Comments Add Comment

तीन ठाँउमा कार्यक्रम गरी यूएर्इका नेपालीले मनाए बुद्ध जयन्ती

३० वैशाख, यूएई । गत वैशाख १७ गते मनाउनु पर्ने बुद्ध जयन्ती ११ दिन ढिलो गरेर वैशाख २८ शुक्रबार यूएईका तीन सहरमा रहेका नेपालीहरुले बिबिध कार्यक्रम गरेर मनाएका छन् ।

यूएईको प्रमुख ब्यापारिक शहर दुबई, राजधानी अबुधाबी र उत्तरी पहाडी शहर फुजेरामा गरी यूएईका तीन स्थानमा बुद्ध जयन्ती मनाइएको हो ।

शुक्रबारको साप्ताहिक बिदालाई सदुपयोग गर्दै ११ मे मा यूएईको दुबईमा व्यापक सहभागितामा मनाइएको संयुक्त बुद्ध जयन्ती समारोह आयोजकहरुको कार्यशैली र कलाकारहरुलाई उपेक्षा गरिएको कारण अन्तर्राष्ट्रिय कलाकार समाज अबुधाबी क्षेत्रीय समितिले छुट्टै मनाएको  छ।

यसैबीच फुजेरामा रहेका सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले पनि सोही दिन नमस्ते रेस्टुरेन्टमा भगवान बुद्धको मूर्तिमा दिप प्रज्ज्वन गरेर बुद्ध जयन्ती मनाएका छन् ।

यूएईमा गत वर्षदेखि नेपाली आदिवासी जनजाति महासंघ यूएई शाखाको अगुवाइमा बुद्ध जयन्ती संयुक्त रुपमा मनाउने शृङ्खला शुरु भएको हो ।

यूएईमा रहेका सबै संस्थाहरुलाई एकै मञ्चमा ल्याएर संयुक्त रूपमा कार्यक्रम गर्दा हरेक दृष्टिले कार्यक्रम सफल हुने र सकारात्मक सन्देश प्रवाह हुने जनजाति महासंघको लक्ष्य थियो तर गत वर्षको हिसाबकिताब पारदर्शी नभएको र केही जनजाति अभियन्ताहरुले जातीय सद्भाव बिगार्ने अभिव्यक्ति सामाजिक संजालमा दिएको भन्दै जनजाति महासंघको अगुवाईमा दुबईको कार्यक्रममा यूएईका केही सामाजिक संस्था तथा सामाजिक अभियन्ताहरुले सहभागिता जनाएनन ।

फलस्वरूप  अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) अबुधाबीले सोही दिन मुसाफाको मलयाली हलमा बुद्ध जयन्तीको अवसरमा नेपालबाट गायक अनिल सिंह, अमृता लोप्चनको उपस्थितिमा सास्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

अबुधाबिमा  मनाइएको कार्यक्रमलाई दुबईको समारोहको प्रतिस्पर्धात्मक कार्यक्रमका रुपमा बुझिएको छ भने फुजेराको कार्यक्रम स्वतस्फूर्त रूपमा मनाइएको आयोजकहरुले जानकारी दिएका छन् ।

इनासले अबुधाबीमा आयोजना गरेको  २५६२ औं बुद्द जयन्ती कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

शुक्रबार मे ११ तारिकका दिन इनास अबुधाबी क्षेत्रीय समितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथीबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा लामा गुरुबाट धार्मिक मन्त्र उच्चारण, पूजापाठ तथा प्रसाद ग्रहण गरिएको थियो ।

अबुधाबिको मुसाफामा रहेको मलयाली कल्चर सेन्टरको सानो हलमा कार्यक्रम आयोजना गर्ने आयोजकहरुले दर्शकहरु हलमा भरिभराउ हुन थालेपछि तत्काल ठूलो हलमा कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा यूएईमा रहेर बिभिन्न सामाजिक क्षेत्रमा योगदान दिएका झण्डै देढ दर्जन ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

सम्मान पाउनेहरुमा खेलकुद क्षेत्रबाट तेक्वान्दो खेलका सिनियर प्रशिक्षक तथा एभरेस्ट मार्सलका रवि शाही र भलिबल संघ यूएईका अध्यक्ष हिरालाल श्रेष्ठ र पत्रकारिता, कलाकारिता, साहित्य र सामाजिक अभियन्ता लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलार्इ सम्मान गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम

 कार्यक्रमको दोश्रो चरणमा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

यूएईमै रहेर गायन र नृत्यमा निरन्तरता दिइरहेका नेपाली कलाकारहरुको अब्बल प्रस्तुति रहेको थियो ।

कविता बिक, जोबन गुरुङ, कृष्ण खबास, नम्रता लामा, हरी मोक्तान, पदम राई, सारीका सुनार, पारस लामा, दिपक गुरुङसहित झ्ण्डै २ दर्जन कलाकारहरुले प्रस्तुती दिएका थिए ।

राष्ट्रिय ख्यातिप्राप्त कलाकार गायक अनिल सिँह र नायिका अमृता सम्बाहाम्फेले उपस्थित दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

दुबईको कार्यक्रममा पनि दर्शकको भिड

त्यसैगरी यूएईमा क्रियाशील ४४ संस्थाहरुको आयोजनामा दुबईमा समेत सोही दिन बुद्ध जयन्ती समारोह आयोजना गरिएको थियो ।

नेपाली आदिवासी जनजाती महासंघ यूएईका अध्यक्ष पासाङ शेर्पाको सभापतित्व भएको उक्त कार्यक्रममा बिभिन्न जातजाति र समुदायका झांकी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा नेपालको चर्चित ब्याण्ड सत्यकृतले आफ्नो प्रस्तुती दिएको थियो ।

बुद्ध जयन्ती अवसरमा आयोजित उक्त कार्यक्रममा उल्लेख रुपमा दर्शकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment