Comments Add Comment

प्रचण्डका घरबेटी पनि ‘कामचोर’ ठेकेदार !

२० जेठ, काठमाडौं । कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो । तर, निर्माणको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले अबको जेठमा पनि यसको काम सक्न मुस्किल छ ।

१६ किलोमिटर सडक बनाउन शैलुङले अझै कति वर्ष लगाउने कुनै टुंगो छैन । भारतीय एक्जिम बैंकको ३० करोड लगानी रहेको सडकको काम राम्रोसँग नभएपछि भुक्तानीमा पनि समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

भक्तपुरको बिष्णु कुण्डली-सिद्धीकाली सडकमा पनि शैलुङसँगै ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । यो खण्डको काम पनि म्याद थपेर त्यसै राखिएको छ ।

०००

नागढुंगा-कलंकी सडक खण्डको हालत पनि उस्तै छ । यो सडकको सबै खण्डमा शैलुङको विभिन्न जोइन्टभेन्चर कम्पनीसँग ठेक्का छ । मुख्य रुपमा सडकमा उसले काम गरिरहेको छ । यो सडक विस्तारमा भएको ढिलासुस्ती र लापर्वाहीले स्थानीयलाई धुलो मात्र खुवाएको छैन, यात्रुलाई त्यतिकै सास्ती दिएको छ ।

ठेकेदार कम्पनी शैलुङले घरजग्गाको मुआब्जाको विवादले काम सुस्त भएको दावी गर्दै आएको छ । तर, काम गर्न सहज वातावरण भएका स्थानमा पनि सडकको हालत उस्तै छ । अनेक बाहनाबाजी झिकेर काम हुन सक्ने क्षेत्रमा पनि अल्झाएर राखेको सडक विभागका एक उच्च अधिकारीले बताए ।

कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो । त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी-शैलुङ-साप जेभीको जिम्मामा छ । यो खण्डमा पनि असोजपछि म्याद थपिएको छ ।

नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा-शैलुङ-कान्छाराम जेभीले निर्माण गर्दैछ । यो खण्डको पनि काम सक्न बाँकी नै छ । केही खण्डमा बल्ल पिच भएको छ ।

०००

ललितपुरको ढोलाहिटी-सुनकोठी-चापागाउँ-लेले सडकको एक खण्डमा दिवा-शैलुङ जेभीले विस्तार गर्दैछ । उपत्यका सडक विस्तार आयोजनासँग भएको सम्झौता सकिन ६ महिना बाँकी छ । तर, अहिलेसम्म कम्पनीले खासै चासो दिएको छैन ।

०००

सडक विभागका अधिकारीहरुका अनुसार वनस्थली-बालाजुचौकी-बोराटार सडकखण्डमा पनि शैलुङको त्यही शैली हावी छ । १४ करोड रुपैयाँमा ठेक्का परेको यो सडक अझै पनि भइसकेको छैन । शैलुङ कन्ट्रक्सनले यो काम कहिले सक्छ भन्ने टुंगो अझै लागेको छैन । स्थानीयले सडक निर्माणमा भएको विवाद समाधान गरेर छिटो काम सकाउन पटक-पटक ध्यानाकर्षण नगराएका हैनन् । तर काम भने भएको छैन ।

गोपीकृष्ण हलदेखि कपनसम्म धोबीखोला करिडोर निर्माणमा पनि शैलुङको कार्यशैली त्यस्तै छ ।

कपन क्षेत्रमा ३ वटा सडकका ठेक्का यही कम्पनीले पाएको छ । समयमै काम नभएर एउटाको म्याद थपिसकिएको छ भने एउटाको म्याद थप्न डिभिजन सडक कार्यालयले विभागलाई पत्र लेखेको छ । अर्को सडकको पनि काम समयमै सकिने अवस्था आएको डिभिजन सडक कार्यालयका एक अधिकारीले बताए ।

०००

शैलुङ कन्ट्रक्सनका सञ्चालक शारदा अधिकारी तीनै हुन्, जसको घरमा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच थुप्रै पटक वार्ता भएको छ ।

अहिले पनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड उनकै खुमलटारस्थित घरमा बसेका छन् ।

अधिकारीको शैलुङ कन्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको पाइप हालेपछि सडक पुर्नेदेखि सडक बनाउनेसम्म दजनौं ठेक्का पाएको छ । लो बिड गरेर ठेक्का हात पारेका उनले कुनै पनि काम समयमा गरेको रेकर्ड भने छैन ।

‘क’ वर्गको कम्पनी भए पनि शैलुङ कन्ट्रक्सनको कार्यशैली पेटी ठेकेदारको भन्दा पनि कमजोर देखिएको छ । ‘उच्च तहको राजनीतिक संरक्षण पाएका ठेकेदारलाई हामीले चेतावनीसम्म पनि दिन सकेका छैनौं । उसलाई मन लाग्दा काम गर्छ, म नलाग्दा गर्दैन’ सडकका एक अधिकारी भन्छन्, ‘उनीहरुविरुद्ध एक्सन लिने मात्र होइन, केही बोल्यो भने हामीलाई नै सरुवा गरिदिन्छन् ।’

सडक विभागका अधिकारीहरुलाई सबैभन्दा तनाव दिने कम्पनीमा शैलुङ दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सन छ । ‘शैलुङले अत्याधिक लो बिड हाल्छ । त्यो भएपछि ठेक्का पाउने भइहाल्यो’ विभाग स्रोत भन्छ, ‘अर्बौं रुपैयाँको ठेक्का पारेपछि काम गर्न सक्दैन ।’

गृहमन्त्री रामबहादुर थापा बादलले ‘कामचोर’ ठेकदारहरुको सूची तयार पार्न निर्देशन दिएपछि सडकका अड्डादेखि स्थानीय सरकारहरुले धमाधम सूची बनाइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले ३५० सडकमा काम गरिरहेका ठेकेदारहरुको सूची बनाएको छ । शैलुङ कन्स्ट्रक्सनले अधिकांश ठाउँमा समयमा काम नगरेको पाइएको छ । गत साउनमा नै काम सक्नुपर्ने सिद्धार्थ मार्ग बुद्धनगर र रत्नराज्य स्कुल पाण्डेश्वर मन्दिर सडकमा भर्खर २६ प्रतिशत काम भएको छ ।

काठमाडौं १६ को पुलिस चौकी उत्तरतर्फ हुँदै बोहोराटार-बनस्थली सडक शैलुङले गत असोजमा नै सक्नु पर्ने हो तर, भर्खर ३० प्रतिशत काम भएको छ । यो सबैले देखाउँछ कि काठमाडौंको ‘कामचोर’ ठेकेदारमा शैलुङ पनि एक हो ।

अब हेर्न बाँकी छ, गृहमन्त्रीले आफ्नै पार्टी अध्यक्षका घरवेटीलाई कारबाही गर्छन् कि गर्दैनन् ?

यी पनि पढ्नुस्

सडक र पुलमा ‘पप्पु’को रजगजः सडक विभागका अधिकारी भन्छन्, हामी निरीह छौं

‘ठेकेदारलाई जेल हाल्ने कामको शुरुआत कलंकी–नागढुंगाबाट होस्’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment