१३ जेठ, कैलाली । प्रदेश ७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक जना व्यक्तिलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ । गोली लागेर घाइते निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयबासी रमिते बनेको बताए ।
कार्कीको पाखुरा र छातिमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली बरामद गरेको छ ।
सेती अञ्चल अस्पतालको शय्याबाट कार्कीले अनलाइनखबरसँग घटनाबारे यसरी बेलिबिस्तार लगाए-
मेरो नाम निर्मल कुमार कार्की हो । म आईएमईमा काम गर्छु । हरेक दिन बिहान बैंकमा पैसा लिन आउँथें । आज बिहान पनि पैसा लिन आएँ । सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै मलाई गोली हानेर लुटियो ।
पैसा लिएर आईएमईको कार्यालय जाँदै थिए, मलाई पिछा गर्दै आएका दुई जनाले मूल सडकमै मलाई गोली प्रहार गरे । उनीहरुले मलाई गोली हानेर मेरो साथमा रहेको साढे नौ लाख रुपैयाँ लुटेर लगे ।
गोली लागेपछि म ढलें । मोटरसाइकलमा रहेका दुई जना मध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लग्यो । छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन ।
लुटेराहरुले मास्क प्रयोग गरेकोले मैले उनीहरुलाई चिन्न सकिनँ ।
प्रहरी र दर्जनौं व्यापारीहरुको अघिल्तिरबाटै लुटेराहरु गोली हानेर, लुटेर भाग्दा पनि न प्रहरीले पक्रन सक्यो, न अरु मान्छेले समात्ने प्रयास गरे ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4