Comments Add Comment

एपेक्स बैंक घोटाला प्रकरणः डेढ सय जनाविरुद्ध मुद्दा दायर, १२७ फरार

मुख्य नाइके अमेरिका पुगे, डिफ्यूजन नोटिस जारी गर्ने तयारी

६ जेठ, काठमाडौं । तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । र, जिल्ला अदालत, पाटनमा १ सय २७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

ब्यूरोले १ अर्ब २३ करोड ५४ लाख ४ सय ८२ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

‘अनुसन्धानका लागि आएको १ सय २८ फाइल मध्ये ३२ वटाको सुर्खेत, इटहरी र नेपालगञ्जबाट ऋण प्रवाह भएकोले त्यसको अनुसन्धान त्यहीँको प्रहरीबाट भइरहेको छ’, सीआईबीका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘हामीले ८५ वटा फाइलको अनुसन्धान गरेर मुद्दा दायर गरेका हौं । अन्य अनुसन्धान सम्बन्धित जिल्लाबाटै भएर मुद्दा दर्ता हुन्छ ।’

यस्तो थियो घोटाला प्रकरण

एनसीसी बैंकसँग मर्जर प्रक्रियामा गएपछि तत्कालिन समितिले करिब दुई अर्ब रुपैयाँ घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको थियो ।

करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको अनुसन्धानमा खुलेको थियो । यो बैंकिङ ठगी हालसम्मकै सबैभन्दा बढी रकम अपचलन भएको घटना भएको प्रहरी दाबी छ ।

घोटालामा संलग्न भएको आरोपमा प्रहरीले दुई महिनाअघि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को बोर्ड बैठक बसिरहेकै बेला १३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धिताल, बैंकका सहायक महाप्रवन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू थिए । धिताल कांग्रेस महासमिति सदस्य समेत हुन् ।

घोटाला प्रकरणमा ‘क’ वर्गाका ठेकेदार मनोज भेटवाल समेत पक्राउ परिसकेका छन् ।

मुख्य नाइके अमेरिकामा

सो घोटाला प्रकरणमा संलग्न मुख्य अभियुक्तहरु प्रहरीले अनुसन्धान सुरु गरेको चाल पाएलगत्तै भागेर अमेरिका पुगेका छन् ।

सीआईबी स्रोतका अनुसार तत्कालीन सिइओ गोविन्द उपाध्याय र सञ्चालक वसन्त मल्ल अमेरिका पुगेका हुन् ।

‘मुद्दा दायर भएको छ । अब इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गर्ने प्रक्रिया सुरु गर्छाैं’, सीआईबीका एक अधिकारीले भने ।

यो पनि पढ्नुस् 

एनसीसी बैंक घोटाला काण्डः सञ्चालक धितालसहित १३ जना पक्राउ (हेर्नुस् सूची)

मर्जर सहमति भएपछि एपेक्सले गरेको बदमासी डेढ वर्षपछि खुल्यो

एपेक्स बैंक घोटाला प्रकरणः ‘क’ श्रेणीका ठेकेदार भेटवाल समातिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment