Comments Add Comment

‘ठेकेदारलाई जेल हाल्ने कामको शुरुआत कलंकी–नागढुंगाबाट होस्’


  1. चन्द्रागिरि नगरपालिका काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाका हो । नागढुंगा नाका हुँदै दैनिक सयौं गाडीहरु ओहोरदोहोर गर्दछन् । नागढुंगाबाट प्रवेश गर्नासाथ देखिने काठमाडौंको दृष्यले संघीय राजधानी यस्तो रहेछ भनेर आम मानिसको धारणा बन्ने गर्दछ । त्यसैले चन्द्रागिरि नगरपालिकाले गर्ने कामकाजमा सिंगो काठमाडौं उपत्यकालाई प्रतिविम्बित गर्दछ ।

यसै सन्दर्भमा हामीले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिसँग कुराकानी गरेका छौं । उनले नागढुंगा–कलंकी सडकखण्डको काममा भएको ढिलासुस्तीले अरु काम गर्न नसकिएको बताए । काम नगर्ने ठेकेदारलाई जेल हाल्ने शुरुआत यहीँबाट गर्न उनले गृहमन्त्रीलाई सुझावसमेत दिए ।

तपाईं मेयर बनेदेखि अहिलेसम्म उल्लेखनीय के काम गर्नुभयो ?

हामी जेठ ५ गते बहाली भएका हौं । नगरपालिका कार्यसन्चालन नियमावली, कार्यादेशहरु नआइसकेको हुनाले दुई–चार महिना त्यत्तिकै अलमलमा बित्यो । कार्यादेश आइसकेपछि नगरपालिका र कार्यपालिका बोर्डबाट त्यसलाई पारित गरेर नियमित काम सुरु गर्‍याैं । लगत्तै फेरि बजेट बनाउने कार्यक्रम आयो । हतार हतारमा बजेट निर्माण गर्‍याैं । नगरपरिषद र नगरसभा बस्यो । नगरपालिकाको प्रारम्भिक चरणमा आएका धेरै कामहरु अघि बढायौं । त्यसक्रममा केही कमीकमजोरीहरु पनि भए होलान् तर पनि हामीले बजेटहरु वडा वडामा पठाएका छौं । हाम्रो नगरपालिकामा १५ वटा वडा छन् । हरेक वडामा दुई–दुई करोडको दरले बजेट पठाएका छौं । जनताको घरआँगनमै सिंहदरबार पुगेको अनुभूति गराएका छौं ।

मुख्य कुरा त ऐन नै आइसकेको थिएन । संघ र प्रदेशका केही ऐनहरु आउनै बाँकी छन् । त्यसैले कतिपय कुराहरुमा अझै पनि असहज अवस्था छ । हामीले पनि हतारमा आएका योजनाहरुलाई बीचमा संशोधन गर्नुपर्ने अवस्था आइपर्‍याे । हामीले संशोधन गरेर पनि काम गरेका छौं ।

तर तपाईंका नगरबासीले त जनप्रतिनिधि पाएको–नपाएको अझै उस्तै अवस्था छ भनिरहेका छन् नि ?

जनताले आफ्नो अगाडि आइपर्ने तत्कालीन समस्यामात्र हेर्ने हो । कसलाई के समस्या परेको छ, त्यही नै ठूलो देख्ने गरिन्छ । नगरपालिकाका प्राय सबै वडाहरुमा, टोलहरुमा कामहरु भइरहेका छन् । नगरपालिकाको उपस्थिति, सरकारको उपस्थिति सबै ठाउँमा गराएका छौं । पूर्वाधारहरु निर्माण गर्ने, सिपमुलक तालिम चलाउने लगायतका कामहरु पनि भइरहेका छन् ।

हाम्रो लक्ष्य भनेको सबै ठाउँमा राम्रो र टिकाउ बाटो पुर्‍याउने हो । अहिले कलंकी–नागढुंगाको बाटो बिस्तार हुँदै गरेकाले केही समस्या देखिएको छ । अहिले धूलो, हिलो, ट्राफिक जामको समस्या बढी देखिएको छ । जनताले त्यही बाटो छिटो नबन्दा समस्या पर्‍याे भनेका छन् । अरु गुनासो गरेको मलाई थाहा छैन ।

कलंकी–नागढुंगा सडकखण्ड तपाईंकै नगरपालिकाभित्र पर्दछ । यो बाटोलाई छिटो सम्पन्न गराउनका लागि तपाईंको प्रभावकारी भूमिका देखिएन भन्ने गुनासो छ नि ?

होइन, होइन, त्यस्तो हुँदै होइन । हामीले सम्बन्धित निकायमा गएर, सहजीकरण गरेर सडक निर्माणमा सघाइरहेका छौं । नगरपालिकाले सहजीकरण गर्ने लगायतका कुनै पनि कसर बाँकी राखेको छैन ।

सडक बिस्तार गर्ने क्रममा आवश्यक ठाउँलाई खालि गराउने काम पनि गरिरहेका छौं । नागढुंगादेखि थानकोटको खरिबोटसम्म, त्रिभुवनपार्कदेखि प्रहरी चौकीसम्म, बलम्बुदेखि सीजी कारखानासम्म र मुख्य बजारको केही क्षेत्रबाहेक ७–८ किलोमिटर बाटो हामीले क्लियर गरिदिइसकेका छौं । कतिपय ठाउँमा त म आफै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरुलाई बोलाएर काममा लगाइरहेको छु । बाटो क्षेत्रमा पर्ने धारा, पाटीपौवा भत्काउने काम पनि गरेका छौं । दुई–तीन वर्षमा नभएको काम पनि हामीले महिना दिनभित्रै गरेका छौं ।

नगरबासीले हाम्रो मागको सम्बोधन हुन्छ, सुशासन आउँछ, भ्रष्टाचार हट्छ, जनताको काम छिटोछरितो पारदर्शी ढंगबाट हुन्छ भन्ने जुन अपेक्षा राखेका छन् त्यो अपेक्षालाई पूरा गर्ने दायित्व र अठोट छ । पूरा गर्ने क्रममा केही अवरोधहरु, केही समस्याहरु, केही अप्ठ्याराहरु पनि छन् । यी सबैलाई छिचोलेर कामहरु अगाडि बढाइरहेका छौं ।

जनताको गुनासो किन आयो त ?

हामीले जति छिट्यो सहजीकरण गरेका छौं, त्यति छिटो ठेकेदारले सडकमा काम गरेको देखिएको छैन । जस्तै बलम्बुमा हामीले मन्दिर भत्काएर सहजीकरण गरेको एक महिना भइसक्यो तर त्यो ठाउँमा अझै पनि उस्तै नै छ । भत्काइदिएको ठाउँमा पनि तत्कालै निर्माण गरिदिनुपर्‍याे नि । जुन ठाउँमा सडकको काम गर्दा आइपर्ने समस्या हामीले समाधान गरिसकेका छौं, त्यो ठाउँमा छिटो काम भएको छैन ।

सडक क्षेत्रमा पर्ने घर धनिहरुलाई सरकारले क्षतिपूर्ति दिन सकिरहेको छैन । ठेकेदारले पनि एकदमै ढिलासुस्ती गरिरहेका छन् ।

सडक मिचेर घर बनाउने अनि क्षतिपूर्ति माग्ने ? यो जायज माग होइन, भन्नेहरु पनि छन् नि ?

अदालतले यस बिषयमा पीडितलाई क्षतिपूर्ति र मुआब्जा दिएर सडक विस्तार गर्नू भनेर आदेश दिइसकेको छ । म जनप्रतिनिधि भएकोले यत्ति भन्न सक्छु सडकमा परेका घरहरु भत्काउन केही कारणले रोकिएको छ भने त्यो चाँडो टुंगो लगाउनुपर्छ । तर, कतिपय घरधनीहरु आफूखुसी पनि घर भत्काउन पनि तयार छन् । सरकारले कम कर काटेर भए पनि छिटो मुआब्जा दियो र उनीहरुले मुआब्जा पाए भने मुद्दा फिर्ता लिएसरह नै हुन्थ्यो । तर, त्यतातिर काम सन्तोषजनक ढंगले भइरहेको छैन । यदि सरकारले यत्ति काम गर्दियो भने ८५ प्रतिशत घर धनीहरुलाई म आफैले कन्भिन्स गर्न सक्छु र म आफैं उपस्थित भएर घर भत्काउन सक्छु ।

तपाईंकै घर भएको थानकोटमा त घर भत्काउन महाभारत जस्तै भयो । कसरी भन्नुहुन्छ ८५ प्रतिशतलाई कन्भिन्स गर्न सक्छु भनेर ?

गृहमन्त्रीजीले कामको जिम्मा लिने तर काम नगर्ने ठेकेदारलाई जेल हाल्ने भन्नु भएको छ त्यो कुरा भनेर मात्र भएन, अब गरेर पनि देखाउनु पर्दछ । त्यसको शुरुआत नागढुंगा–कलंकीबाटै होस्

हो, मेरो घर थानकोट हो । थानकोटका १५–२० घर धनीहरुलाई मैले कन्भिन्स गराइसकेको छु । तर मुआब्जा दिनका लागि मसँग पैसा छैन, म जमानी बसिदिन्छु भन्दा उनीहरुले पत्याउँदैनन् । कमसेकम क्षतिपूर्ति दिए त आजै भत्काइहाल भन्न सकिन्थ्यो, त्यो भन्न हामीले सकिरहेका छैनौं । घर भत्काइहालेकाले पनि क्षतिपूर्ति पाउने कहिले हो कहिले ठेगान नै छैन भनेर भत्काइहाल्न सकिरहेका छैनन् ।

निश्चित घरहरु बाहेक अरु सार्वजनिक ठाउँ, क्षेत्र केके छ, कहाँकहाँ अप्ठेरो परेको छ, ति अप्ठ्यारोहरुमा हामीले सहजीकरण गरिरहेका छौं । विश्वास लाग्दैन भने तपाईंले अरुलाई पनि सोध्न, बुझ्न सक्नुहुन्छ ।

हामी क्रमिक ढंगले पालैपालो कामहरु गरिरहेका छौं । आफूले भनेको मान्ने जनसमुदायलाई र घर धनीहरुलाई कन्भिन्स गरिरहेका छौं । आफ्नै खुसीले, पैसा नपाए पनि घर भत्काउन तयार बनाएका छौं । व्यक्तिगतरुपमा चिनेजानेका आफन्त, साथीभाइहरुलाई पनि तपाईंहरुसँग पैसा छ, अहिले त्यो खर्च गरेर घर भत्काउनुस्, पछि पैसा मैले दिलाउँछु, पैसा पाइहाल्नु हुन्छ भनेर अनुरोध गरेपछि केही साथीहरु भत्काइ राख्नु पनि भएको छ ।

ठ्याक्कै समस्या कहाँनेर रहेछ त ?

मेरो भनाइ के छ भने नागढुंगा–कलंकी सडकमा गएर हेर्नुस् काम गर्ने मजदुर, काम गर्ने उपकरणहरु र त्यसलाई चाहिने सामाग्रीहरु पर्याप्त फेला पर्दैनन् । छिटो सडक निर्माण गर्न हामी सम्बन्धित निकायहरुलाई अनुरोध गरिरहेका छौं र समस्या आइपरेका ठाउँमा समाधान पनि गरिरहेका छौं । तर, जुन गतिमा काम हुनुपर्ने थियो त्यो गतिमा काम भइरहेको छैन । काम भएकै छैन भनौं भने गरेको जस्तो पनि देखिन्छ तर छिटो भएको छैन । ठेकेदारको लापरवाहीको कारण यस्तो भएको हो । अहिले अलिकति मौसमले पनि साथ दिइरहेको छैन । दिनहुँजसो पानी पर्ने गरेको छ । तर घाम लाग्यो भने पिच गर्न धेरै दिन लाग्दैन ।

ठेकेदारले सरकारलाई र जनप्रतिनिधिलाई दोष देखाउने, तपाईंहरुले चाहिँ ठेकेदारलाई दोष देखाउने यो लुकामारी कहिलेसम्म ?

यो ठेकेदार र सरकारी कर्मचारीबीचको लुकामारी हो । त्यत्रो रिंगरोडमा त त्यति छिटो काम भइरहेको छ भने यहाँ किन भइराखेको छैन ? यहाँ ठेकेदारकै लापरवाही देख्छु म । लापरवाही गर्ने ठेकेदारलाई थुन्नुपर्छ । गृहमन्त्रीजीले कामको जिम्मा लिने तर काम नगर्ने ठेकेदारलाई जेल हाल्ने भन्नु भएको छ त्यो कुरा भनेर मात्र भएन, अब गरेर पनि देखाउनु पर्दछ । त्यसको शुरुआत नागढुंगा–कलंकीबाटै होस् ।

जेलमा थुन्ने मात्र होइन, ढिला भएपछि ठेकेदारलाई सरकारले उल्टै क्षतिपूर्ति दिने जुन चलन छ त्यो पनि बन्द गर्नुपर्छ । यो वा त्यो बहानामा क्षतिपूर्ति दिने अनि चार–पाँच अरबको योजनामा १ प्रतिशत भए पनि कमिसन खाएर ४–५ करोडको शेयर पाउने यो लुकामारी बन्द हुनैपर्छ । जबसम्म यो लुकामारी गर्ने चलन रहन्छ तबसम्म नेपाल सुध्रिँदैन । एउटा ठेकेदारले एउटा काम सम्पन्न नगरेसम्म अर्को ठेक्काको जिम्मा दिनु हुँदैन र एउटा चरणको काम सम्पन्न नगरेसम्म पेश्की रकम पनि दिनु हुँदैन ।

कम्तिमा पनि हाइवेमा, त्रिभुवन राजमार्गमा खासगरी नागढुंगा कलंकीसम्मको बाटोमा कम्तिमा सभ्य सहर, सभ्य समाज काठमाडौंमा प्रवेश गरियो है भन्ने महसुस दिलाउने दायित्व चन्द्रागिरि नगरपालिकासँग छ र त्यो गरेरै छाड्ने छौं

तपाईं त्यही क्षेत्रको जनप्रतिनिधि हुनुहुन्छ, तपाईंलाई के रिपोर्टिङ छ ? कहिलेसम्म यो सडकको काम सकिएला ?

मैले पाएको जानकारीअनुसार असार मसान्तभित्र यो सडक पिच भइसक्छ । जहाँजहाँ कार्यक्रममा मलाई बोलाइन्छ, जुनजुन पत्रकारहरुले सोध्नुहुन्छ मैले यही भनिराखेको छु कि अब असार मसान्तभित्र नागढुंगा–कलंकीसम्म फराकिलो चिल्लो बाटोमा सरर हिँड्न र गुड्न पाउनुहुन्छ । घर भत्काइसकेको र ढल बनाइसकेको ठाउँमा पिच गरिदिने जानकारी मैले सडक बिभागबाट पाएको छु । हामी पनि छिटोभन्दा छिटो नागढुंगा–कलंकी सडक निर्माण सम्पन्न हुने प्रतिक्षामा छौं र त्यसका लागि नगरपालिकाले गर्नुपर्ने सहजीकरण लगायतका काममा सघाइरहेका छौं ।

नागढुंगा कलंकी सडक छिटो नबन्दा पूरै नगरपालिकाको कामकाज प्रभावित भयो भन्न खोज्नु भएको हो ?

सडकको धूलो, धुवाँ घरघरमा छिर्छ त्यसैले अहिले त्यहाँ अरु केही गर्नसक्ने स्थिति छैन । त्यहाँ अरु काम गर्न खोज्यो भने पहिलो धूलो हटाऊ भन्छन् । अरु काम गर्न खोज्यो भने स्थानीयबासीबाट उल्टो गाली खाएर फर्किनुपर्ने स्थिति छ । हाईवे तयार नभएकाले हामीले अरु केही गर्न सकेका छैनौं । हामी चुपचाप छौं ।

यो सडक बन्यो भने चाहिँ के गर्नु हुन्छ ?

चन्द्रागिरि नगरपालिका भनेको संघीय राजधानी काठमाडौं भित्रिने प्रमुख नाका हो । नागढुंगा नाकाबाट प्रवेश गर्नेबित्तिकै काठमाडौं शहर कस्तो हो भन्ने धारणा आम मानिसले बनाउँछन् । अहिलेसम्म सबैजसो मानिसहरुमा काठमाडौं भनेको धूलो, धुँवा र फोहरको शहर हो भन्ने धारणा छ । त्यसलाई मुक्त गर्ने दायित्व र जिम्मेवारी चन्द्रागिरि नगरपालिकाको छ । नगरपालिकाको मेयर भएको नाताले यसमा अझै बढी जिम्मेवारीबोध मलाई भएको छ । मेरै पालामा काठमाडौं छिर्नेवित्तिकै आम मानिसको नकारात्मक धारणालाई सकारात्मकमा बदल्ने छु ।

नागढुंगा–कलंकी सडक छिटो सम्पन्न भयो भने सार्वजनिक यातायात, सोलार बत्ती, आकर्षक आइल्याण्डहरु, ट्राफिक पोस्टहरु निर्माण गरेर सुसज्जित गराउन जरुरी छ र त्यो हामी गर्छौं नै । बस स्टपहरु कायम गर्ने, अनुशासन कायम गर्नुपनि छ । सार्वजनिक यातायातहरुलाई सिस्टममा ल्याउन जरुरी छ । हामी सार्वजनिक ठूला यातायातका साधन पनि चलाउँछौं त्यसका लागि नगरपालिकाले योजना बनाइरहेको छ । कम्तिमा पनि हाइवेमा, त्रिभुवन राजमार्गमा खासगरी नागढुंगा कलंकीसम्मको बाटोमा कम्तिमा सभ्य सहर, सभ्य समाज काठमाडौंमा प्रवेश गरियो है भन्ने महसुस दिलाउने दायित्व चन्द्रागिरि नगरपालिकासँग छ र त्यो गरेरै छाड्ने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment