Comments Add Comment

पोखरामा प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला सुरु

१३ हजार रोपनीमा औद्योगिक क्षेत्र बनाउने मन्त्री लम्सालको घोषणा

२१ वैशाख, पोखरा । प्रथम प्रदेश स्तरीय औद्योगिक प्रदर्शनी तथा रोजगार मेला शुक्रबारदेखि पोखरामा शुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ४ र नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्की शाखाको संयुक्त आयोजनामा पोखरा नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको मेलाको प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका हुन् ।

मेलामा घरेलु तथा साना उद्योग र रोजागर सम्बन्धी ५५ वटा स्टल रहेका छन् । मेलामा खाद्यान्न, कपडा, कस्मेटिक, हस्तकला, अचारलगायतका उद्योगहरुको स्टल रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष हरिहर पौडेलले जानकारी दिए ।

मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नम्बर ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योगहरुलाई एकै ठाउँमा खोल्नका लागि उद्योग ग्राम बनाइने बताए ।

उनले आउँदो असार सम्ममा प्रदेश नम्बर ४ का सबै पालिकामा उद्योग ग्राम खोल्नका लागि ५ सयदेखि १ हजार रोपनीसम्मको जमिन सिफारिश गर्न परिपत्रसमेत गरिसकेको जानकारी दिए ।

पोखरामा भने ५ सय हेक्टर अर्थात १३ हजार रोपनी क्षेत्रफलमा प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउने तयारी भईरहेको बताए । हाल पोखरामा ५०१ रोपनी क्षेत्रफलको पोखरा औद्योगिक क्षेत्र छ ।

मन्त्री लम्सालले उद्योगको ब्यबस्थापन नगरेसम्म रोजगारी सिर्जना र आर्थिक समृद्धी प्राप्त गर्न नसकिने बताए ।

उनले प्रदेश नम्बर ४ मा ३ लाख ५० हजार जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेको बताउँदै उनीहरुलाईसमेत साना तथा घरेलु उद्योगमा रोजगारी सिर्जना गरेर मासिक १५-२० हजार कमाउनसक्ने बनाउन सकिने र त्यसको वातावरण बनाइने बताए ।

उद्योग बलियो बनाउन प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने बताउँदै उनले भने,’अहिलेसम्म जे जति समस्या भोग्नु भो, जति हण्डर खानु भो, खानु भो, अब खानु पर्दैन, हामी सबै समस्या समाधान गरेर ब्यबस्थित गर्छौं ।’

उद्योग स्थापना गर्दा दर्ता गर्नेदेखि सञ्चालन गर्दासम्म सञ्चालक लखतरान हुने गरेर थलापर्ने भएकाले उसले उत्पादन र बजारीकरणमा बिदेशी सामानसँग प्रतिष्पर्धा गर्न समस्या परिरहेकोबारे आफू जानकार भएको बताउँदै उनले अब सहजै दर्तादेखि अन्य सबै झञ्झटिलो प्रक्रिया अन्त्य गरिने उनपको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरीले घरेलु तथा साना उद्योग उद्योगजस्तो नहुँदा पुस्तान्तरणमा समस्या भएको बताए । उनले भने,’घरेलु तथा साना उद्योग उद्योगजस्ता छैनन्, अहिलेका छोराछोरी पुस्ता गएर काम गर्ने वातावरण छैन, काम सुरु गरेपनि टिक्ने वातावरण छैन, त्यसैले पुस्तान्तरण हुन सकेको छैन ।’

उद्योग ग्राम बनाएर उद्योग सञ्चालनको वातावरण बनाउने र ब्यापार प्रवर्द्धनमा सघाउने हो भने युवा पुस्तापनि घरेलु तथा साना उद्योगमा आकषिर्त हुने उनको भनाइ थियो ।

प्रविधि प्रतिष्थापन अहिलेको प्रमुख आवश्यक्ता रहेको चर्चा गर्दै उनले त्यसका लागि सरकारले घरेलु तथा साना उद्योगका लागि ६ खर्ब रुपैयाँ छुट्याउने हो भने ५ वर्षभित्रै ६ लाखका लागि रोजगारी सिर्जना गर्न सकिने दाबी गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष पदमप्रसाद पौडेलले स्थानीय वस्तुको प्रयोग गरेर उत्पादन गर्ने घरेलु तथा साना उद्योगलाई राज्यले सब्सिडिटी दिने ब्यबस्था गर्न माग गरे । साथै उनले विद्युत, पानी, करलगायतमा छुट दिनपनि आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले वैंकहरुले ब्याजदर बढाउँदा उद्योगी ब्यबसायीहरु आक्रान्त भएको बताए ।

उनले ठूला नोटलाई साना नोटले प्रतिष्थापन गर्ने हो भने जनताले घरमा पैसा राख्न नसक्ने, साना नोट भएपछि घुस दिनपनि समस्या हुने भएपछि भ्रष्टाचार पनि रोकिने र घरमा पैसा राख्न नमिल्ने भएपछि वैंकमा पैसा प्रशस्त हुने भएकाले ब्याजपनि घट्ने दाबी गरे ।

उनले नेपाली उत्पादनलाई अन्र्तराष्ट्रियकरण गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसका लागि उद्योग वाणिज्य महासंघले सघाउने प्रतिबद्धता जनाए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कास्कीका अध्यक्ष महाप्रसाद सुबेदीले घरेलु तथा साना उद्योगमा सहज रुपमा लोन लिन पाउने वातावरण, उद्योग दर्तादेखि सञ्चालनसम्म सहज रुपमा हुने, एकपटक ब्याज निर्धारण भएपछि पटक/पटक बढाउन नपाउने, उत्पादित बस्तुको मूल्य बिचौलियाले हृवात्तै बढाएर लिन नपाउनेलगायतका कार्य कडाइका साथ पालना गराउन राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment