Comments Add Comment

जोगबनी–किमाथांका सडक बिस्तारमा इटहरी उपमहानगरपालिका बाधक

ब्यापारीले गरौं भने, मैले निर्णय गरिदिएँः मेयर चौधरी

१८ वैशाख, विराटनगर । इटहरी उपमहापालिकाको असहयोगका कारण कोसी राजमार्ग अन्र्तगत जोगबनी-किमाथांका त्रिदेशीय व्यापारिक मार्ग बिस्तारको काम रोकिएको छ ।

उपमहानगरपालिका क्षेत्रभित्र व्यापारिक मार्गको जग्गा सडक केन्द्रको दाँया/बाँया १५ मिटिर मात्र कायम गर्नुपर्ने निर्णय गरेपछि व्यापारिक मार्गको बिस्तारको काम रोकिएको हो ।

६ लेनको सडक निर्माणका लागि त्यस क्षेत्रमा सडक केन्द्रदेखि दाँया/बायाँ २५ मिटर कायम गरिएको थियो ।

आयोजनाले इटहरीदेखि उत्तर तरहरासम्मको पाँच किलोमिटिर क्षेत्रको सडकपनि ठेक्कासमेत लगाएर निर्माणको काम अघि बढाएको थियो । तर, १० वैशाखमा उपमहानगरपालिकाले नगर क्षेत्रमा निजी घर भत्किने भन्दै उपमहानगरपालिकाले सडकको केन्द्रदेखि दाँया/बाँया १५ मिटिर मात्र कायम गर्ने निर्णय गरेपछि सडक निर्माणको काममा अन्योलता छाएको हो ।

६ लेनको सडक निर्माणका लागि केन्द्रबाट दाँया/बाँया २५ मिटर कायम गरिएको छ ।

उपमहानगरपालिकाको निर्णयपछि इटहरी बजार उत्तर क्षेत्रमा एक हप्तादेखि ६ लेन सडकको काम रोकिएको परियोजनाले जनाएको छ ।

बजार क्षेत्रमा गोर्खा डिपार्टमेन्टल स्टोर लगायतका इटहरी क्षेत्रका ठूला व्यापारीका घरहरु सडक सिमाङकनभित्र परेका छन् ।

आफना घर भत्किने भएपछि ब्यापारीको अगुवाइमा नगरपालिकालाई दबाबमा पार्दै उनीहरुले व्यापारिक मार्ग बिस्तारको काम प्रभावित हुने गरी नगरपालिकाबाट निर्णय गराएका हुन ।

उपमहानगरपालिकाले तत्काललाई केन्द्रबाट दाँया/बाँया १५ मिटर मात्र कायम हुने गरी काम गर्न व्यापारिक मार्ग विस्तार परियोजनालाई निर्णय समेत पठाएको छ ।

त्यसैगरी उपमहानगरपालिकाले भौतिक तथा पूर्वधार मन्त्रालयलाई समेत आफनो निर्णय पठाएको छ ।

परियोजनाका इन्जिनियर सुबोद पोखरेलले कानूनले स्प्रष्टसँग उल्लेख गरेको मापदण्ड विपरीत उपमहानगरपालिकाले गरेको निर्णयले व्यापारिक मार्गको बिस्तारको काम अन्योलमा परेको बताए ।

उनले भने,’यति ठूलो परियोजनाको कामलाई उपमहानगरपालिकाले सहयोग गर्नुको सट्टा असहयोग गर्नु दुखद छ, केही सडक मिचेर बनाइएका घर धनीको पक्षमा उपमहानगरपालिका्े निर्णय आएको देखिन्छ,यस्ता कार्यले उपमहानगरपालिका बिकासको पक्षमा उभिएको देखिएन ।’ उनले भने ।

इन्जिनियर पोखरेलले आयोजनाको बिस्तारको काम भने नरोकिने दावी गरे । राजमार्ग निर्माण व्यवस्था ऐन अन्तर्गत २०२१ फागुन १६ मा जोगवनी-धरान सडकलाई सेन्टर लाइनबाट दाँया बाँया २५/२५ मिटरको बाटो बनाउने निर्णय भएको अभिलेख छ ।

परियोजनाको अनुसार इटहरीदेखि उत्तर तरहरासम्मको सडकखण्ड बगैंचासहितको अत्याधुनिक बनाउने डिजाइन गरिएको थियो ।

इटहरीको मुख्य चोकदेखि तरहरासम्म हालको सडकको बीच भागबाट २५/२५ मिटर दाँया बाँयासम्म सडक फैलिने छ ।

इटहरी-तरहरा सडक ५ किलोमिटर लामो हुनेछ भने चौडा ५० मिटरको हुनेछ । सडकको बीच भागमा ३ मिटरको बगैंचा हुनेछ । बगैंचाको बीचमा सोलार बत्तीको लागि पोल गाडिनेछ ।

सडकको दाँया बाँया फुुटपाथ र साइकल लेन हुनेछ । यो सडक खण्डमा दोहोरो गाडी कुदाउन मिल्ने सर्भिस लेन रहनेछ । सडक बिस्तारका लागि दशैंपछि १ करोड ८० लाख रुपैयाँमा ठेक्का लागेको छ ।

आशिष सन्तोषी लुुम्बिनीले तरहरादेखि काम शुरु गरिसकेको छ भने स्वच्छन्द कान्छाराम सैलुङ जेभीले इटहरीदेखि काम शुरु गरेको छ ।

ब्यापारीले निर्णय गरौं भने गरिदिएँः मेयर चौधरी

यता उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले नगरवासीको माग अनुसार सडकको केन्द्रदेखि दाँया/बाँया १५ मिटरको सडक बनाउने निर्णय गरिएको बताए । ‘एक हप्ताअघि केही व्यापारीको एक समूह आए,सडकको चौडा कुल ३० मिटिर बनाउनु पर्छ भनेर माग राखे, निर्णय गरौं भने निर्णय गरिदिएँ ।’ उनले थपे,’व्यापारिक मार्ग विस्तारको विषयमा अहिले म धैरै बोल्दिन,यस विषयमा आफूले धेरै बोल्दा कुरा बिगि्रन्छ ।’

परियोजनाको अनुसार इटहरी बजार क्षेत्रमा व्यापारिक मार्ग बिस्तारको काम हुँदा ५० देखि ६० घरको अघिल्ल तिरको भाग भत्किन्छ । ती घरहरु सबै सडक मिचेर बनाइएका हुन ।

२०१८ सालमा विराटनगरको रानीदेखि धरानसम्म सो सडक बि्रटिस सरकारले निर्माण गरेको हो । ०२१ फागुन ११ मा तत्कालीन सरकारले राजमार्ग घोषण गरेको थियो ।

राजमार्ग निर्माण व्यवस्था ऐन ०२१ ले सडकको केन्द्रबाट २५/२५ गंज कायम गरेको थियो । तर, बस्ती बिस्तारको क्रममा स्थानीयले सडकको जग्गा मिचेर घर निर्माण गरेका थिए ।

त्यसैगरी०३४ साल असार २० गते राजपत्रमा सुचना गरी रानी धरान सडक केन्द्रबाट दाया/वाया २५/२५ मिटिर कायम गरिएको थियो । यद्यपि, स्थानीयले भने सडक क्षेत्रभित्र अटेरी गदै नयाँ संरचना निर्माण गरेका थिए ।

०३४ सालमै मुआब्जा बितरण गरिसक्दा पनि लफडा

परियोजनाका इन्जिनियर पोखरेलका अनुसार ०३४ सालमै सडकले सडक आसपासको १५ मिटर जग्गाको मुअब्जा जग्गा धनीलाई दिइसकेको बताए ।

उनले मुअब्जा दिए पनिलगत कट्टा नगरेका कारण व्यक्तिको स्वमित्वबाट जग्गा सडकको स्वमित्वमा नआएको देखिएको बताए ।
पूर्वको एक्लो महानगर विराटनगरदेखि दुई उपमहानगर इटहरी र धरान जोड्ने २ लेनको ४९ किलोमिटर सडकलाई ६ लेनको बनाउन ०७० साल असारदेखि नै काम सुरु गरिएको थियो ।

६ वर्षभित्र निर्माण सक्नुपर्ने त्रिदेशीय (भारत, नेपाल, चीन) लिंकरोडका रूपमा स्तरोन्नती भइरहेको उक्त सडकको काम चार वर्ष बित्दा ३५ प्रतिशत मात्र भएको छ ।

व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय इटहरीका अनुसार निर्माणकार्य सम्पन्न गर्न १० अर्ब बजेट तयार गरिएको छ । तर, हालसम्म करिब ४ अर्ब बराबरको मात्र काम सुरु भएको छ । रानीदेखि इटहरीसम्म १३ प्याकेजमा काम हुँदै आएको छ ।

विराटनगरको कञ्चनबारीदेखि बरगाछीसम्म तीन किलोमिटर मात्र स्तरोन्नति पूरा भएको छ । अन्य स्थानमा प्याकेजमा निर्माण कार्य भइरहेको छ ।

अझै इटहरीको तरहरादेखि धरानसम्मको १४ किमि र सुनसरीस्थित दुहबी बजारको निर्माणका लागि ठेक्का लाग्न सकेको छैन ।

दुहबीमा घर भत्काउने किचलो छ भने तरहरादेखि धरानसम्म वन क्षेत्र भएकाले धेरै संख्यामा रुख काटनुपर्ने अवस्था छ ।

दक्षिणमा भारत र उत्तरमा चीनको सिमाना जोडने कोसी राजमार्ग -जोगबनी-किमाथांका) सडकलाई त्रिदेशीय व्यापारिक मार्गका रूपमा अघि बढाइएको हो ।

अर्काेतिर किमाथांका नाका सञ्चालनमा आए चीनसँगको नेपालको व्यापारमा बृद्धि हुने र भारतसँग मात्रै आयात-निर्यातमा भर पर्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

विराटनगरबाट इटहरी, धरान, धनकुटा, वसन्तपुर र संखुवासभाको चैनपुर, खाँदबारी हुँदै चीनसँग सिमाना जोडिएको किमाथांका नाकामा पुग्न सकिन्छ ।

बिस्तार गरिएको सडक केन्ऽ रेखाबाट दाँयाबाँया २५/२५ मिटर चौडाइमा ६ लेनमा बिस्तार हुनुपर्ने भन्ने मापदण्ड भएपनि विराटनगर र दुहवी क्षेत्रमा सडकको चौडाइ घटाइएको छ । सडक बिस्तार भएका अन्य खण्डमापनि सबै क्षेत्रमा यो मापदण्डलाई अवलम्वन गरेको पाइदैन ।

राजनैतिक स्वार्थका कारण विराटनगर इटहरी हुँदै धरानको सडक विस्तारको सडकको सीमा घटाएर आयोजनो जनाएको छ ।

२०४६ साल पश्चात राजनैतिक स्वार्थका कारण तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारको पहलमा दुहवी बजारको ६३० मिटर लम्बाइमा सडक सीमा घटाएर सडक केन्द्र रेखाबाट दायाँबायाँ २७/२७ फिट बनाइएको छ ।

त्यसैगरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा विराटनगर नगरपालिका क्षेत्रमा सडक सीमा घटाएर १५/१५ मिटर बनाइएको देखिन्छ । अहिले सोही अनुसार व्यापारिक मार्ग बिस्तारको काम पनि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment