Comments Add Comment

रियल मड्रिड भर्सेस लिभरपुल : विश्वकपअघिको ठूलो खेल

पाँच भिडन्त जसले फेरिन सक्छ नतिजा

११ जेठ, काठमाडौं । सिजनको अन्तिम तथा विश्वकपअघिको महत्वपूर्ण खेल च्याम्पियन्स लिग फाइनलमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब रियल मड्रिड भिड्दै छन् । खेल नेपाली समय अनुसार शनिबार राति साढे १२ बजे हुनेछ ।

२०१२ को युरो कप फाइनल भएको युक्रेनको राजधानी किभको एनसीएस ओलम्पियास्की स्टेडियममा हुने खेलका लागि दुवै टोली किभ पुगिसकेका छन् । जुन स्टेडियममा ६३ हजार दर्शक अट्ने क्षमता रहेको छ ।

डिफेन्डिङ च्याम्पियन रियल मड्रिड समूह चरणमा दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको थियो । मड्रिड अन्तिम १६ को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई समग्रमा ५-२ को अन्तरले हराउँदै वाक्टरफाइनलमा पुगेको थियो । रियलले क्वार्टरफाइनलमा युभेन्टसलाई ४-३ ले र सेमिफाइनलमा बायर्न म्युनिखलाई पनि समग्रमा ४-३ ले हराउँदै फाइनलमा पुगेको हो ।

गएको सिजन इंग्लिस पि्रमियर लिगमा चौथो स्थानमा रहेर प्ले अफमा जर्मन क्लब होफेनहेमलाई ६-३ ले हराउँदै च्याम्पियन्स लिगमा स्थान बनाएको लिभरपुल समूह चरणमा शीर्ष स्थानमा रहेको थियो । लिभरपुलले अन्तिम १६ को खेलमा एफसी पोर्टोलाई ५-० ले हराएको थियो । यस्तै लिभरपुलले क्वार्टरफाइनलमा म्यानचेस्टर सिटीलाई ५-१ ले र सेमिफाइनलमा रोमालाई ७-६ ले हराएर फाइनलमा पुगेको हो ।

दुवै टिमका लागि सिजनको महत्वपूर्ण उपाधि दिलाउन केही खेलाडी महत्वपूर्ण मानिएका छन् ।

क्रिष्टियानो रोनाल्डो भर्सेस ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड

आर्नोल्डका लागि फाइनल खेल एउटा नयाँ अवसर र चुनौती बराबर हो । उनको महत्वपूर्ण प्रशिक्षण र आगामी अवसर मड्रिडसँगको फाइनल खेलले फरक पार्ने छ । विशेष गरी रोनाल्डोलाई रोक्ने चुनौती उनमा हुनेछ ।

‘रोनाल्डोसँग खेल्न पाउनु नै महत्वपूर्ण कुरा हो । उनलाई रोक्न र आफ्नो खेल देखाउन मेरा लागि राम्रो अवसर हुनेछ’ आर्नोल्डले भनेका छन् । उनी आउँदो रसिया विश्वकपका लागि इंग्ल्याण्डको टिममा पनि परेका छन् । यसले उनलाई थप हौसला मिलेको छ ।

रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा १५ गोल गरिसकेका छन् । फाइनल खेलमा उनको उत्साह र खेल क्षमता झनै बढ्ने गर्दछ । हेडिङ, ट्याप-इन, लङ रेञ्ज स्ट्राइक, ओभरहेड किक हरेक तरिकाले रोनाल्डो आफूलाई उत्कृष्ट सावित गरिरहेका छन् ।

मोहम्मद सलाह भर्सेस मार्सेलो

रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो राम्रो लयमा छन् । रियल मड्रिडले जितेका महत्वपूर्ण खेलहरुमा उनले डिफेन्स लाइन मात्रै होइन फ्रन्ट लाइनमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

क्रिष्टियानो रोनाल्डोसँगको तालमेलमा बल अघि बढाउँदै लामो पास खेल्नु उनको प्रमुख विशेषता बनेको छ । यस्तोमा लिभरपुलसँग भने उनलाई थप चुनौती मोहम्मद सलाहलाई रोक्नु हुनेछ ।

मोहम्मद सलाहको जादु यो सिजन राम्रै गरी चलेको छ । उनको उत्कृष्ट र्फम र गोल गर्ने क्षमताले फाइनलमा उनको उपस्थिति प्रमुख छ । सलाहले फाइनलमा गर्ने प्रदर्शन विश्व फुटबलमा नयाँ खेलाडीको दबदबा सुरु गर्न पनि महत्वपूर्ण सावित हुनेछ । सलाहले यो सिजन च्याम्पियन्स लिगमा १० गोल गरिसकेका छन् ।

करिम बेन्जेमा भर्सेस भर्गिल भ्यान जिक

मड्रिडबाट सुरुवाती ११ मा करिम बेन्जेमा राम्रो फिनिसरका रुपमा रहने छन् । विपक्षी  डिफेन्सले रोनाल्डोमा दिने मुख्य ध्यान बेन्जेमाका लागि अवसर हुन सक्छ ।

ला लिगामा राम्रो प्रदर्शन गर्न नसके पनि बेन्जेमाले च्याम्पियन्स लिगमा लयमा रहेको प्रमाणित गरिसकेका छन् । बायर्न म्युनिखसँगको सेमिफाइनल खेलमा राम्रो गरेकाले पनि उनी टिमका लागि महत्वपूर्ण छन् ।

लिभरपुलका लागि भर्गिल डिफेन्स लाइनका मुख्य खम्बा नै हुन् । डिफेन्स लाइन एक ढिक्का बनाउन र विपक्षीको आक्रमण विफल पार्न उनको खेल प्रमुख रहने गर्दछ । उनी शारीरिक रुपमा पनि बलियो रहेकाले मड्रिडका लागि चुनौती बन्न सक्छन् ।

लुका मोडरिक भर्सेस जेम्स मिलनर

लिभरपुलको सुरुवाति ११ बाट जेम्स मिलनरको भूमिका महत्वपूर्ण हुनेछ । जहाँ उनले मड्रिडका लागि गोल असिस्ट गर्न महत्वपूर्ण मानिएका लुका मोडरिकको जस्तै उपस्थिति लिभरपुलका लागि देखाउन सक्छन् ।

मिलनरलाई लिभरपुलको राइट मिडफिल्डबाट फाइनल उतार्ने तयारी गरिएको छ । लुका मोडरिक मड्रिडको मिडफिल्डमा लेˆटबाट हुने छन् ।

सन् २०१२ मा रियल मड्रिड आएसँगै मोडरिक मिडफिल्डका उत्कृष्ट खेलाडीको रुपमा चिनिएका छन् । उनले आफ्नो टिमका लागि यसपटक सात गोलको अवसर सिर्जना गरेका छन् । जसमा चार गोल रोनाल्डोका लागि थियो ।

उता लिभरपुलका मिलनर आफ्नो डिफेन्सिभ भूमिकाका लागि पनि चिनिएका छन् । उनले गोलको लागि सहयोग गर्नुका साथै उत्कृष्ट डिफेन्सको भूमिका पनि निभाउन सक्छन् ।

जोर्डन हेन्डरसन भर्सेस टोनी क्रुस 

लिभरपुलका कप्तान जोर्डन हेन्डरसन खेलमा आफ्नो दोहोरो भूमिकाका लागि परिचित छन् । उनी टिमको आक्रमणको मेलो मिलाउने र डिफेन्स लाइन बलियो पार्ने उत्कृष्ट क्षमतामा प्रस्तुत हुन्छन् । विपक्षीको गल्तीको फाइदा उठाउँदै आक्रमणमा बढ्ने उनमा विशेष क्षमता छ ।

रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस राम्रो पास मिलाउन र आक्रमणको लाइन बढाउनका लागि मुख्य भूमिकामा हुन्छन् । उनलाई बार्सिलोनाका पूर्व खेलाडी जाभीले ‘रियल मड्रिडको खेलमा मुख्य इन्जिन’ भन्दै तारिफ गरेका थिए । जाभीले भनेजस्तै क्रुसले मड्रिडको खेल मिलाउन राम्रो तालमेल गर्ने गर्दछन् ।

यस्तो छ इतिहास

७ पटक च्याम्पियन्स लिग फाइनल खेलेको लिभरपुलले ५ पटक उपाधि जितेको छ । १५ पटक फाइनलमा पुगेको रियल मड्रिड १२ पटक विजेता बनेको छ ।

गएको दुई सिजन लगातार रियल मड्रिडले च्याम्पियन्स लिग जितेको थियो । यसपटक जित्न सके पछिल्लो पाँच सिजनमा रियल मड्रिडको चौथो च्याम्पियन्स लिग उपाधि हुनेछ । सन् २०१३/१४ को सिजन रियल मड्रिडले च्याम्पियन्स लिग जितेपछिको एक सिजन बार्सिलोना विजयी भएको थियो ।

सन् १९८०/८१ को सिजन पछि फाइनलमा पुगेर रियल मड्रिड पराजित भएको छैन । त्यो समय च्याम्पियन्स लिगलाई युरोपियन कप भनिन्थ्यो । त्यसबेला लिभरपुलसँगै हारेको रियल मड्रिडले त्यसपछि ६ पटक उपाधि जितिसकेको छ ।

लिभरपुल सन् २००७ पछि पहिलोपटक फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो पटक च्याम्पियन्स लिग जितेको सन् २००४/५ को सिजन हो । पछिल्लो १० सिजनमा जम्मा दुई पटक इंग्लिस क्लबले च्याम्पियन्स लिग जितेका छन् । सन् २००७/८ को सिजन म्यानचेस्टर युनाइटेड र २०११/१२ को सिजन चेल्सीले जितेको थियो ।

च्याम्पियन्स लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने कीर्तिमान रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको नाममा छ । रोनाल्डोले १५२ खेलमा १२० गोल गरेका छन् ।

आमने सामने हुँदा

यसअघि रियल मड्रिड र लिभरपुलबिच च्याम्पियन्स लिगमा ५ पटक भेट भएको छ । जसमा लिभरपुलले तीन पटक जितेको छ भने रियल मड्रिडले दुई पटक जितेको छ ।

पछिल्लो पटक सन् २०१४/१५ को सिजन समूह चरणमा भेट हुँदा दुवै खेल रियल मड्रिडले जितेको थियो । जसमा पहिलो खेलमा ३-० र दोस्रोमा १-० ले रियल लिभरपुलमाथि हाबी भएको थियो । जहाँ १ गोल रोनाल्डोले गरेका थिए भने दुई गोल बेन्जेमाले गरेका थिए ।

सन् २००८/९ को सिजन नकआउट राउण्डमा भेट हुँदा दुवै खेल लिभरपुलले जितेको थियो । पहिलो खेल १-० ले जितेको लिभरपुलले दोस्रो खेलमा रियललाई ४-० को फराकिलो अन्तरमा हराएको थियो ।

सन् १९८०/८१ को सिजन फाइनल खेलमा रियल मड्रिड १-० ले लिभरपुलसँग नै पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment