२५ मंसिर, पोखरा । दिनभरि मजदुरी गरेर फर्केपछि ३ जना साथी मिलेर साँझ मदिरा पिउँदै दु:खसुखका कुरा गर्छन् ।
मजदुरीका लागि पोखराका विभिन्न ठाउँमा धाउने र जे काम पाइन्छ त्यही काम गर्ने उनीहरूको दैनिकी नै थियो ।
बुधबार राति पनि पोखरा-१२ भद्रकाली नजिकै मदिरा पिउँदै कुरा गर्ने क्रममा विवाद हुन्छ । मदिरामा लठ्ठिएर निस्किएपछि पनि विवाद रोकिँदैन ।
हिँड्दै जाने क्रममा भद्रकाली जंगल नजिकै खाली जग्गामा २ जना मिलेर ढुंगाले हानेर आफ्नै साथीको हत्या गर्छन् र आफ्नो बाटो लाग्छन् ।
बिहीबार बिहान स्थानीयले घटना देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकलाई ढुंगाले हानेर हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानपछि मृत्यु हुनेमा पोखरा-१६ बाटुलेचौर घर भई वडा नम्बर १२ हस्पिटल चोक बस्ने ६० वर्षीय रमेश सुनार भएको प्रहरीले जनाएको छ ।
उनको हत्या गरेको अभियोगमा प्रहरीले दिउँसो पाल्पा रामपुर घर बताउने ३८ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
घटनामा संलग्न १ जनाको खोजी भइरहेको उनले बताए । ‘उनीहरू जहाँ काम पाइन्छ, त्यहीँ पुग्ने, त्यतै बस्ने क्रममा पोखरा-१२ आइपुगेका रहेछन्,’ कार्कीले भने, ‘राति सँगै मदिरा पिएर बस्ने क्रममा विवाद भएपछि हत्या भएको खुल्न आएको छ ।’
हत्या गरेर फालिएको शव फेला परेपछि प्रहरीले कुकुरको सहायताले हत्यामा संलग्नहरूको खोजी थालेको थियो । सीसी क्यामेरा फुटेज, प्रत्यक्षदर्शीको समेत सहयोगमा हत्यामा संलग्न व्यक्ति पक्राउ गरेको एसपी कार्कीले जानकारी दिए ।
प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ । मृतक सुनारको शव पोस्टमार्टमपछि श्रीमती र छोराले बुझेका छन् ।
प्रतिक्रिया 4