Comments Add Comment

कविताः अभिनन्दन !

तिमिलाई अझै याद छ ?
रातभर सडकमा लाइन बसेर
खनखनी पाँच हजार तिरेको
आधा सिलिण्डर ग्यास
घर भित्र्याउँदा
तिमिले हर्सोउल्लास मनाएको ?

तिमि अझै सम्झिन्छाै  ?
एकछिन् झुलुक्क झुल्किने
बिजुलीमा जोडेको
राइसकुकर मै
चामल, दाल र आलु
आधा पकाएर आधै खाएको ?

तिमिले के भुल्थ्यौ होला र !
डिजेल सकिएर
छोरीको स्कुलबस महिनौ नआउँदा
छोरी कै स्याहारका निम्ति
बर्षौ देखिको जागिरलाई
तिमिले तिलाञ्जली दिएको ।

अहँ..मैले त भुलेको छैन
आमाको सास नै बचाइ राखेको
साझँ बिहानको दमको औषधि
सारा सहर घुमेर पनि नपाएपछि
फर्किएर आमा कै काखमा
घोप्टिएर घण्टौँ रोएको ।

खै कसरी बिर्सौ !
एक हजार तिर्छु भन्दा पनि
आधा पानी मिसिएको
एक लिटर पेट्रोल नपाएपछि
टन्टलापुर घाममा घण्टौँ हिडेर
अफिस गएको ।

झलझली सम्झिन्छु —
डिजेल नपाएर रोकिएका
कयौँ एम्बुलेन्स र दमकलहरु,
औषधी नपाएर घिटिघिटि भएका
हस्पिटल बेडका कयौँ बिरामीहरु,
ग्यास र मट्टितेलका अभावमा
नबलेका कयौँ गरीबका चुल्हाहरु,
महिनौँ भोको पेटमा पटुका कसेर पनि
देशको स्वाभिमानका निम्ति नझुक भन्दै
शासकलाई हौसला दिन उठेका करोडौँ मुठ्ठीहरू ।

र,
भुलेर यि सारा पीडाहरु
दवाएर आक्रोसका ज्वालाहरु
मेटाएर अन्तर हृदयका क्रन्दन
आउ हामी मिलेर गरौँ
उनै वैगुणीलाई गुणको अभिनन्दन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment