
१५ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेपछि फुटबलर अञ्जन केसीले सट्टाबाजको धन्दा सुरु गरेको खुलेको छ ।
म्याच फिक्सिङ प्रकरणमा ५ लाख रुपैयाँ धरौटी तिरेर छुटेपछि केसीले अन्तर्राष्ट्रिय गिरोहसँगको सहयोगमा क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय खेलहरुको आधारमा अनलाइनमार्फत जुवा खुलाउने काम थालेको खुलेको हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका क्रिकेट र फुटबलको लोकप्रिय म्याचहरुमा अनलाइन बेटिङ गरेर जुवा खेलाएको आरोपमा केसीलाई प्रहरीले पक्राउ गरेसँगै उनको यो धन्दा सतहमा आएको हो ।
‘केसीले दुई वर्षअघिबाट अनलाइन बेटिङबाट जुवा खेलाउने कार्यमा संलग्न रहेको स्वीकारेका छन्’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘उनी धरौटीमा छुटेपछि यो काममा संलग्न भएको देखिएको छ ।’
‘खेलाडी भएकाले उनीसँग त्यसबारे राम्रो ज्ञान थियो । सोही कुराको आडमा उनी सट्टाबाजीमा लागेको देखिएको छ’, ती अधिकारीले भने ।
परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार केसीले अनलाइन बेटिङका लागि ललितपुर जिल्लाको एजेन्टको रुपमा काम गरेका थिए ।

उनका अनुसार परिसरको प्रारम्भिक अनुसन्धानले हालसम्म केसीको एकाउन्टबाट मात्रै दुई करोड ७७ लाख ५ हजार रुपैयाँ बराबरको जुवा खेलाइएको भेटिएको छ ।
‘उनले भारतमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल र युनियन अफ यूरोपियन फुटबल एसोसिएसनको फुटबल प्रतियोगितामा अनलाइन बाजी लगाउनलाई एजेन्टको रुपमा काम गर्ने गरेका थिए’, पोखरेल भन्छन्, ‘खेलमा हुने जीतहार, गोल र रनको आधारमा उनले जुवा खेलाउँदै थिए ।’
तिवारीले सुरुमा भारतीय नागरिक नागराज भनिने अमृत अग्रवालसँग मिलेर सट्टेबाजी गर्ने गरेका थिए । तर, अग्रवालसँग लेनदेनको विवाद भएपछि उनी आफैंले अन्तर्राष्ट्रिय एजेन्टसँग सम्पर्क बढाएका थिए ।
सिनेमा सञ्चालक नेपाली नाइके
काठमाडौं प्रहरीले चलाएको अपरेसनको क्रममा फुटबलर केसीसहित ६ जना पक्राउ परेका थिए । जसमध्ये गौरव तिवारी मुख्य एजेन्ट भएको खुलेको छ ।
तिवारी सुन्धारास्थित सिभिल मलमा रहेको टुवेल डी सिनेमाका सञ्चालक हुन् । उनले सुरुमा भारतीय नागरिक नागराज भनिने अमृत अग्रवालसँग मिलेर सट्टेबाजी गर्ने गरेका थिए । तर, अग्रवालसँग लेनदेनको विवाद भएपछि उनी आफैंले अन्तर्राष्ट्रिय एजेन्टसँग सम्पर्क बढाएका थिए ।
‘नागराजसँग विवाद भएपछि तिवारी आफैंले लन्डनबाट मास्टर एकाउन्ट वेवसाइटबाट ‘गौरव थ्री हन्ड्रेड एसी’ नामक एकाउन्ट खोलेका थिए’, परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले भने, ‘उनले मास्टर एकाउन्टबाट थप २४ वटा एकाउन्ट खोलेर अनलाइन वेटिङ गर्ने गरेको भेटिएको छ ।’
थापाका अनुसार तिवारीको एकाउन्टबाट ७ करोड ४७ लाख दुई हजार रुपैयाँ बराबरको बेटिङ भएको तथ्य भेटिएको छ । पक्राउ परेका अर्का व्यक्ति भुपेन्द्र शम्शेर कुँवरले गौरवको नजिकको व्यक्ति भएर बेटिङ गराउँदै आएको प्रहरीको भनाइ छ । उनले ०७२ सालदेखि तिवारीसँग मिलेर कारोबार थालेका थिए ।
परिसरका अनुसार कुँवरको एकाउन्टबाट मात्रै आईपीएल खेलमा ३ करोड २२ लाख ९७ हजार रुपैयाँको बेटिङ लगाइएको भेटिएको छ ।
उनकै माध्यमबाट एक वर्षदेखि विजय श्रेष्ठले पनि सट्टेबाजी खेल्दै र खेलाउँदै आएको भेटिएको छ । त्यसका लागि भूपेन्द्रले उनको नाममा ‘गणेशा ८९४’ नामक एकाउन्ट बनाइदिएका थिए ।
श्रेष्ठले आफ्नो साथी नरेन्द्र सुवाललाई एक वर्षदेखि यो धन्दामा संलग्न गराएका थिए । सुवालको खाताबाट ७७ लाख रुपैयाँको कारोबार भएको देखिएको छ ।
प्रहरीले पक्राउ गरेको दिनेश बोगटी मुख्य नाइके तिवारीको सहयोगी रहेको प्रहरीले जनाएको छ । ‘तिवारीको अनलाइन बेटिङवापतको रकम एजेन्टसम्म पुर्याउने र एजेन्टबाट तिवारीसम्म ल्याउने काममा उनी संलग्न भएको खुलेको छ’, परिसरका डिएसपी थापाले भने ।
प्रहरीको फन्दामा परेको चाल पाउने वित्तिकै विदेशी एजेन्टले एकाउन्टमा कारोबार नै नभएको देखाउन कारोबार शून्यमा झारेका छन्
पक्राउ परिसक्दा कारोबार ‘शून्य’ !
प्रहरीले अनलाइन बेटिङमा गराएको आरोपमा ८ जनालाई पक्राउ गर्यो । तर, अहिले उनीहरुको एकाउन्टमा कारोबार भएको रकम शून्यमा झरेको छ ।
‘प्रहरीको फन्दामा परेको चाल पाउने वित्तिकै विदेशी एजेन्टले एकाउन्टमा कारोबार नै नभएको देखाउन कारोबार शून्यमा झारेका छन्’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘तर, हामीले त्यसअघि नै उनीहरुको कारोबार हात पारिसकेका थियौं ।’
उनका अनुसार तिवारीको समूहबाट २५ हजार रुपैयादेखि १५ लाख रुपैयाँसम्म बेटिङ लगाइएको भेटिएको छ ।

कसरी हुन्छ बेटिङ ?
प्रहरीका अनुसार यसरी नेपालमा अन्तर्राष्ट्रिय खेलहरुमा बेटिङ गर्ने विभिन्न गिरोह सक्रिय छन् । तिवारीका पूर्व नाइके नागराजको गिरोह पनि अहिले काठमाडौंमा सक्रिय रहेको बताइएको छ ।
ती गिरोहका बेटिङ खेलाउने मुख्य व्यक्तिले लन्डन, यूएई लगायतका देशबाट सञ्चालिन विभिन्न मास्टर एकाउन्ट वेवसाइटको एकाउन्ट बनाउँछन् ।
ती व्यक्तिले आफ्नो माध्यमबाट अन्य एजेन्टहरुलाई पनि सब-एकाउन्ट बनाइदिन्छन् । त्यसपछि उनीहरुले विभिन्न खेलमा बेटिङका लागि व्यक्ति खोज्छन् ।
‘एकाउन्ट बनेपछि ५ हजारदेखि १० हजारसम्म वा एजेन्टको अनुकुलता अनुसार सानासाना रकमको माथिल्लो स्तरमा रिपोर्टबिनै बाजी खेलाइन्छ’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘रकम लाखमा हुँदा वा त्योभन्दा बढी हुँदा नेपालको मुख्य एजेन्ट वा भारततिरका एजेन्टलाई त्यो रकम पठाउने गरिन्छ ।’
सानो रकममा हारे पनि जिते पनि आफैं कारोबार गर्ने सर्त हुने ती अधिकारी बताउँछन् । उनका अनुसार अन्य एजेन्टलाई रकम पठाएवापत उनीहरुले निश्चित प्रतिशत कमिसन पाउँछन् ।
यो पनि पढ्नुस्
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4