Comments Add Comment

टेलिकमका हाकिमलाई प्रधानमन्त्रीको प्रश्न- टायर फेरौं कि इञ्जिन ?

टेलिकममा भ्रष्टाचार मौलाएको मन्त्रालयको निश्कर्ष

१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयमा नेपाल टेलिकमका पदाधिकारीलाई बोलाएर काममा ढीलासुस्ती नगर्न चेतावनी दिएका छन् । काममा गति नलिने हो भने टायरमात्रै होइन, इञ्जिनसमेत फेरिदिने प्रधानमन्त्रीले चेतावनी दिएका छन् ।

टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनी राजभण्डारी समेतका अधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले सोधे- ‘टेलीकमको आम्दानी के छ ? समस्या के छ ? जनताले पाइरहेको सेवा के छ ?’

प्रधानमन्त्रीले एमडी कामिनीलाई सोधे- ‘काम राम्रोसँग नगर्ने हो भने टायर फेरौं कि इञ्जिन ?’

काम राम्रोसित गर्ने हो भने प्रोत्साहित गर्न सरकार तयार रहेको तर ढीलासुस्ती गरेमा कसैलाई पनि छुट नदिइने प्रधानमन्त्रीले बताए ।

तर, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा समेत सहभागी रहेको बैठकमा कामिनीले प्रधानमन्त्रीलाई भनिन्- ‘टेलिकममा काम राम्रोसित भइरहेको छ ।’

तर, प्रधानमन्त्रीलाई एमडी कामिनी राजभण्डारीले टेलिकममा काम राम्रोसित भइरहेको सुनाए पनि सञ्चार मन्त्रालयका अधिकारीहरु भने टेलिकम लथालिङ भइरहेको दाबी गर्छन् । र, यही भद्रगोल अवस्था देखिएकाले प्रधानमन्त्रीले टेलिकमका अधिकारीलाई सिंहदरबारमा बोलाएर सोधखोज गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

कर्मचारीको रजाइँ

टेलिकममा त्यहाँका कर्मचारीहरुले रजाइँ गरिरहेको सञ्चार मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए । उनले भने- ‘नेपाल टेलीकममा करिब ४ हजार कर्मचारी कार्यरत छन् । उनीहरुको मासिक खर्च ४५ करोडा भन्दा बढी छ, जुन खर्च आधा भन्दा बढी कम गर्न सकिन्छ ।’

टेलिकमका कर्मचारीले वर्षमा करिब २४ महिनाजतिको तलब र भत्ता खाने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘कर्मचारीहरु २४ महिना भन्दा बढीको तलब खान्छन्, डाटा फ्री चलाउँछन् । टेलिफोन फ्री चलाउँछन् । विभिन्न भत्ता र सुविधाहरु लिने गरेका छन् । त्यहाँ रहेका विभिन्न गुट उपगुटले आपसमा मिलेर भित्रभित्रै भ्रष्टाचार गरिरहेका छन् ।

एनसेललाई फोरजी, टेलिकमलाई खोई ?

यसैवीच विदेशीको लगानी रहेको निजी सेवा प्रदायक कम्पनी एनसेललाई फोरजी सेवा उपलब्ध गराउने कम्पनीले नै टेलिकमको पनि ठेक्का लिएको र गडबडी गरेको सञ्चार मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

चिनियाँ हुवावेले एनसेल र टेलिकम दुबैको फोरजी सेवा ठेक्कामा पारेको थियो । एनसेलले २१ जिल्लामा फोरजी सेवा सञ्चालन गरिसक्यो भने २८ जिल्लामा सेवा विस्तार गर्न लागेको छ । यसवीचमा टेलीकमको फोरजी सेवा काठमाडौं र पोखरामा मात्रै विस्तार भएको छ ।

सरकारी कम्पनी डुवाउने यस्तो खेलप्रति सञ्चार मन्त्रालय गम्भीर भएको स्रोतले अनलाइनखबरलाई बतायो । उता ग्रामीण दुरसञ्चारको ४ अर्ब ८८ करोडको ठेक्का पनि टेलिकमले लिएर काम नगरेको सञ्चार मन्त्रालय स्रोतको भनाइ छ । यसका युटीएलले करिब २ अर्ब र स्मार्टले करिब ३ अर्बको ठेक्का अघिल्लो सरकारकै पालामा लिएर काम नगरी बसेका छन् ।

यसरी ठेक्का सम्झौता गर्ने र मोबिलाइजेसन रकम लिएर काम नगर्नेहरुको ठेक्का रद्द गर्ने तयारी ओली सरकारले गरिरहेको स्रोतले बतायो ।

तराईमा ४० वटा टावर खोई ?

यसैवीच टेलीकमकी एमडी कामिनी राजभण्डारीले तराईमा नेपाल टेलिकमका ४० वटा टावरहरु राख्नका लागि अर्चेअन इञ्जीकम नामक कम्पनीसँग गरेको सम्झौता अहिलेसम्म कार्यान्वयन भएको छैन । यो सम्झौता भएको वर्ष वितिसक्दा अहिलेसम्म एसलसी खोल्ने कामसमेत नभएको स्रोतले बतायो ।

मन्त्रालय स्रोतको भनाइ अनुसार तराईमा टेलिकमका टावरहरु कम हुँदा एनसेलले आफ्नो व्यापार बढाइरहेको छ । तर, टेलिकमका कर्मचारी भने काम नगरी बसेका छन् ।

यसैवीच पटक-पटक कर छुट गरिदिन माग गर्दै आएको युटीएल कम्पनी विभिन्न ठेक्काहरु आफ्नो हातमा पार्दै टेलिकमलाई असफल बनाउने दाउमा लागेको हुनाले त्यसलाई पनि कारवाही गर्ने तयारीमा सरकार अघि बढेको स्रोतले बतायो ।

एनसेलकै मोडेलमा निजी कम्पनीहरु खोल्ने, देशलाई डुबाउने अनि विदेशीलाई बेचेर नाफा कुम्ल्याउने दलालहरुलाई निरुत्साहित गरिने सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले अनलाइनखबरलाई बताए ।

टेलिकमको यस्तो बेथितिबारे प्रश्न गर्दा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले छोटो जवाफ दिए- ‘टेलिकमभित्र लाइसेन्स, नवीकरण, पूर्वाधार एवं व्यवस्थापनका क्षेत्रमा देखिएका कुनै पनि बेथितिहरु रोक्न प्रतिवद्ध छु ।’

आज प्रधानमन्त्री ओलीले पनि यिनै विषयमा टेलिकमका अधिकारीको ध्यानाकर्षण गराउनुभएको र आवश्यक परे इञ्जिनमात्रै होइन, टायरै फेर्ने बताउनुभएको बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment