Comments Add Comment

कीर्तिमानी आरोहीको न्यानो स्वागत

कामिरितालाई सगरमाथा चढ्नु ट्याक्सी हाँकेसरह !

टानी टारा सिमसी, तेन्दी थेराङ डुसुङ
टासी थेडु ङिला, छेला फराद माढोङ

झ्यालीको तालमा शेर्पा भाषाको यही गीत गाउँदै झण्डै ५० जनाको समुह कपन बौद्धबाट कीर्तिमानी आरोही कामिरिता शेर्पाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो । हिमालसँग दैनिकी जोडिएका धेरैजसो उनीहरुको अनुहारमा कामिरिताको नयाँ कीर्तिमानको खुशी झल्किएको थियो ।

गीतको अर्थ हो, ‘तिमी आयौ, सुख भयो । जीन्दगीमा दुःख बिमार नहोस् । तिम्रो आयु राम्रो होस् ।’ उनीहरुले गीतबाटै शुभकामना दिए । चिताएर गएको काम पूरा भएकोमा बधाई दिए ।

कामीका बाबु लाक्पा शेर्पा, छोरा लाक्पा तेन्जी शेर्पा र श्रीमती लाक्पा जाम्बु शेर्पा त्यही भीडमा थिए । एक बजे आइपुग्छन् भन्ने खबर पाएर गीत गाउँदै, नाच्दै खुशी मनाइरहेका उनीहरुले तीन घण्टा प्रतीक्षा गर्नुपर्‍यो ।

कामिरिता आइपुग्दा उनको स्वागतमा श्रीमती जाम्बु शेर्पाले करामा बोकेर ल्याएको चिसो दही तातो भइसकेको थियो ।

कामिरिताले आइपुग्ने वित्तिकै शुभचिन्तक र तस्वीर खिच्न तँछाडमछाड गरिरहेका सञ्चारकर्मीको भीडमा श्रीमतीको मायालु स्वागत लिए । अंकमाल गरे र उनले ल्याएको दही तीन पटक खाए । श्रीमती जाम्बुको अनुहारमा कामिरिताको नयाँ कीर्तिमानभन्दा उनको सफल आरोहणको खुशी फैलियो ।

२२ वर्ष पहिले बिहे गर्दा कामिरिताले सगरमाथा चढेका थिए/थिएनन् जाम्बुलाई याद छैन । त्यसपछि भने उनले हिमालको कठीन परिश्रमबाट घर चलाएको जाम्बुले बुझेकी छिन् । १९ वर्षका छोरा र १६ वर्षकी छोरीको लालनपालन र शिक्षादिक्षामा कामीसँगै उनको सगरमाथा आरोहण जोडिएको छ ।

हरेक पटक सगरमाथा चढ्न कामिरिता घरबाट निस्कदा जाम्बु उनको सफल आरोहणका लागि बौद्धनाथ गुम्बामा पूजापाठ गर्छिन् ।

‘उहाँ राम्ररी फर्कनुहोस् भनेर पूजा गर्छु । उहाँको सफल आरोहणका लागि भनेर गएको दिनदेखि बौद्धमा नियमित पाठ गर्छु’ उनले भनिन्, ‘हामी बौद्धधर्म फलो गर्ने भएकाले कुलिम भन्ने पूजा हुन्छ । त्यो उहाँको स्वास्थ्यका लागि हो ।’

पाँच दिनअघि कामिरिता शेर्पा २२ औं पटक सगरमाथाको चुचुरोमा पुगेको खबर विश्वभर फैलिएको थियो । एक आरोहीको साहस, उत्साह र विश्व कीर्तिमानको खबरले धेरैलाई छोयो । ४८ वर्षको उमेरमा उनले देखाएको उर्जा प्रशंसनीय छ ।

कामिरितामा त्यो शक्ति र उत्साह कहाँबाट आयो उनको बाबुलाई हेर्दा थाहा हुन्छ । कामिरिताका बाबु लाक्पा १०१ वर्षको उमेरमा पनि हट्टाकट्टा छन् । उनी खुशीसाथ छाती उँचो पारेर सुनाउँछन्, ‘कामिरिता मेरो छोरा हो ।’

हिमाल छेउका अन्य शेर्पाले जस्तै उनी पनि सन् १९५० तिर नै व्यावसायिक गाइडको काम गर्थे । पहिले राम्ररी बाँचेको र शरीरमा तागत पुगेकाले अहिलेसम्म स्वस्थ भएको उनलाई लाग्छ ।

‘मैले लठ्ठी टेक्न परेको छैन । लठ्ठी टेक्यो भने त लठ्ठी नै भाँचिन्छ होला’ उनले थोते भइसकेको मुख खुलाएर हाँस्दै भने, ‘दाँत भने छैन ।’

छोराले कीर्तिमान बनाएको कुरा अरुले भनेपछि उनले थाहा पाए । छोराले हिमाल चढिरहेको छ भन्ने चाहिँ उनलाई थाहा छ ।

कामिरिताका १९ वर्षका छोरा लाक्पा तेन्जी शेर्पालाई बाबुको कीर्तिमानले खुशी लागेको छ । आफूहरुको लागि बुबाले बारम्बार सगरमाथा जाने जोखिम मोलेको उनी बताउँछन् ।

‘रेकर्ड बनेकोले खुशी लागेको छ । तर, बाबाले रेकर्डको लागि होइन, गुजाराका लागि गर्नुभएको हो । उहाँले धेरै ‘रिक्स’ लिएर जानुभएको छ,’ उनले भने ‘सानोदेखि उहाँले गर्नुभएको दुःख सुन्दा अब आफूले केही गर्नुपर्छ भन्ने लाग्छ । उहाँले आफ्नो जीवन दाउमा राखेर हामीलाई हुर्काउनुभयो, पाल्नुभयो, पढाउनुभयो । अब हामीले केही गर्नुपर्छ ।’

सगरमाथाको सफल आरोहणपछि घर फर्किएर बाबाले यात्राबारे उनलाई सुनाउँछन् । जाने बेला पनि कुराकानी हुन्छ । तर गैसकेपछि उस्तो कुराकानी सम्भव हुँदैन । टपमा जानुअघि म्यासेज भने गरिराख्छन् ।

‘बाबा जाँदा समाचारहरु आइरहेको हुन्छ । नराम्रो समाचार आउँदा भने डर लाग्छ । कुन बेला मौसम के हुन्छ भन्ने थाहा हुँदैन । मौसमले साथ देओस् भन्ने हुन्छ । हामीले यहाँ बसेर गर्ने त प्रार्थना नै हो । अरु त केही गर्न सकिँदैन’ उनले भने ।

सगरमाथाको चुचुरोमा पुग्नु सामान्य कुरा होइन । अझ त्यो पनि २२ पटकसम्म । यसैले होला विश्वकै उचो शिखर सगरमाथा राष्ट्रभक्तिको अटल बिम्बको रुपमा प्रयोग हुने । तर, मानिसलाई अप्ठेरो, अनौठो र साहसिक काम लागेको सगरमाथा आरोहण कीर्तिमानी कामिरिताका लागि सामान्य नै छ ।

सगरमाथाको चुचुरोमा कीर्तिमान बनाएर आइतबार सोलुखुम्बुको लुक्लाबाट काठमाडौं फर्किएका उनले आफ्नो सगरमाथा आरोहण सामान्य पेशासँग तुलना गरिदिए । हरेकले आफ्नो र परिवारको लालनपालनका लागि गर्ने विभिन्न काम जस्तै हो कामिरिताका लागि सगरमाथा आरोहण ।

‘२५ वर्ष अघिदेखि निरन्तर गइरहेको नै हो । ट्याक्सी ड्राइभरले ट्याक्सी चलाएजस्तै हो मैले सगरमाथामा अरुको लागि गाइड गर्नु । यसमा नयाँ कुरा त केही होइन । यसपटक कीर्तिमान बनेकाले अलि भिन्न भयो’ आफ्नो कीर्तिमानलाई रोजिरोटीको सामान्य पेशामार्फत बुझाउँदा कामिरिताको अनुहारमा श्लेष पनि घमण्ड थिएन । आफू गाइड भएकाले सगरमाथामा अरुका लागि गाइड गर्दै धेरै पटक गएको उनले बताए ।

‘यसपटक राष्ट्रको लागि पनि खुशीको कुरा भयो । मेरो ज्यानको अवस्था ठीक भयो भने अर्को पटक पनि जान्छु’ उनले भने । मानिसहरुले महत्वका साथ स्वागत गर्दाको खुशी भने उनको अनुहारमा देखिन्थ्यो ।

आफ्नो शरीरको अवस्था ठीक भयो भने फेरि नयाँ कीर्तिमान बनाउने बताएका उनले सगरमाथा चढ्नकै लागि अहिलेसम्म केही अभ्यास गर्नुनपरेको सुनाए ।

‘वर्षमा दुई/तीन पटक सगरमाथातिर गइरहेको हुन्छु । स्वास्थ्यले साथ दियो भने अर्को पटक जानु पनि नौलो कुरा होइन । यसपटक त्यस्तो अप्ठेरो केही परेन । अहिलेसम्म हिमालको देउताले मलाई साथ दिएको छ’ उनले भने ।

कामिरितासहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही थिए । त्यही दिन उनीहरुसहित ९४ जना सगरमाथाको चुचुरोमा पुगेका थिए ।

यसअघि आप्पा शेर्पा र फुर्वा तासि शेर्पासहित कामिरिताको नाममा २१ पटक सगरमाथा पुगेको कीर्तिमान थियो । २२ औँ पटक सगरमाथा पुगेर कामिरिताले विश्व कीर्तिमान आˆनो नाम राखेका हुन् । आप्पा र फुर्वाले सगरमाथा आरोहणबाट छाडिसकेका छन् ।

सोलुखुम्बुको थाने घर भएका कामिरिता सबैभन्दा पहिले सन् १९९४ मा २२ वर्षको उमेरमा नै सगरमाथाको शिखरमा पुगेका थिए । दुई वर्ष पहिले उनी चीनतर्फबाट पनि सगरमाथाको शिखरमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment