Comments Add Comment

ठूला सीसीका सवारीमा कर बढ्ने चर्चा, भन्सारमा थन्किएका गाडी धमाधम छुट्दै


११ जेठ, काठमाठडौं । सरकारले निजी प्रयोजनका सवारीमा सवारीको इन्जिन क्षमताअनुसार नयाँ कर निर्धारण गर्ने तयारी गरेको छ । नयाँ बजेटमार्फत यस्तो व्यवस्था गर्न सरकारले गृहकार्य गरेेको हो ।

ठूला सीसीका सवारीमा कर बढ्ने चर्चा चलेपछि भन्सारहरुबाट गाडी छुट्ने क्रम बढेको छ । सरकारले १२ सय सीसीभन्दा बढीका गाडीको आयातलाई निरुत्साहन गर्ने नीति बजेटमार्फत लिने चर्चा बजारमा चुलिएको छ । ठूला इन्जिन क्षमताका महंगा गाडीमा पनि स्ल्याबहरू तोकेर करको दर बढाउने सुँइको व्यवसायीले पाएका छन् ।

यसो भएमा सवारीको मूल्य बढ्न सक्ने अनुमान व्यवसायीको छ । पछिल्लो ११ दिनमा झण्डै ८ सयभन्दा बढी थन्किएका सवारी भन्सार पास भएका छन् ।

कर बढ्ने विषयको सूचना अर्थ मन्त्रालयबाटै चुहिएपछि गाडीको आयातमा एकाएक बढोत्तरी भएको हो । वीरगञ्ज भन्सार कार्यलयका अनुसार पछिल्ला दिनमा थन्क्याएर राखिएका गाडी पनि व्यवसायीले धमाधम छुटाएका छन् ।

सरकारले यस वर्ष १५० सीसीभन्दा बढी क्षमताका बाइक र १२ सय सीसीभन्दा ठूला सवारीमा अन्तःशुल्क बढाउने तयारी गरेको सूचना व्यवसायीसम्म आईपुगेको छ ।
यसवर्ष सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पटक-पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका छन् ।

नाडा अटोमोबल्सि एशोसियशनको साधारणसभामा उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई अाधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए । उनले खुला आयात नीतिको फाइदा उठाएर अनावश्यक रुपमा हुने आयात नियन्त्रण गर्ने संकेत गरेका थिए ।

उत्पादनशीलता र आवश्यकतालाई ध्यानमा राखेर नयाँ कर निर्धारण गर्ने सरकारको योजनालाई सुक्ष्म रुपमा विश्लेषण गरेर भन्सारमा रोकिएका गाडी पनि जाँचपास गर्न व्यवसायी लागेका छन् ।

गत वर्षहरुमा पनि बजेटको अघि धेरै सवारी भन्सार छुट्ने गरेका थिए । तर, यसवर्ष गतवर्षहरुमा भन्दा निकै फरक अवस्था देखिएको छ ।

अब बजेट आउन ३ दिनमात्रै बाँकी छ । व्यवसायीले गत हप्ता रोकिएका सवारी छुटाउन निकै कसरत गरेको वीरगञ्ज भन्सार कार्यालयका एक अधिकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment