Comments Add Comment

मोदीको नेपाल भ्रमण : सम्बन्ध सुधार्न कि नाकाबन्दी सम्झाउन ?

यस्ता छन् मोदी भ्रमणका ५ योजना


९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सरकारले आगामी जेठ ११ (मे २५) का लागि तयारी गरिरहेको थियो । तर, भारतले दिएकै मिति (मे ११) मा मोदीलाई स्वागत गर्न नेपाल सरकार बाध्य भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको मिति तय गर्ने काम नेपालको ईच्छामा नभई भारतकै ईच्छामा भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हालै चीनको भ्रमण गरेर फर्केका छन् । नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्ने विषयमा आन्तरिक छलफल भएको बुझिएको छ । अब केपी ओली चीन नजाँदै भारतीय प्रधानमन्त्री मोदी नेपालमा आउनेछन् ।

मोदी भ्रमणका ५ एजेण्डा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिने भ्रमणका क्रममा पाँचवटा योजनाहरु तय भएको स्रोतका भनाइ छ ।

पहिलो, भारतीय प्रधानमन्त्रीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको शिलन्यास गर्नेछन् । अरुण तेस्रोको शिलान्यास केपी ओलीको भ्रमणका बेला दिल्लीमै गर्ने भनिएकोमा नेपाली पक्षले तयारी नपुगेको भनेपछि रोकिएको थियो ।

दोस्रो, भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामस्थित रामजानकी मन्दिरको दर्शन गर्ने अर्को कार्यक्रम छ । यसको तयारीका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्रीसँग भेटवार्ता गरिसकेका छन् ।

नाकाबन्दीका कारण नेपालीहरुमा फैलिएको भारतविरोधी भावना अझै सेलाइसकेको छैन । यस्तो बेलामा हुने भ्रमण आदान-प्रदानले सम्बन्ध सुधार गर्नुको साटो झनै गिजोल्ने खतरा रहन्छ ।

तेस्रो, भारतीय प्रधानमन्त्री मोदी मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रमसमेत रहेको स्रोतले बतायो ।

चौथो, काभ्रेमा भारतीय सहयोगमा बन्ने भनिएको प्रहरी एकेडेमीको पनि मोदीले उदघाटन गर्ने कार्यक्रमबारे गृहकार्य भइरहेको सरकारी स्रोतले जानकारी दिएको छ ।

र, पाँचौं, भारतीय प्रधानमन्त्री मोदी नेपाल आएका बेला ठूलो राशीको सहयोगको घोषणा हुन सक्ने नेपाली पक्षको अनुमान छ । ओली सरकारले भारतसँग त्यस्तो सहयोगको अपेक्षा गरेको सरकारी अधिकारीहरु बताउँछन् ।

केपी ओलीको भारत भ्रमण तयारीबिनै हतार-हतार भएकाले त्यस्तो सहयोगको घोषणा हुन नसकेको भन्दै मोदीको भ्रमणमा नेपालले आर्थिक सहयोग पाउन सक्ने अपेक्षा सरकारी अधिकारीहरुले गरेका हुन् ।

टिप्पणी : दुबै भ्रमणमा ‘साइड इफेक्ट’ को संकेत

नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण आदान-प्रदानले दुई देशको सम्बन्धमा सुधार आउला कि बिगि्रएला ? यो विषय भने अहिले नै टुंगो लागिसकेको छैन ।

तर, मोदी नेपाल आउने समय सार्वजनिक हुनासाथ सामाजिक सञ्जालहरुमा नाकाबन्दीकै बेलामा जस्तो मोदीको आलोचना सुरु भएको देखिन थालेको छ ।

यो स्थितिमा मोदीको नेपाल भ्रमणका बेलामा उनको विरोधमा आवाज उठ्न सक्ने सम्भावना देखिएको छ ।

त्यसो त २००७ सालको क्रान्तिपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु नेपाल भ्रमणमा आउँदा एयरपोर्टमै नेपालीहरुले कालो झण्डा देखाएको इतिहास छ । ६ दशक अगाडिको त्यस्तो विरोधको सामना यसपालि मोदीले पनि गर्नुपर्ने संकेत देखिएका छन् ।

राष्ट्रिय जनमोर्चा, बैद्य समूह लगायतका चारवटा पार्टीले अरुण तेस्रोमा हुन लागेको सहमतिको विरोध गर्दै आएको अवस्था छ ।

नेपालका प्रधानमन्त्री केपी ओली अलि हतार गरेर भारत भ्रमणमा नगएको भए हुन्थ्यो भन्ने तर्क पनि कतिपय नेपालीले गर्दै आएका छन् । मोदीको हकमा पनि यही कुरा सत्य हुन सक्छ ।

मोदी र ओलीको भ्रमणबाट दुई ठाउँमा ‘साइड इफेक्ट’ को खतरा देखिएको छ । हतारमा गरिएको ओलीको भारत भ्रमणले उनको राष्ट्रवादी छवि केही मात्रामा धुमिल बनाएको छ । अब हुने मोदीको नेपाल भ्रमणले नेपाली जनतालाई नाकाबन्दी सम्झाइदिने र भारतविरोधी भावना जगाउने खतरा छ ।

किनभने, नाकाबन्दीका कारण नेपालीहरुमा फैलिएको भारतविरोधी भावना अझै सेलाइसकेको छैन । यस्तो बेलामा हुने भ्रमण आदान-प्रदानले सम्बन्ध सुधार गर्नुको साटो झनै गिजोल्ने खतरा रहन्छ ।

ओली र मोदीको भ्रमण आदान-प्रदानले दुई नेतावीचको सम्बन्ध त सुधि्रएला, तर दुई देशवीचको सम्बन्ध सुधारका लागि अझै केही समय लाग्न सक्छ ।

जस्तो कि, भारतले अझै पनि नेपालमाथि चीनको प्रभाव रहेको आरोप लगाउन छाडेको छैन । एकातिर भारत आफैं चीनसँग सम्बन्ध सुधार गरिरहेको छ । तर नेपाललाई भने उनले चीनसँग नजिक नहुन दबाव दिइरहेकै छ, जुन भारतीय ठालुपनको उदाहरण हो ।

भारतले नेपालमा अन्य देशबाट उत्पादित बिजुली नकिन्ने नीति अझैसम्म सच्याएको छैन । पञ्चेश्वर परियोजना, हुलाकी राजमार्ग लगायतका आयोजनाहरु थाती राखिएको छ र नयाँ-नयाँ प्रोजेक्टमा हात हालिरहेको छ ।

भारतले अझै पनि माओवादी र एमालेलाई आपसमा मिल्न नदिने, तराईमा चिनियाँ प्रोजेक्ट जान नदिने, सार्कलाई सक्रिया बनाउनुपर्ने नेपालको प्रस्ताव नमान्ने लगायतका पुरानै व्यवहार देखाइरहेको अवस्था छ ।

विराटनगरमा अनधिकृत रुपमा राखिएको क्याम्प अफिस भारतले अझैसम्म हटाउन मानेको छैन । ‘राष्ट्रवादी’ भनिएको ओली सरकारसमेत यसबारेमा मौनता साँधिरहेको छ ।

यो स्थितिमा केवल भ्रमण आदान प्रदान र तीर्थाटनले मात्रै दुई देशको सम्बन्धमा आमूल परिवर्तन भइहाल्ने अवस्था देखिँदैन ।

मोदी र ओलीको भ्रमणबाट दुई ठाउँमा ‘साइड इफेक्ट’ को खतरा देखिएको छ । हतारमा गरिएको ओलीको भारत भ्रमणले उनको राष्ट्रवादी छवि केही मात्रामा धुमिल बनाएको छ । अब हुने मोदीको नेपाल भ्रमणले नेपाली जनतालाई नाकाबन्दी सम्झाइदिने र भारतविरोधी भावना जगाउने खतरा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment