Comments Add Comment

व्यक्तित्व देखाउन कस्ता कुरामा ध्यान दिने ?

मानिस उसको व्यक्तित्वका कारण सबैतिर चिनिन्छ । व्यक्तित्व मानिसको पहिचान हो तसर्थ व्यक्तित्व प्रभावशाली हुनुपर्छ । सानातिना भनिएका कुराहरूले पनि मानिसको व्यक्तित्वमा असर गरिरहेको हुन्छ । तीमध्ये कतिपय सकारात्मक हुन्छन् भने कतिपय नकारात्मक पनि हुन्छन् । नकारात्मक कुराहरूलाई हटाउँदै जानु र सकारात्मक गुणको विकास गर्दै जानु सबल व्यक्तित्व निर्माणका लागि आवश्यक कुरा हो ।

कतिपय मानिस धेरैजसो कुरालाई भारेभुरे कुरा त हो नि भनेर त्यतिकसो ध्यान दिदैनन् तर तिनै कुराले व्यक्तित्वमा गहिरो प्रभाव पारिरहेका हुन्छन् । मानिसका कतिपय बानीले उसलाई अरूका अगाडि नकारात्मक रूपमा पहिचान दिलाउँछन् । के के छन् त त्यस्ता बानी ? थाहा पाउने होइन त ?

-कसैको घरमा जाँदा डोर बेल बजाउनेबित्तिकै ढोका नखोलेपछि केही बेर पर्खन छोडेर बारम्बार घन्टी बजाइरहनु ।

-हकरले छिमेकमा पत्रिका फालेको देख्नासाथ हत्तपत्त गएर चुपचाप उठाएर ल्याई आफूले पढिसकेपछि छिमेकीलाई फिर्ता दिनु ।

-पानमसला, सुर्ती वा गुट्खा खाएर जथाभाबी पिच्चपिच्च थुक्नु ।

-छिमेकी वा साथीको चिठी, निमन्त्रणापत्र आदि खोलेर पढ्नु र फेरि बन्द गरेर उनीहरूलाई बुझाउनु ।

-टिकट लिने बेला, पैसा जम्मा गर्दा वा अन्य कुनै पनि अवसरमा अरू लाइन लागिरहेका बेला आफू लाइनमा नबसी बीचमा घुस्नु वा घुस्ने प्रयास गर्नु ।

-अनुमति बिना अरूको फोन वा मोबाइल प्रयोग गरी अनावश्यक लामो कुराकानी गर्नु ।

-उधारो रकम समयमा फिर्ता नगर्नु, धनीले पैसा माग्दा सित्तैं दिनुपरेजस्तो व्यवहार गर्नु ।

-कसैसँगको पहिलो भेटमै उसको धर्म, जात, पेसाजस्ता सम्पूर्ण निजी कुराहरू सोध्नु ।

-कार्यस्थलमा पंखा, एसी, कम्प्युटर आदि बिजुलीका सामान प्रयोग गर्नु नपर्ने स्थितिमा समेत त्यत्तिकै खुला छोडेर हिँड्नु ।

-सार्वजनिक स्थलमा चर्कोचर्को स्वरले साथीहरूसँग वा मोबाइलमा कुरा गर्नु ।

-कुराकानी गर्दा छिटछिटो वा मुखबाट थुकका छिटा निकाल्दै कुरा गर्नु ।

-छिमेकीलाई बाधा पर्नसक्छ भन्ने विचारै नगरी चर्कोचर्को आवाजमा गीत बजाउनु ।

-सरी, माफ गर्नुस्, धन्यवादजस्ता विनम्रता दर्साउने शब्दहरू प्रयोग नगर्नु ।

-नमागीकनै अरूलाई रायसल्लाह दिनु । उसले झर्को मानिरहेको समेत परवाह नगर्नु ।

-साथीको झोला वा पर्स खोलेर लिपस्टिक, ग्लस, क्रिम, नेलपालिसजस्ता कस्मेटिक सामग्री झिकेर लाजै नमानी प्रयोग गर्नु ।

-कसैको गाडी वा बाइक मागेर लैजानु र पेट्रोल सिध्याएर फिर्ता गर्नु ।

-आफ्ना चकचके बालबालिकालाई छिमेकीको जिम्मा लगाएर आफूचाहिँ कतै घुम्न निस्कनु ।

-कसैसँग पत्रिका, पुस्तक, पेनड्राइभजस्ता चिज मागेर बिगि्रएको वा च्यातचुत भएको अवस्थामा फिर्ता दिनु ।

-अरूको विद्युतीय सामग्री मागेर प्रयोग गरेपछि बिग्रिएको स्थितिमा मर्मत नगरी फिर्ता दिनु ।

-अनुमति बिना अरूको बगैंचा वा घरकम्पाउन्डबाट भगवान्लाई चढाउने बहानामा फूल टिप्नु ।

-हिँड्दा जुत्ता वा चप्पलको आवाज आउने गरी खुट्टा लतारेर हिँड्नु ।

-कुनै पनि मिटिङ वा छलफल कार्यक्रममा समयमा नजानु र ढिला भएकामा क्षमायाचना गर्नुसट्टा एकदमै बेफुर्सदी भएको बहाना बनाउनु ।

-हरेक क्षण मपाइँत्व दर्शाउनु र अरूको कुरा काट्नु ।

-बातैपिच्छे फोहोर शब्द बोल्नु तथा जोसुकैसँग निरर्थक बहस गर्न तम्सनु ।

-कसैको कमजोरी वा भावनात्मक समस्याबाट फाइदा उठाउनु ।

यस्ता बानीले व्यक्तित्वमा नकारात्मक असर गर्छन् । यस्ता कुराबाट जोगिने तथा आफूमा यस्ता बानी भए सकेसम्म आफूलाई सुधार्ने प्रयास गर्नु व्यक्तित्व निर्माणका दृष्टिले उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment