९ बैशाख, काठमाडौं । काठमाडौ प्रहरी परिसरले केटीएम डुकदेखि पल्सर मोटरसाइकलसम्म भारतबाट चोरी निकासी गरेर नेपाल सस्तोमा विक्री गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ केहुलीका सनम चौधरी, मकवानपुर धिमालका धनबहादुर योन्जन र दोलखा बिर्तेश्वरका गोपाल नेपाली छन् ।
पक्राउ परेका चौधरीले काठमाडौं उपत्यका एजेन्टको रुपमा ग्राहको खोजी र विक्री वितरण गर्ने गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल बताउँछन् ।
उनका अनुसार योन्जनले मुख्य एजेन्टको रुपमा काम गर्ने गरेका थिए भने नेपालीले सहायक एजेन्टको रुपमा काम गर्ने गरेका थिए ।
महानगरीय प्रहरी वृत्त, बालाजुका डिएसपी विश्व खड्काका अनुसार उनीहरुले नक्कली बिलबुक बनाएर मोटरसाइकल विक्री गरेका थिए ।
उनका अनुसार प्रहरीले १३ वटा मोटरसाइकल, १ लाख ४२ हजार ३ सय ५० रुपैयाँ, ७ वटा बिलबुक लगायत बरामद गरेको छ ।
बरामद गरिएका मोटरसाइकलहरुमा केटीएम डुक ३ वटा, पल्सर ७ वटा, आरसी केटीएम एउटा लगायत छन् ।
उनीहरुमाथि सरकाी छाप दस्तखत कीर्ते र ठगी अन्तरगत मुद्दा दर्ता गरी कारबाही अघि बढाइने परिसरका मुद्दा शाखाका डिएसपी मोहन थापाले बताए ।
कानुनतः सरकारी छाप दस्तखत कीर्तेमा १ वर्ष कैद र ठगीमा विगो बमोजिम जरिवानासहित ५ वर्षसम्म कैद सजाय व्यवस्था छ ।
प्रतिक्रिया 4