Comments Add Comment

एनसीसी बैंक घोटाला काण्डः सञ्चालक धितालसहित १३ जना पक्राउ (हेर्नुस् सूची)

२ चैत्र, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित अन्य १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू छन् ।

चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्न बाँकी रहेको बैंकले यही विषयमा छलफल गर्न शुक्रवार सञ्चालक समितिको बैठक डाँकेको थियो । संस्थापकमा रहेका एनबी समूहका लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठले हकप्रद नसकार्ने बताएपछि समाधानको लागि बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने लगायतले शुक्रबार नै गभर्नर डा. चिरञ्जीवि नेपाल र प्रवक्ता तथा नियमक बिभाग प्रमुख नारायण पौडेललाई समेत भटेका थिए ।

त्यही क्रममा सञ्चालक समितिमा सीआइबीले छापा मारेको थियो ।  राष्ट्र बैंकले नै केही दिन अघि सीआईबीलाई कारवाहीको लागि पत्राचार गरेको थियो ।

सीआईबीका अनुसार तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।

खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो । एनसीसी बैंकमा एपेक्स डेभलपमेन्ट बैंक मर्जर भइसकेको छ ।

पक्राउ पर्नेहरुमा निम्न व्यक्तिहरु छन्ः–

सि.नं. नाम थर पद
1. विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
2. ईच्छा बहादुर गुरुङ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
3. सुवर्ण राज भण्डारी, तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
4. मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
5. ऋषी राज भट्ट तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
6. दुर्गा दत्त जोशी, तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
7. रामचन्द्र बसौला तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
8. बिकास श्रेष्ठ तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
9. सागर नेउपाने तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
10. मान ब. राउत तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
11. विनित मणि उपाध्याय तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक
12. मोहन खरेल तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
13. सुदिप थापा तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

 एपेक्सका त्यतिखेरका अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दूरुपयोग भएको थियो । धिताल अहिले एनसीसीमा पनि सदस्य छन् ।  दुई अर्ब ऋणमध्ये ४८ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

यसअघि २८ बैशाखमा उच्च अदालत पाटनले एपेक्स डेभलपेमन्ट बैंकको हिसाब छुुट्टै राख्न एनसीसीलाई अन्तरिम आदेश जारी गरेको थियो । एपेक्स गाभ्न राष्ट्र बैंकले नै अनुमति दिएको थियो ।

तर, खराब अवस्थामा पुगेको बैंकलाई गाभ्न दिएकै कारण एनसीसीमा थप समस्या आएको बताइएको छ ।

एनसीसी बैंकमा यसअघि पनि एनबी समूह लगायतको कारण बैंक धरासायी भएको थियो । बैंकमा राष्ट्र बैंकले व्यवस्थापन नै पठाएर सुधार गरेको थियो ।

राष्ट्र बैंकले धरासायी भएको बैंकमा अन्य कमजोर अवस्थाकै बैंक मर्ज गर्न अनुमति दिएकोमा आलोचना पनि भएको थियो । यद्यपि, नक्कली कर्जाको यो काण्ड मर्जर प्रक्रिया चलिरहँदा भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment