७ जेठ, वीरगञ्ज । पर्सा प्रहरीले अबैध लागू औषध इन्जेक्सनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका-५ भीष्वा बस्ने ३० वर्षीय नन्दु महतो कोइरी रहेका छन् ।
पर्सा पकहामैनपुर गाउँपालिका- ५ धोवीया टोलस्थित सबैठवाबाट काठमाडौंका लागि बस कुरिरहेका कोइरीमाथि खानतलासी गर्दा लागू औषध इन्जेक्सन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कोइरीले झोलाभित्र पत्रिकामा पोको पारी बाहिरबाट टेपले बेरेर राखेको अवस्थामा फेनारगन ५०० एम्पुल, डाइजेपाम र नुर्फिन ५/५ सय एम्पुल गरी १५ सय एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
नियन्त्रित लागु औषधसहित पक्राउ परेका नन्दु महतो कोइरीलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखी लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
कोइरीले हालसम्म ५-६ पटक यही प्रक्रियाबाट लागू औषध ओसार पसार गरेको र त्यस वापत प्रत्येक पटक नगद २० हजार पाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया 4