Comments Add Comment

अपराध महाशाखा प्रमुखको योजनाः गुण्डा नियन्त्रणदेखि साना हतियार खोजीसम्म

९ बैशाख, काठमाडौं । एसएसपी धिरजप्रताप सिंहले महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हाल्न यस्तो बेला आएका छन्, जतिबेला ३३ किलो सुनकाण्डलाई लिएर महाशाखामाथि प्रश्न उठेको छ ।

एसएसपी दिवेश लोहोनी प्रहरी प्रधान कार्यालय तानिएपछि सिंह संघीय प्रहरी इकाइ कार्यालय, बागमतीबाट आएका हुन् ।

सुनकाण्डमा तत्कालीन प्रमुख लोहोनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल मुछिएपछि गुमेको महाशाखाको साख जोगाउने जिम्मेवारी अब सिंहको काँधमा छ ।

भन्छन्, ‘मेरो अनुभवमा प्रमुख कडा भएपछि त्यस्तो समस्या धेरै हदसम्म हल हुन्छ । कडा अनुशासन र शुन्य सहनशीलतामा जोड दिनेछु ।’

यस्ता छन् सिंहका ५ योजना

अपराध अनुसन्धानमा विशेष अनुभवी मानिने सिंहले अनलाइनखबरसँग कुरा गर्दै आफ्नो ५ योजना सुनाएका छन् ।

आफ्नो पहिलो प्राथमिकतामा सबै प्रकारको गुन्डागर्दीलाई पूर्ण नियन्त्रणमा ल्याउनु रहेको बताउँदै उनी भन्छन्, ‘दोस्रो कुरा भनेको फरार अपराधीको खोजी र पक्राउ मेरो प्राथमिकतामा छ ।’

पछिल्लो समय साना हतियारबाट हुने अपराधिक गतिविधि पनि बढ्दो छ । उनले त्यसलाई नियन्त्रण गर्ने पनि योजना बनाएका छन् ।

एसएसपी सिंहको योजनाको चौथो बुँदामा तस्करी र हुण्डी जस्ता आर्थिक अपराधविरुद्ध सशक्त कारबाही छ । ‘वस्तुनिष्ठ अपराध अनुसन्धान र मानव अधिकारीको संरक्षणको अनुभूति पनि हुनेछ’, उनले भने ।

त्यसबाहेक गृहमन्त्रालयले जारी गरेको ८२ बुँदे मार्ग चित्र र प्रहरी महानिरीक्षकले सार्वजनिक गर्नु भएको मार्गचित्रलार्इ पनि अनुशरण गर्दै अघि बढ्ने उनको योजना छ ।

उनी भन्छन्, ‘यहाँ सुसुप्त रहेको अपराधले संगठित रुप लिन सक्ने सम्भावनाहरु छन् । यसलाई रोक्नु हाम्रो लागि चुनौति हो ।’

को हुन् एसएसपी सिंह ?

डिएसपी हुँदा काठमाडौं प्रहरी परिसरमा काम गरेका सिंह काठमाडौंको सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए ।

पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए ।

पछिल्ला पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment