Comments Add Comment

कर्मअनुसारको फल प्राप्त हुन्छः महाभारत

हिन्दूहरू पुनर्जन्ममा विश्वास गर्छन् । मानिसको कर्मले जन्मौंसम्म फल दिइरहन्छ । कर्म जस्तो गरिन्छ फल पनि त्यस्तै मिल्छ । कागती रोपेर सुन्तला फलाउन सकिँदैन । अघिल्लो जन्ममा गरिएको खराब कर्मले यो जन्ममा समेत पिर्छ, मानिसले त्यसको फल भोग्नै पर्छ जुन प्रकृतिको नियम हो ।

महाभारतका एक प्रमुख पात्र धृतराष्ट्रको जीवनमा पनि एक त्यस्तै घटना घटित भएको पाइन्छ । सबैलाई थाहा छ, धृतराष्ट्र जन्मान्ध थिए । तर कमैलाई मात्र थाहा हुनसक्छ, धृतराष्ट्र जन्मँदै अन्धो हुनुमा पनि उनको पछिल्लो जन्मको पाप नै कारण थियो । यसैगरी धृतराष्ट्र गान्धारीका दोस्रा श्रीमान् थिए । के छ त यसको रहस्य ? हेरौँ,

अघिल्लो जन्ममा धृतराष्ट्र अत्यन्त दुष्ट एवं अत्याचारी राजा थिए । एक दिन ती राजा सैन्य दलबलका साथ जंगलमा सिकार खेल्न गए । सिकार खेल्दाखेल्दै थाकेका राजा एउटा तलाउको छेउमा केही बेर विश्राम गर्न भनी बसे । तलाउमा हाँसहरू पानीमाथि तैरँदै रमाइरहेका थिए । एउटा हाँस आफ्ना बच्चाहरू रमाएर खेलिरहेको देखी खुबै आनन्द लिइरहेको थियो । हाँसको खुसी ती राजालाई सह्य भएन । उनले आफ्ना सिपाहीहरूलाई आदेश दिई बूढो हाँसको आँखा फुटाउन लगाएर उसका सबै बच्चाहरू मार्न लगाए । सिपाहीहरूले राजाको आज्ञा पालन गरे । यसरी हाँसलाई मारेको पापले गर्दा धृतराष्ट्र जन्मँदै अन्धो भएर जन्मिए । महाभारतको युद्धमा उनका सय भाइ छोरा मारिए ।

अर्को कथाअनुसार महाराज सन्तनु र सत्यवतीका दुई पुत्र थिए- चित्राङ्गद तथा विचित्रवीर्य । चित्राङ्गदलाई कम उमेरमै सोही नाम भएका गन्धर्वले आएर मारे । पछि विचित्रवीर्य राजा भए जसको विवाह भीष्मले काशी राजकुमारी अम्बिका र अम्बालिकासँग गराइदिए । विवाहको केही समयपछि नै विचित्रवीर्यलाई क्षयरोगले समात्यो । सन्तान नजन्मँदै उनको मृत्यु भयो ।

सत्यवतीलाई ठूलो समस्या पर्‍यो । यस्तो समस्या परेपछि उनले वेदव्यासलाई सम्भिmन् जो सत्यवतीले नै विवाहअघि जन्माएकी पराशरपुत्र थिए । माताको समस्या बुझेर वेदव्यास बुहारीहरूमार्फत  नियोग प्रथाद्वारा सन्तान जन्माइदिन राजी भए । उनले दिव्य शक्ति प्रयोग गरेर अम्बिका तथा अम्बालिकालाई एक एक पुत्र प्रदान गरे । भनिन्छ, व्यासले दिव्य शक्ति प्रदान गरिरहेका बेला अम्बिकाले डराएर आाखा बन्द गरिन्, फलतः अम्बिकापुत्र धृतराष्ट्र नेत्रहीन जन्मे । उसैगरी अम्बिालिकाको शरीर पनि डरले पहेँलो भयो, फलतः अम्बालिकाका पुत्र पाण्डु जन्मँदै कमजोर भए । सत्यवतीले दोस्रो पटक अम्बिकालाई व्याससमक्ष पठाउन खोजिन् । अम्बिकाले आफ्नी दासीलाई पठाइदिइन् जसबाट महान् नीतिज्ञ विदुरको जन्म भयो ।

धृतराष्ट्रको विवाह गान्धार नरेश सुबलकी पुत्री गान्धारीसँग भयो ।  श्रीमान् नेत्रहीन छन् भन्ने थाहा पाएर गान्धारीले पनि आजीवन नेत्रहीन बनिरहने प्रतिज्ञाका साथ आँखामा कालो पट्टी बाँधिन् । उनी आँखा भएर पनि जीवनभरि नेत्रहीन झैँ रहिन् ।

गान्धारी तथा धृतराष्ट्रका सय भाइ छोरा तथा एउटी छोरी दुःशला थिए । तीमध्ये दुर्योधन सबैभन्दा जेठा थिए ।

महाभारत युद्धमा धृतराष्ट्र र गान्धारीका सबै छोराहरू मरे । उक्त युद्ध हस्तिनापुरको राजसिंहासनका लागि भएको थियो । जुन युद्धमा पाण्डु पुत्र अर्थात् पाँच भाइ पाण्डवको नेतृत्वमा सात अक्षौहिणी तथा धृतराष्ट्रका पुत्र अर्थात् सय भाइ कौरवको नेतृत्वमा एघार अक्षौहिणी सैनिकका बीच युद्ध भएको थियो । युद्ध त निकै पछि भएको थियो तर त्यसको जह अर्थात् पृष्ठभूमि भने पहिल्यै निर्मित भएको थियो ।

धृतराष्ट्रले गान्धारीका पिता सुबल तथा शकुनी बाहेकका अन्य दाजुभाइको हत्या गरेका थिए । यसो हुनुमा गान्धारीकै परिवारको समेत केही दोष देखिन्छ । एक प्रसंगअनुसार धृतराष्ट्रलाई गान्धारीको आफूसँग विवाह हुनुअघि पनि विवहा भएको थियो भन्ने जानकारी थिएन । जक कि चिनामा देखिएको दोषका कारण गान्धारीको विवाह पहिले बोकोसँग गराइउको थियो र विवाहपछि नै बोकालाई मारिएको थियो । जब धृतराष्ट्रले यो कुरा थाहा पाए, उनी अत्यन्त क्रोधित भए । उनले राजा सुबल तथा उनका सयजना छोराहरूलाई बन्दी बनाएर झ्यालखानामा हालिदिए ।

जेलमा उनीहरूलाई अनेकथरि यातना दिइयो । उनीहरूलाई खानका लागि अति थोरै खानेकुरा दिइन्थ्यो । यो देखेपछि सुबलले सबैका लागि भनेर दिइएका खानेकुरा सर्वसम्मतिबाटै सबैभन्दा चलाख छोरो शकुनीलाई मात्र दिन थाले । खान नपाएर सुबलका शकुनी बाहेक सबै छोराहरू मरे र अन्तमा उनी आफैं पनि मृत्युको नजिक पुगे । शकुनीलाई बलियो बनाइराख्न सुबलले अन्य मृत छोराहरूको मासुसमेत खुवाए । एक दिन सुबलले शकुनीको छेपारी भाँचिने गरी हिर्काए र सदासर्वदाका लागि लंगडो बनाइदिँदै भने, हेर् शकुनी ! तैंले आफ्नो यो गोडा देखेर सदैव आफ्ना दाजुहरूको मासु खानुपरेको कुरा सम्भिmरहनेछस् र हस्तिनापुरसँग जसरी पनि बदला लिनुपर्छ भन्ने भाव भुल्नेछैनस् ।’

मर्ने बेलामा राजा सुबलले आफू मरेपछि शकुनीलाई आफ्नो मेरुदण्डको हड्डीबाट पासा बनाएर राख्न भने ।  उक्त पासामा तान्त्रिक शक्ति हुने र त्यसले शकुनीले जे चाह्यो सोही अनुसार पासाको खेल जित्ने बताए । मर्नुअघि सुबललाई अन्तिम इच्छा सोधियो । उनले शकुनीको रिहाइ मागे जुन धृतराष्ट्रबाट स्वीकृत भयो । शकुनी हस्तिनापुरमै बस्न थाले । उनले दुर्योधनलाई सानैदेखि पाण्डवहरूका विरुद्ध उक्साए । दुर्योधनका मनमा घृणाभाव भरेर आफूले चाहेअनुसार चल्ने बनाए । कौरव र पाण्डवका बीच जुवाको खेल हुँदा शकुनीले दुर्योधनका पक्षबाट पासा खेलेर पाण्डवहरूलाई हराए । जुन पछि महाभारत युद्धको प्रमुख कारण बन्न पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment