२३ वैशाख, काठमाडौं । आगामी वैशाख ३१ गते काठमाडौं महानगरले मेयर र उपमेयर पाएको एक वर्ष पूरा हुँदैछ । यो अवधिमा महानगरपालिकाबासीका अपेक्षा के-कति पूरा भए ? महानगरपालिकाले के के काम गर्यो ? र, के कस्ता समस्याहरु झेलिरहेको छ ? हामीले काठमाडौंका मेयर विद्यासुुन्दर शाक्यसँग यिनै प्रश्नहरुमा जानकारी लिन खोज्यौं ।
‘म भाइहरुलाई अनुरोध गर्न चाहन्छु, फिल्ड सर्वे गर्नुस् । म त्यति मिडियामा नआउने मान्छे, कोही बढी बोल्छन्, मचाँहि काम गर्छु, बढी बोल्दिनँ,’ शाक्यले आफ्नो कार्यकालको समीक्षा गर्दै भने- ‘सरसफाइको कुरा गर्नुहुन्छ भने काठमाडौं हिजोभन्दा धेरै सफा छ ।’
महानगरप्रमुख शाक्यले काठमाडौंका मतदाताहरु सन्तुष्ट रहेको बताए । तर, बाहिरबाट राजधानीमा आएकाहरुको अपेक्षा भने पूरा नभएको हुन सक्ने उनले संकेत गरे । शाक्यले भने- ‘काठमाडौंमा मतदाता एकथरि छन्, जनसंख्या ४० लाख छ । सबैको अपेक्षा पूरा नभएको हुन सक्छ । तर, काठमाडौंका मतदाताका इच्छाअनुसार धेरै कामहरु भएका छन् ।’
आखिर काम चाहिँ यो एक वर्षमा के के भए त ? यसको फेहरिस्थ माग्न खोज्दा शाक्यले मिडियाप्रति गुनासो गरे । यतिसम्म कि उपमेर हरिप्रभा खड्गीसँगको सम्बन्ध पनि मिडियाले नै बिगारिएको, गरेको काम मिडियामा समाचार बन्ने नगरेको लगायतका गुनासोहरु उनले पोखे ।
एमालेका नेतासमेत रहेका महानगरपालिका मेयर शाक्यसँग अनलाइनखबरका लागि राजकुमार श्रेष्ठ र रविन्द्र घिमिरेले गरेको कुराकानीः
काठमाडौं महानगरपालिकाको मेयरका रुपमा झण्डै एक वर्षे कार्यकाल बिताउनुभयो, यो अवधिको समीक्षा कसरी गर्नुहुन्छ ?
निर्वाचनको हिसावले एक वर्ष, जिम्मेवारी लिएको हिसावले एक वर्ष पुग्न लाग्यो । त्यस्तो निराश हुुनुपर्ने ठाउँ पनि छैन । धेरै उत्साहित हुनुपर्ने अवस्था पनि आइसकेको छैन । बीच-बीचको स्थिति छ । काम पनि धेरै भएका छन् । केही नभएका काम पनि छन् । यसरी हेर्दा धेरै निराशा पनि हैन, धेरै उत्साह पनि हैन ।
फेरि सुरुको वर्ष भनेको जग हाल्ने वर्ष पनि हो । त्यसैले सानातिना धेरै काम भएका छन् । तर, पब्लिकको अपेक्षा ठूलो, त्यसमा पनि विवाद भएका ठाउँको काम छिटो भइदियोस् भन्ने छ । बुद्धका बेलामा पनि उहाँको शान्ति भंग गर्ने प्रयास भएको थियो, त्यस्ता केही छन्, मेरो कार्यकालमा पनि । त्यसलाई व्यवस्थापन गरेर अघि बढ्ने कोशिसमा छु र एउटा निश्कर्षमा पुगिसकेको छौं, अब कार्यान्वयन गर्न बाँकी छ ।
जस्तै, काष्ठमण्डपमा जेठ १५ अघि नै सुरु गर्ने सहमति गरेका छौं । त्यस्ता केही छाडेर हेर्ने हो भने काठमाडौंबासी निराश छैनन् । काठमाडौंमा मतदाता एकथरि छन्, जनसंख्या ४० लाख छ । सबैको अपेक्षा पूरा नभएको हुन सक्छ । तर, काठमाडौंका मतदाताका इच्छाअनुसार धेरै कामहरु भएका छन् ।
केके काम भए मेयरसा’ब छोटकरीमा चर्चा गरौं न ?
हरेक वडालाई पूर्वाधार तयार गर्न पैसा पठाएका छौं । हिजो म आउनुअघि र अहिलेको अवस्था हेर्नुभयो भने हरेक वडामा बाटो बनेका छन् । कुनै पनि वडा हिजोको जस्तो देख्नुहुन्न । यदि मेलम्चीको समस्या नभएको भए अझै धेरै काम हुन्थ्यो । फोहोरमैलाको काममा हामी धेरै अघि छौं । सुरुमा एक महिना त आन्दोलन नै गरे । नियोजित ढंगमा असफल बनाउन सकिन्छ कि भनेर लागे ।
मलाई जसले सहयोग गर्नुभएको थियो, उहाँहरुको अपेक्षा धेरै छ । तर, मैले विश्लेषण गर्दा यहाँ म जित्दा हार्ने कोही पनि छन् । अर्कोपटक पनि सफल हुने मेरो टार्गेट होला । मलाई असफल बनाउन पाए, ढाल्न पाए अर्को पटकलाई पृष्ठभूमि तयार हुन्छ भन्नेहरु पनि छन् । त्यो द्वन्द्वका बीचमा अघि बढ्नुपरेको छ ।
मैले ६४ हजार मत पाउँदा ६४ हजारभन्दा बढी मत विपक्षमा पनि गएको छ भन्ने मनमा राखेको छु र अर्कोपटक निर्वाचन हुँदा मेरो ६४ हजारबाट बढाउने हो, विपक्षीमा गएको भोट घटाउने हो, त्यसअनुसार काम गरिरहेको छु । त्यसैले निराश नहुन म तपाईहरुलाई पनि आग्रह गर्छु ।
मिडियामा नकारात्मक आयो भनेर केहीकेही किन चिन्तित छन् ? तर, पब्लिक नेगेटिभ छैनन्, खुसी छन् । वडा-वडामा सर्भे गर्नुस्, सही प्रतिक्रिया त्यहाँबाट आउँछ ।
१६/१७ वर्ष जनप्रतिनिधि थिएनन् तर, पनि केहीकेही काम त भएकै थिए । तर, विद्यासुन्दर मेयर भएपछि हिजोभन्दा बढी वा भिन्न यो यो काम भयो भन्नेचाहिँ के छ तपाईसँग ?
म भाइहरुलाई पनि अनुरोध गर्न चाहन्छु, फिल्ड सर्वे गर्नुस् । वस्तुनिष्ठ विश्लेषण गर्नुपर्यो, त्यो नभएर यहाँ भ्रम भइरहेको छ, विशेषतः मिडियाकै कारण । म त्यति मिडियामा नआउने, मिडियामा बोल्न नचाहने, आफ्नो शैलीमा काम गर्छु । कोही काम नगर्ने बढी बोल्छन्, मचाँहि काम गर्छु, बढी बोल्दिनँ ।
हिजोको १६/१७ वर्षको कुरा गर्नुभयो, यो पनि सत्ता संघर्ष नै हो । हिजो कर्मचारीले सत्ता चलाएका थिए, आज सजिलै छोड्न चाहँदैनन् । अहिले सरकारलाई अप्ठ्यारो-अप्ठ्यारो छ, निजामति कर्मचारीको व्यवस्थापन गाह्रो-गाह्रो भइरहेको छ । निजामति कर्मचारीमाथि कि स्थानीय तहका कर्मचारीमाथि ? कसको के हैसियत हो ? अहिले उहाँहरु प्रदेशमा जान मानिरहनुभएको छैन । जाने हो भने मेरो हैसियत यो हुनुपर्छ भनेर माग गरिरहनुभएको छ । यो द्वन्द्वको मारमा फेरि हामी पर्न सक्छौं ।
हिजो जनप्रनिधि आएपछि सत्ता हस्तान्तरण गर्दा एउटा समस्या थियो । जो फस्ट म्यान भएर चलाइसकेको थियो, अहिले उसले सजिलै सत्ता दिन चाहँदैनन् । हिजोको कार्यकारी भनेको अहिलेको मेयरभन्दा पावरफूल थियो । हामी आएपछि चारवटा संरचनामा विभाजित छ । मेयरमा एउटा अधिकार छ । कार्यकारीलाई अलग्गै अधिकार छ । कार्यपालिका अलग्गै भयो । नगरसभा अलग्गै रह्यो । एउटा निर्णय परिपक्व बनाउन सबैको भूमिका हुन्छ । त्यसकारण समस्या भएको छ ।
हिजो वडा-वडामा पैसा नपठाउने अवस्था थियो । अहिले वडाको भूगोल, जनसंख्या र आयस्रोतका आधारमा हामीले बजेट पठाएका छौं । अहिले कुनै वडामा २ करोड २५ लाख, कुनैमा १ करोड ५० लाख र कुनैमा एक करोड ५ लाख दियौं । त्यो बजेट खर्च गर्न मेयरलाई सोध्नपर्दैन । त्यसले काम पनि धेरै भयो ।
हामीले सबै वडालाई नागरिक सुनुवाइ कार्यक्रम गर भनेका छौं । सबै वडाले गर्दैछन् । अहिलेसम्म भएका कामको सबै जानकारी पब्लिकलाई दिनुपर्छ र अर्को आर्थिक वर्षको बजेटका लागि सुझाव लिन पनि हामीले निर्देशन दिएका छौं ।
हालै १४ नम्बर वडामा कार्यक्रम भयो । ३-४ सय सहभागी भए । आलोचना पनि भयो । पब्लिकले गरेनौं भन्दा हामीले गर्नुपर्ने रहेछ भनेर ग्रहण गर्ने हो । अर्कोपटक मैले गर्ने हो ।
अब ३२ वडामै सार्वजनिक सुनुवाई गराउँछु । महानगरले सय दिनमा हामीले के-के गर्यौं भनेर किताव नै निकालेका थियौं । त्यसैगरी हामीले ६ महिनाको समीक्षा गरिसकेका छौं । अब एक वर्षको समीक्षा हामी गर्छौं । त्यसपछि पत्रकार सम्मेलन गरेर एक वर्षमा यो-यो गर्न सक्यौं, यो-यो प्रक्रियामा छ र यो-यो हुन बाँकी छ भन्छौं ।
हामीले हिजो बोलेकामध्ये ५ वटा जेटर मेसिन ल्याउँदैछौं । त्यो आउन मात्रै बाँकी छ । मैले कार्तिकसम्म ब्रुमर ल्याएर सफा गर्छु भनेका थिएँ । तर, नेपाल सरकारको खरिद प्रक्रियाले गर्दा सकिएन । दुईपटक क्यान्सिल भयो, तेस्रो टेण्डर खोलेका छौं । सामान आउन केही समय लाग्छ । निजी क्षेत्रलाई कति सजिलो छ । तर, सरकारी प्रक्रिया यस्तो छ कि मैले बजारमा गएर राम्रो क्वालिटीको किन्छु, सस्तोमा किन्छु भन्दा सरकारी ऐनले दिएको छैन ।
सरसफाइको कुरा गर्नुहुन्छ भने काठमाडौं हिजोभन्दा धेरै सफा छ । काठमाडौंका सबै आइल्याण्डहरु व्यवस्थापन भइसकेका छन् । एउटै मात्र तीनकुनेको विवादित पार्क बनाउन सकेका छैनौं । शंखमूलको पार्क टेण्डरमा गएको छ । बालाजुपार्क पनि अघि बढाइसकेका छौं । रानीबारीको पार्कको नक्सांकन भइरहेको छ ।
प्रशासनिक रुपमा केही समस्या छन् । हिजो पठाएको पैसा पनि केही-केही वडाले खर्च गर्न सकेनन् भनेर सबैमा एक-एक जना इन्जिनियर त्यहीँ हाजिर गर्ने गरी पठाएका छौं । अब नक्सापास गर्दा समयमा डीपीसी चेक अप भएन भन्ने गुनासो आउँदैन । अहिले सम्पदा, नक्सा र पूर्वाधार पनि उसैले हेर्छ र, कुनै ठाउँमा विवाद भयो भने साँध सँधियारको पनि प्राविधिक नापजाँच गरेर टुंग्याउँछ ।
पूर्वाधारतर्फ बाटोमा केन्द्र सरकारले पनि काम गरिरहेको छ । हाम्रो जिम्मेवारीमा रहेका धेरै बाटो पुनर्निर्माण गर्न खोजेका छौं । हामीले के-के गर्यौं, कति-कति खर्च गर्यौं, कुन ठेकेदारले गर्यो भन्ने हामी डिटेलमा दिन्छौं । त्यसमा टेनसन छैन ।
वडामा बजेट दियौं, सरसफाइ अभियान चलायौं, सडकमा स्तरोन्नति गर्यौं भन्नुभयो । यस्ता नियमित कामहरु त हिजो पनि हुन्थे, भोलि पनि हुन्छन् । यति मात्रै हो त काठमाडौंले खोजेको ? तपाईहरुसँग त स्रोत साधन र कर्मचारीको अभाव थिएन ….
मैले केन्द्रको कर्मचारी आएनन् भनेकै छैन । उहाँहरुको द्वन्द्वको कुरा गर्दैछु, तपाईंहरुले अलिकति बुझ्नुभएन । स्थानीय र निजामति कर्मचारीको द्वन्द्वको मारमा म पर्न सक्छु भनेको हुँ । हामीले केन्द्रबाट कर्मचारी पठाउ भनेकै छैन ।
मेयरसा’ब हामीले कर्मचारीको कुरा गरेको होइन । काठमाडौं महानगरसँग पर्याप्त कर्मचारी छन्, स्रोतसाधन, बजेटका हिसावले पनि सरकारको एउटा मन्त्रालय भन्दा सक्षम छ । तपाईहरुले त अरु स्थानीय सरकारका लागि पनि ‘रोल मोडल’ बन्ने गरी काम गर्नुपथ्र्यो । स्थानीय सरकार प्रमुखहरुलाई कस्तो काम गर्ने भन्दा विद्यासुन्दरले जस्तो गर्ने भन्ने बनाउन सक्नु हुन्नथ्यो ?
त्यो भइरहेको छ । मिडियाले साथ दिएको भए म अन्तै पुगिसक्थेँ, साथै दिएनन् ।
मिडियाले किन साथ दिएन त मेयरसा’ब ?
मिडियाले यथार्थ धरातल बुझ्नै चाहेन । उसको पनि केही इन्टेन्सन होला, ठूला मिडियाको पनि मिसन होला । सबैको होइन । जस्तो हामीले घरबहाल कर स्थानीय तहको अधिकार हो भन्दा कुनै पनि मिडियाले सही निर्णय हो भनेनन् । सबैले गाली गरे, लोभी-पापी मेयर भने ।
अहिले आएर क्याबिनेटले घरबाहल तपाईंहरुको अधिकार हो भनेर निर्णय गर्यो । हिजो गाली गर्ने मिडियाले पोजेटिभ न्युज लेखेन । किन कन्जुस्याइँ भयो ? यो मेरो मात्रै लडाइँ हैन । महानगरमा आउने राजश्व मेयरको खातामा आउने हैन नि !सविधानमा स्पष्ट लेखेको कुरा बोल्दा पनि महानगरले यसो गर्यो, उसो गर्यो भनेर लेखियो ।
केही-केही मिडिया हामीविरुद्ध लागे । (सामाखुसी) कुनै ठाउँमा एउटा बच्चा डुब्यो । हिजो पनि त्यहाँ ढलहरु खुला थिए । त्यहाँ मान्छेहरु डुबे तर, महानगरको दोष भनेर लेखिदिए । अहिले पनि महानगरको सोच भनेको हरेक ठाउँमा शौचालय हुनुपर्छ, कोही पनि पब्लिकले सजिलैसँग शौचालय जान पाउनुपर्छ । रानीपोखरी हामीले बनाउँछौं भन्दा मिलेमतोमा आन्दोलन भयो । भगवान बुद्धलाई मार्न आए जस्तै मलाई मार्न आए । हामीले रानीपोखरी पुनर्निर्माण गर्दा शान्तिबाटिकामा ट्वाइलेट बनाउन खोज्यौं, मिडियाले रानीपोखरीमा ट्वाइलेट बनाउन लाग्यो भनेर लेखे । अनि कसले हुन्छ भन्छन् त ।
तर, मेयरसा’ब यति धेरै मिडिया छन्, केहीले तपाईलाई खेदे पनि होलान्, तर सबै मिडिया विद्यासुन्दरलाई असफल बनाउनैपर्छ भनेर लागेका त छैनन् होला नि ?
केही-केही त लागेकै छन् । तर, म जित्छु ।
राम्रा नराम्रा त जहाँ पनि हुन्छन् नि ?
(लगातार बोल्दै) म जित्छु, जितेरै देखाउँछु । तपाईसँग भन्छु, रानीपोखरी बनाउन आपत्ति के छ ? अहिले (विज्ञ समूह) उहाँहरुले भन्नुभयो, मल्लकालीन ढंगले बनाउनुपर्छ । मैले ‘ओके’ भनेँ । फेरि पनि त्यहाँ अवरोध किन ? जे माग्यो त्यो दिन्छु भनेपछि फेरि अवरोध गर्नु पर्ने कारण केही छ र ? पुरातत्वले असहयोग गर्नु पर्ने कारण केही छ र ? अनि जो ताला लगाउन गए, उनीहरुको असहमति किन ? जे माग्यो त्यो दिन्छु भनेपछि त चुप लागेर सहयोग गर्ने हो नि त । दिन्न भनेको भए पो त्यहाँ विवाद हुन्छ ।
काष्ठमाण्डपको कुरा गरौं । त्यहाँ नियोजितरुपमा मार आइरहेको छ । वैशाख ३१ गते निर्वाचन थियो, वैशाख २९ गते सम्झौता गरेर अरु कसैलाई बनाउन दिन पाइन्छ ? त्यहाँ निर्वाचन आचारसंहिता लाग्छ कि लाग्दैन ? कुनै मिडियाले लेखेन । चुनाव हराउन सकिन्छ कि भन्ने खेल खेल्यो । निर्वाचन प्रचार रोकिसकेको दिनमा, शुन्य समयमा सम्झौता गर्न पाइन्छ कि पाइँदैन ?
तर, महानगरका तत्कालीन कार्यकारीले नै स्थानीयलाई काष्ठमण्डप बनाउन दिएका होइन् र ?
त्यही भएर (शुन्य समयमा सम्झौता भएकाले) गर्न नमिल्ने भनेको । अहिले महानगरले गर्छु भन्दा खेल भइरहेको छ ।
तिहारतिर मैले नेपाल सम्वतको अवसरमा चियापान गर्छु भनेँ । चियापान रोक्नु भनेर निर्वाचन आयोगबाट पत्र आयो । तर, निर्वाचन आयोगको आँगनमै उपराष्ट्रपति ज्यूले त्यहीँ चियापान गर्नुभयो । त्यो रोकेनन् । हामीले आयुक्तज्यूलाई फोन गर्यौं, ए आयुक्त ज्यू ! के हो ? हामी यहाँ भाषण गर्ने होइन, महानगरबासीलाई एक कप चिया खुवाउँछु भन्दा आचारसंहिता लाग्यो । तर, आफ्नै आँगनमा भएको चियापानलाई केही गर्नु भएन । उहाँहरुले आयोगले देखेन भन्नुभयो ।
यस्ता सानातिना कुरामा आग्रह-पूर्वाग्रह राखियो । आयोग परिसरमै भएको चियापान मिडियाले पनि नदेख्ने ? हामीलाई रोक्नुपर्ने र त्यहाँ रोक्नु नपर्ने किन ? चिया खाएर के हुन्छ ? चिया खुवाउँदैमा सबै मान्छे विद्यासुन्दरको पछि-पछि लाग्ने हैन ।
महानगरले काम त गरिरहेकै रहेछ । तर, एउटा सक्षम महानगरले जसरी भिजन दिनुपर्ने हो, त्यो भएन भन्ने गुनासो छ नि ? तपाईसँग गेम चेञ्ज गर्नुपर्ने प्लान के छ ?
मैले जुन बजेट पुस्तिका तयार गरेँ, त्यसमै मेरो भिजन छ । त्यो पढ्न म सबैलाई अनुरोध गर्छु ।
तपाईको भिजन, बजेट तथा कार्यक्रममा छ, त्यो मात्र हो कि दीर्घकालीन योजनाहरु पनि छन् ?
बजेट पुस्तिका भनेको एक वर्ष गर्ने कामको भिजन हो । तपाईंहरुले भनेजस्तो अल्पकालीन, दीर्घकालीन योजनाहरु तयार गर्छौं । यो वर्ष आएको बजेटमा पनि ठूला कार्यक्रम छन् ।
अघिल्लो वर्षको बजेटमा पनि नियमित कामबाहेक के गर्छौं भनेका छौं, हामीले मोनोरेलका काम अघि बढाउँछौं भनेका छौं, जुन हिजो भएको थिएन । स्मार्ट पार्किङ निर्माण अघि बढिरहेका छौं, ब्रमुर किन्ने योजना छ । हिजो त्यस्तो थिएन ।
मेयरसाहेबले काम त धेरै गर्नुभयो होला तर, आम मानिसले दिनानुुदिन भोग्नुपरेका समस्याहरु थयावत छन् । धेरै बाटोहरु वर्षायाम लाग्दा नलाग्दै हिलोले हिँड्न सक्ने अवस्थामा छैनन् । हप्तामा एकपटक फोहोर उठ्न गाह्रो छ…
कहाँ उठ्दैन फोहोर ?
अधिकांश ठाउँमा सातामा एक दिनमात्र घरघरमा फोहोर संकलन हुन्छ…..
दैनिकरुपमा सबैतिर उठिराखेको छ ।
हामी महानगरमै बस्छौं, तपाईंलाई गलत रिर्पोटिङ भइरहेको छ त कसरी भनौं ?
त्यस्तो हो भने तपाईंले मलाई भन्नुस्, दैनिक फोहोर उठाउन लगाउँछु ।
नदी किनारका करिडोर सडकहरु वर्षौंसम्म अलपत्र छन् । धरहरा, काष्ठमण्डप, रानीपोखरी पुनर्निर्माण हुन सकेको छैन । भलै यसमा तपाई मात्र दोषी हुनुहुन्न तर, स्थानीय सरकार र मेयरले पहल लिओस् भन्ने आम मानिसको अपेक्षा छ…
पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँग छलफल भइरहेको छ, हामी निश्कर्षमा पुग्छौं । बैठकमा भएका परिपक्व नहुँदै बाहिर ल्याउँदा पनि अर्को समस्या आउँछ । तर, तपाईहरु ढुक्क हुनुस्, धेरै भइरहेको छ । ठूला एक-दुईवटा बाँकी छन् ।
केही ठोस प्रोजेक्टकै कुरा गरौं न, दुई वर्षमा काठमाडौंमा मोनोरल कुदाउँछु भन्नुभएको थियो । कहाँ पुग्यो ? लगानी बोर्डले पनि एउटा रुटमा काम गर्दैरहेछ
काठमाडौं महानगरभित्र हामी बनाउँछौं । बाहिर लगानी बोर्डले काम गरोस् । महानगरभित्र त हाम्रो अधिकार हो ।
समन्वयमै काम भइरहेको छ ?
समस्या त छ । रेलमा मात्र होइन, सडकमा खन्ने पुर्ने काममा पनि समस्या छ । संघीय सरकारका विभिन्न युनिट छन् । काठमाडौंमा धेरै मन्त्रालय अन्तरगतका युनिटहरु काम गर्छन् । समन्वय गर्ने जिम्मा महानगरलाई दिनुपर्यो भन्ने हाम्रो माग हो ।
संविधानले स्थानीय तहको के-के अधिकार छ भनेर तोकेकै छ । आफ्नो अधिकार त टेबल ठोकेर भए पनि लिनुपर्ला नि । त्यसमाथि केन्द्रमा तपाईंको पार्टीकै सरकार छ….
समन्वय गर्नुपर्छ । तपाईँको र मेरो बुझाइ फरक छ । तपाईको बुझाइ अनुसार मैले मेलम्चीलाई सडक नखन् भन्न सक्छु ? तपाईंले भन्न मिल्ला, मैले मिल्दैन । बाहिर बस्ने ले जे पनि भन्न मिल्ला तर, जिम्मेवार ठाउँमा बसे मैले मिल्दैन । यति भन्न मिल्छ, कहिले खन्ने, कहिले सक्ने हो, मलाई जानकारी गराऊ ।
पानीको पाइप नै नबिछ्याउ भन्नुस् भनेको होइन तर, सडक व्यवस्थित रुपमा मात्र खन्न्नु । काम सकेपछि समयमै पुर्नु, ता कि धुलो हिलो नहोस् त भन्न सकिन्छ नि ?
त्यो त भनिरहेकै छु नि ।
अस्ति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नै भन्दै हुनुहुन्थ्यो, ठमेलको बाटो हेर्दा लाज लाग्यो, मेयरदेखि मन्त्रीलाई भनिसकेँ, सुनुवाइ भएन….
मैले पनि त्यही भनिरहेको छु, अरु मलाई भन्नैपर्दैन ।
यसमा मेयरको भूमिका खै त ? हामीले मेयरबाट अलि बढी अपेक्षा गर्यांै कि ?
अपेक्षा हुनु स्वभाविक हो । अपेक्षाअनुसार सबै हुन सक्दैन । मेलम्चीले खनेर पुरेन भने तपाईंहरुले उसैलाई तोकेर लेख्नुस् न, मेयरलाई गाली गरेर मात्रै किन लेख्नुहुन्छ ?
मिडियामा त आएकै छन् । तर, महानगरका लागि त स्थानीय सरकार तपाईहरु हो, जो जनताको नजिक हुन्छ भनिन्छ । मेलम्चीले सडक खानेपछि पुर्छ कि पुर्दैन भनेर तपाईंले हेर्नुभएन, भन्नुभएन भने कसले भनिदिन्छ जनताका दुःख ?
यो तपाईंहरुको अल्पज्ञानको कुरा हो । एकजना गल्ती गर्ने, अर्कोलाई प्रहार गर्न पाइन्छ ? पाइँदैन । जसले गल्ती गर्यो, उसलाई सजायँ दिने हो । मलाई सजायँ किन ?
मेलम्चीले सडक खनेर पुनेन भनेर गुनासो गर्न पनि सिंहदरबार नै जानुपर्ने भए तपाईको भूमिका के ? स्थानीयको दुःखमा महानगरको ‘एट्याचमेन्ट’ कहाँ रह्यो ?
मेलम्चीले खनेको हो, मेलम्चीलाई नै भन्नुस् न ।
जनताका लागि त तपाईहरु पनि सरकार हो नि । तपाईंहरुलाई पनि भन्नुपर्दैन ?
ठीक छ, त्यो त मैले भनिरहेको छुु नि ।
तर, सुधार भएन, देखिएन नि मेयरसा’ब ?
देखिएन नि भने के त ? केन्द्रीय सरकार पनि छ । केन्द्रीय सरकार के हेर्दैछ त ?
ठीक छ, यो एक वर्ष यस्तै भयो । अबको चार वर्षमा गेम चेञ्ज गर्ने प्लान के छ ? भनिदिनुस् न त, अबको चार वर्षमा काठमाडौंमा महानगरले केके गर्छ ?
अब हामी बजेटमार्फत ल्याउँछौं । असारभित्र बजेट ल्याउनुपर्छ । अब समय कम छ, हामी वर्कआउट गर्दैछौं । तपाईंले भनेका जस्ता नयाँ कुरा र अहिलेसम्म गरेका काम सबै जानकारी गराउँछौं ।
तपाईंले भनेजस्तै हामी यहाँ विकासमा समन्वयकारी भूमिका खेल्छौं । अहिले पनि हामी एउटाले अर्कोलाई हस्तक्षेप गर्ने स्थिति छैन । संघीय सरकारका कुनै पनि निकायलाई मैले काम नगर भन्न सक्छु ? सडक विभाग, केयुकेएल, पीआईडी, विद्युत प्राधिकरण, दूरसञ्चार, ट्राफिक तथा नेपाल प्रहरी फरक-फरक मन्त्रालय मातहत छन् । यहाँ त समन्वयकारी भूमिका खेल्नुपर्छ, यो नबुुझ्दा गाह्रो भयो । कि त सबै मन्त्रालय महानगरको अन्तरगतमा आउनुपर्यो, कि मन्त्रालयका युनिट महानगरलाई जिम्मा दिनुपर्यो । नभए सकिँदैन ।
महानगरको बजेटमा धेरै कुरा आउँछ भन्नुभयो, के-के आउँछन् केही संकेत दिनुस् न ?
बरु भन्नुस् न तपाईहरुको अपेक्षा के छ ? मेयर विद्यासुन्दरबाट यस्तो भइदिए हुन्थ्यो भन्नुस् । बरु कमीकमजोरीहरु के छन्, अहिले नै औल्याइदिए हुन्छ । तर, हजारवटा काम भएको छ, एउटा नभएको देखाएर विद्यासुन्दर असफल भन्ने होइन । हजारवटा काम भएर एउटा छुटे, १००१ वटा भएको भए राम्रो हुन्थ्यो भन्नुपर्यो ।
उसोभए मैले काम गरेकै हो, तर, मिडियाले सर्पोट गरेनन् भन्ने तपाईको गुनासो हो ?
अहिले समय व्यवस्थापन गर्न गाह्रो छ । मिडियाका साथीहरुको अपेक्षा पनि मैले फोन गर्दा उठोस्, मैले टाइम माग्दा भेटोस् भन्ने छ । भेटेन भने देखौंला, लेख्दिउँला भन्ने धारणा छ । अहिले तपाई मिडियामा हुनुहुन्छ, भोलि मेरै ठाउँमा आउनुपर्यो भने ? मसँग कलम छ, मसँग मुख छ, जे बोले पनि हुन्छ, जे लेखेपनि हुन्छ भन्ने जुन मानसिकता छ, त्यसले अराजकता निम्तिरहेको छ ।
त्यसैले मैले मिडियाका साथीलाई अनुरोध गरिरहेको छु, आफ्नो दायित्व र जिम्मेवारी सबैमा हुनुपर्छ । अरुलाई औंला ठड्याउँदा आफूले के गरेँ भनेर पनि हेर्नुपर्छ । केही-केही मिडिया मैले यतिसम्म देखेँ कि हाम्रो मिसन पूरा भयो भन्छन् । मलाई असफल बनाउँदा मिसन पुरा भयो भन्छ भने त्यहाँ केही स्वार्थ छ कि शंका गरौं ! केहीका कारण समग्र मिडिया प्रदुषित हुन सक्छ ।
कर्मचारी युनियनजस्तै तपाईंहरुको पनि समूह होला । पेशागत धर्म भनेपछि जसले जे गर्दा पनि ढाकछोप गर्ने प्रवृत्ति छ नि, त्यसलाई हटाउन सक्नुपर्छ । त्यो नहट्दा अहिले कर्मचारी बदमास भए भने बदमास भइस् भन्न सकिँदैन ।
काठमाडौं महानगरमा केन्द्रबाट आउने र त्यहाँ भएका कर्मचारीहरुको समायोजनमा पनि समस्या देखियो भनिएको छ । तपाईलाई घेराबन्दीमा पारे कि ?
कर्मचारी व्यवस्थापन ठूलो चुनौती हो । नेताहरु कोही पनि कर्मचारीको सहयोगविना सफल हुन सक्दैनन् । नेताले नीति बनाउने हो, कार्यान्वयन कर्मच्ाारीले गर्ने हो । म निजी क्षेत्रमा लागेको भए ब्रुमर अस्ति नै ल्याइसक्थेँ । जेट मेसिन अस्ति ल्याएर सफा गरिसक्थेँ । निजी क्षेत्र त्यो बन्धनबाट मुक्त छ । सरकारी निकायमा फाइल उठाउँदा-उठाउँदै सबै गोप्य कुरा बाहिर आइसक्ने, कसैले उजुरी हाल्ने र अल्मलिने अवस्था छ । मेरो महानगरमा अन्त भन्दा धेरै कर्मचारी छन् । त्यसैले पनि यहाँ निजामति कर्मचारी आउँदा धेरै विवाद हुन सक्छ । भर्खर-भर्खर नगरपालिका भएका ठाउँमा पूर्वाधार छैन, कर्मचारी पनि छैन । त्यहाँ त्यस्तो द्वन्द्वको मात्रा पनि कम होला ।
काठमाडौं महानगरमा कर्मचारी संख्या ठूलो भएकाले दुईथरिका कर्मचारीको बीचमा समन्वय नहुँदा समस्या हुन्छ । मैलेभन्दा पनि उहाँहरुले नै बुझ्नुपर्छ । तर, उहाँहरु आफैंले व्यवस्थापन गर्न सक्नुभएन । त्यसको व्यवस्थापनको जिम्मा कसले लिने ? अब राजनीतिक व्यक्तिले त्यसको व्यवस्थापनको जिम्मा लिन सक्छ कि सक्दैन ? यो हामीले भन्दा पनि कर्मचारी आफैंले मिलाएको भएर राम्रो हुन्थ्यो ।
त्यसोभए विद्यासुन्दरलाई महानगरका पुराना कर्मचारीको जालोमा फसे कि भन्ने बाहिरको आशंका सत्य हो ?
महानगरभित्र मात्रै हैन, अन्त कहीँ पनि एकपटक छिरिसकेको कर्मचारीलाई निकाल्न सकिँदैन । हायर एण्ड फायर गर्न सकिँदैन । मैले चाहेकोलाई पुरस्कृत गर्न सक्ने स्थिति पनि छैन, ‘ल भयो, घर जाउ’ भन्न सक्ने अवस्था छैन, यति भनेपछि बुझ्नुस् ।
विधायकी अधिकार पनि स्थानीय तहमै छ । कानुन बनाएर व्यवस्थापन गर्न सकिएला नि त ?
कोही कर्मचारी निकाल्ने व्यवस्था कहाँ छ र ? एउटा कर्मचारी निकाल्यो भने बाँकी कर्मचारीले काम ठप्प गर्दिन्छन् । काम रोकिएपछि तपाईंहरुले नै फेरि गाली गर्नुहुन्छ । सकिन्छ र उपाय छन् भने बताइदिनुस् । कोही पनि कर्मचारी हामी निकाल्न सक्दैनौं । काम नै नगर्नेलाई पनि निकाल्न सक्दैनौं ।
महानगरले काम त गरिरेहको छ तर, मेयरले प्राथमिकीकरण गर्न सक्नुभएन भन्ने आरोप छ नि
मेरो नीति तथा कार्यक्रम र बजेट हेर्नुस् । त्यो अध्ययन गरेर यो-यो भएन भन्नुस् ।
तपाईले १०० दिनमा गर्छु भनेर गरेका बाचा पनि छन् । काम नभएकाहरुकै सूची धेरै छ, यो पढ्न थाल्यौं भने त धेरै समय लाग्ला, लामै बहस गर्नुपर्ला..
धेरै नभएका मात्र हैन, भइसकेका पनि छन् ।
तपाईं पावरको नजिक हुनुहन्छ । पावर पोलिटिक्स गर्नेहरुलाई पब्लिकको डर हुन्न भनिन्छ, तपाईंको हकमा पनि त्यही भयो भन्यो भने गलत हुन्छ कि सही ?
म पब्लिकलाई खुसी बनाएर अघि बढ्न सक्छु भन्नेमा ढुक्क छु । दुईपटक वडाअध्यक्ष भएँ । त्यसबेला पनि मिडियाले मेरो कामबारे केही लेखेन । तर, पब्लिक सँधै खुसी थिए । मेरो काम, व्यवहार र कार्यशैलीले मतदाताहरु सन्तुष्ट थिए ।
मैले तेस्रोपटक जनप्रतिनिधिका रुपमा मेयरको टिकेट पाएँ । पार्टीले टिकेट दिने, जनता खुसी नहुने भए चुनाव जित्ने थिइनँ । टिकेट पाउँदैमा सबैले जित्ने होइन । तर, मेरो कामको पार्टीले मात्र होइन, जनताले पनि मूल्यांकन गरेका छन् । अब मैले सोच्ने भनेको जनतालाई कसरी खुसी पार्ने भन्ने नै हो ।
अहिलेसम्म जनता खुसी छन् भन्ने लाग्छ तपाईंलाई ?
सबै खुसी छन्, ढुक्क हुनुस् ।
काठमाडौंमा त भोटरभन्दा गैरभोटर धेरै छन् । यहाँ बसेपछि महानगर र त्यसको नेतृत्व गरिरहेका मेयरले यसो गरिदिए हुन्थ्यो भन्ने उनीहरुको पनि अपेक्षा होला
हो, अन्यत्र भन्दा काठमाडौंमा गाह्रो छ, किनभने मैले काम गर्दा ४० लाखलाई हेर्नुपर्छ । मैले पहिले पनि एउटा उदाहरण दिएको थिएँ, दशैंको बेला २० लाख मान्छे घर जाँदा काठमाडौंमा ट्राफिक जाम थियो ? पानीको समस्या हुन्छ ? प्रदुषणको समस्या हन्छ ? फोहोरको समस्या हुन्छ ? केही पनि समस्या हुँदैन ।
मेरो मतदाता मात्रै ९ लाख ७५ हजार हो । अरु दश लाख रहँदासम्म पनि यहाँ समस्या हुन्न । तर, महनगरपालिका देशको राजधानी भएकाले मैले ५० लाखलाई मैले सुविधा दिनुपर्छ । अरु थपिनेलाई पनि सुविधा दिने गरी योजना बनाउने हो । म अरु मेयर जस्तो होइन । त्यसैले अरु मेयरहरुबारे तपाईहरु केही बोल्नुहुन्छ ? बोल्नु हुँदैन । अरु मेयरले के गर्छ, कसैले हेरेको छ त ? हेरेको छैन ।
तुलनात्मक रुपमा अरुलाईभन्दा बढी हामीलाई चुनौती छ, अवसर पनि छ । मेरो प्राथमिकता भनेको चुनौतीलाई व्यवस्थापन गरेर आफू पनि सफल हुने र पार्टीलाई पनि सफल बनाउने हो । जसले मलाई विश्वास गरेरे भोट हाले र सहयोग गरे उनीहरुलाई पनि सफल बनाउनेमा मेरो ध्यान छ । मतदातालाई सन्तुष्ट बनाउने भन्दा अरुलाई असन्तुष्ट बनाउने होइन । तर, सबैले जिम्मेवारी लिनुपर्छ । यहाँ बनाएका नियम सबैले पालना गर्दिपर्यो । यहाँ त कसैले नमान्ने स्थिति छ । मिडियाले पनि पोजेटिभ ब्यवहार गर्नुपर्यो ।
बेलाबेलामा मेयर र उपमेयरबीच पनि समन्वयको अभाव भनौं कि विवाद देखिन्छ । अलग-अलग पार्टीबाट आएका कारण हो कि अरु केही समस्या छ ?
तपाईंहरुले मेयर र उपमेयरबीच झगडा गराउने र चिरा पार्ने कोसिस धेरैपटक गर्नुभयो । एउटै कार्यक्रममा लाइभरुपमा मेयर र उपमेयरलाई एकैपटक राख्नुस्, अहिलेसम्म आइरहेका विवाद त्यहीँबाट समाधान हुन्छ । तर, कहिल्यै गर्नुभएन ।
मेयर र उपमेयरबीच जुन दरार सिर्जना भयो, त्यो मिडियाका कारण भयो । कसैले उपमेयरले यस्तो बोल्यो भनेर लेखिदियो । मैले उहाँलाई सोधेँ, बिचरा उपमेयर भन्नुहुन्छ- मलाई थाहै छैन । अनि मिडियालाई चाँहि कुनै पनि ऐनकानुन नलाग्ने ? मलाई नसोधी मेरो भनाइ भनेर कतै लेख्न पाइन्छ ?
मिडिया कानुन लाग्दैन भनेर कसले भनेको छ र ?
तपाईंहरु किन बोल्नुहुन्न त ? तपाईंहरु मिडियाको भयो भन्दैमा अरुको गल्ती ढाकछोप गर्न पाइन्छ ? गल्ती त गल्ती नै हो । मिडिया भनेर जे पनि लेख्न पाउनुहुन्न ।
मिडियाका साथीहरुलाई मेरो विशेष अनुरोध एउटै छ, मेयर र उपमेयरलाई एउटै ठाउँमा राखेर लाइभ गरौं, अहिलेसम्मका ९९ प्रतिशत विवाद समस्या समाधान हुन्छ । तपाईंहरुले दुईजनालाई अलग्गै राखेर जुधाउन पाउनुहुन्न ।
मेयरसा’ब, बैठक बहिस्कार गर्ने उपमेयर, रानीपोखरीमा गएर ताला लगाउने उपमेयर । तपाईंहरु बीचमा समन्वय नहुने, अनि मिडियाले जुधाए भन्न त नमिल्ला कि ? रानीपोखरीमा गएर ताला त पत्रकारले लगाएको होइन होला नि ?
हो ।
बैठक बहिस्कार पनि पत्रकारले गरेको हो र ?
पत्रकारले उक्साएर हो ।
त्यसोे भए तपाईंको उपमेयर कस्तो त, पत्रकारले उक्साउँदा पनि उक्सने ?
मेयरले रानीपोखरीमा ट्वाइलेट बनाउँछु भन्यो भनेर कहाँ भनेको छ र ?
हामीले मेयरले यसो भन्नुभयो भने कहाँ लेखेको छौं र ?
तपाईंको कुरा हैन, समग्रमा हेर्नुस् न मिडियाको ।
त्यसोभए उपमेयरले कुरै नबुझी अमुक समाचारको भरमा रानीपोखरीमा ताला लगाउनु भएको हो त ?
के भनेर त ?
त्यो त तपाईंलाई नै थाहा होला । हामीले सुनेको त, तपाईले एकलौटी निर्णय गर्नुभयो । रानीपोखरीमा कंक्रिट प्रयोग गर्नुभयो भनेर विरोध गरेको हुँ भन्ने थियो । आफ्नो उपमेयरलाई विश्वासमा लिन नसक्ने, अनि अरुलाई दोष दिने ?
ल ठीक छ, एकपटक दुबैजनालाई सँगै राख्नुस् । चिरा परेको मिलाउनुपर्नेमा मिडियाले जुधाउने र फटाउने काम गरिरहनुभएको छ, त्यो चाँही नगर्नुस् ।
प्रतिक्रिया 4