन्दिर, पशुपतिनाथको मन्दिर आदि आएका छन् ।

पात्रहरु धेरै छन् । योगमायालाई सहयोग पुर्‍याउने बस्नेतहरुको वंशावली नै आएको छ । बनारसमा बसेका जमदार बलभद्रदेखि उनका छोरा गञ्जबहादुरले गौडेनी शिवमायापि्रतेय भनेर गौचरणको जग्ग्ाा साधना स्थलका रुपमा सुम्पेका घटनाहरु जीवन्त छन् ।

दङ्गिलाका टेकबहादुर वस्नेत, पहलमान बस्नेत, कुलुङका डम्बरबहादुर बस्नेत, सूर्यबहादुर बस्नेत बाहेक न्यौपाने परिवारका सम्बन्धित गङ्गाका माइतीहरु महानन्द, प्रेमनारायण भण्डारी, अन्य पात्रमा काइँली कमिनी, सापे दमै, घर्ति जेठो, माझी मझिनीहरु थुप्रै पात्रहरु यो उपन्यासमा जीवन्त छन् ।

तिनीहरुको चित्रणमा यथार्थता झल्किन्छ । योगमायाका आमा-बाबुको अन्तरद्वन्द्व आन्तरिकरुपमा र बाह्यरुपमा योगमायमाले समाज परिवार र सरकारसँग २६ बुँदे न्यायपूर्ण माग राखेेर गरेको संघर्ष बाह्य अन्तरद्वन्द्वको चित्रण यथार्थपरक छ । यस्तै अग्निधरको मृत्यु, छोराछोरीको शीतला माईको महामारी तुलसा र गिरी छोरालाई गुमाएकी गङ्गाले आˆनो श्रीसम्पती भतिजो महेश्वरलाई सुम्पेेर आफू पनि योगमायाकै सहयोगी सानी हजुर बनेकी प्रसङ्गले भक्तिमार्गको शक्ति प्रकट भएको छ । योगमाया ठुलीहजुर हुन् ।

विसं. १९९७ सालदेखिका प्रमुख घटनाहरु सत्य-तथ्यमा आधारित छन् । जस्तै ८५ सालको शितलामाईको प्रकोप, ९० सालको भुइँचालो, अरुण नदीमा बाढी, ९५ सालको अग्निदाहको योजना, जेलयात्रा, ९७ सालको शहीद पर्व, ९८ सालको जलसमाधि आदि ।

योगमाया बालविधवा थिइन् भन्ने मान्यतालाई निहारिकाको उपन्यासले सप्रमाण खण्डन गरेको छ । उनका तीनवटै विवाहहरु असफल भएका छन् । पूर्ववैवाहिक जीवनको असफलताले उनी विरक्त भएर सन्यासी भएकी छन् । उनलाई मात्र होइन, उनका अनुयायीसमेतको जात काटिएको छ ।

यही सामाजिक लाञ्छना, अपहेलनावाट पीडित भएर नै उनले भक्तिमार्गको बाटो समाएकी हुन् । कठिन जप-तप-साधना-सिद्धीबाट उनले अलौकिक शक्ति पाएकीले उनलाई पछ्याउनेहरुको समूह ठूलै भयो ।

उनी जातिपाति, छुवाछुत, सतीप्रथा विरुद्ध उभिइन् । ब्राह्मणहरुको एकोहोरो गरुड पुराणको दानपक्ष खुलेर विरोध गरिन् । महिला हिंसा विरुद्ध उभिइन् । सामाजिक शोषण, ठूला-साना माना पाथी चलाउने, चर्काे व्याज असुल्ने साहुहरु उनका विरोधी भए ।

उनी धर्मराज्यको वकालत गर्थिन् । राणा शासकहरुले सतीप्रथा हटाएझैं कानुन बनाएर यी सामाजिक अन्धविश्वास र कुरीतिहरु हटाउन, विधवा विवाहलाई मान्यता दिउन् भन्ने मागहरु राखी आˆनो चेला प्रेमप्रसाद भण्डारीलाई काठमाण्डौ पठाइन् ।

उनले भीमशमेसर, चन्द्रशमसेरलाई त भेट्नै सकेनन् । तर, जुद्धशमशेरले सकारात्मक सन्देश दिएका थिए । तर, उनका माग पूरा गर्न आलटाल गरिरहे । योगमाया आफंै काठमाण्डौ गइन् । उनलाई सुनको असर्फी दिएर भिक्षादानबाट टार्न खोजियो । उनले त्यसलाई ठाडै अस्वीकार गरिन् ।

त्यसपछि आˆना माग पूरा गराउन अग्निदाहमा होमिने योजना बनाएर सरकारलाई थर्काइन् । उनको आह्वानमा २४० जना व्यक्तिहरुले आगोमा होमिने संकल्प गरे ।

यो पनि शक्तिकै खेल हो । सरकारले उनीहरुलाई गिरˆतार गर्‍यो । गिरˆतारकै क्रममा धनकुटा जेलमा राखिएका रत्नमान बस्नेत मरे । लेकमा तपस्या गर्न जाँदा जमुना भक्तिनी मरिन् । उनले ती सबै कुरालाई सहज मानिन् ।

छोरी नैनकलाको विवाह भए पनि ज्वाइँ मरे । उनी महिला शिक्षा सहज हुनुपर्छ भन्थिन् । आफ्ना भनाइ कवितामा सहज ढङ्गले व्यक्त गर्थिन् ।

उनका छापिएका वाणीहरु सरकारले जˆत गर्‍यो । धर्मराज्य स्थापनाकै निम्ति मर्न पनि नदिने सरकारविरुद्ध गोप्यरुपले चुनौती दिन १९९८ साल असारमा ६७ जना भक्तसहित जलसमाधिमा होमिइन् । केही व्यक्तिहरुलाई जलसमाधिमा रोकिन यो उनको न्याय हो । उनले राणा शासनको अन्त्य हुने घोषणा गरेकै थिइन् । आज आएर सामाजिक रुपान्तरणको रुपरेेखा कोरिँदैछ । उनले अहिलेका कुरालाई त्यतिबेलै उद्घोषणा गरिसकेकी थिइन् ।

निहारिकाको उपन्यासले पछिल्लो पातोतिर अहिले सामान्य घटनामा मारिनेहरु शहीद हुन् वा होइनन् भन्ने प्रश्न उठाएको छ ।

तीनजना प्रधानमन्त्रीहरुको समय गुजारेकी यी सामाजिक योद्धाका मागहरु कति सान्दर्भिक थिए, थिएनन? अहिलेका नेतृत्व हुनेहरुले विचार गरुन् । उनको आदर, कदर गरुन् ।

उपन्यासको भाषाशैली अन्यन्तै सरल छ । जनजिब्रोले बोल्ने भाषालाई उनले प्रयोग गरेकी छन् । ठूलो आकारको उपन्यास भए पनि रोचक घटनाक्रम ठाउँ-ठाउँमा चिन्ह प्रयोग गरेर भिन्दाभिन्दै प्रसङ्गहरु आउनाले पाठक अब के होला भन्दै पढ्नमै रमाउँछ ।

निहारिका पश्मिकी लेखिका भएकाले पूर्वी नेपालका केही भाषिकाको दोष भने भेटिन्छ । यी सामान्य कुरा हुन् ।

अन्त्यमा, नारी प्रधान प्रेरणाप्रद अत्यन्तै प्रभावशाली ऐतिहासिक सामाजिक उपन्यास लेखेर नेपाली साहित्यको भण्डार भर्ने र योगमायाका बारेमा खोजी गर्नेहरुका निमित्त अत्यन्तै उपयोगी उपन्यास तयार गर्ने निहारिकालाई हार्दिक शुभकामना ।

“चीरहरण” जस्तो उपन्यास लेखेर चर्चित लेखिकाको अर्को त्यस्तै गहन उपन्यास पढ्न र त्यसबारे आˆना धारणा राख्न पाउनु सौभाग्य ठानें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment