Comments Add Comment

किन र कसरी बनाउने घरलाई हेल्थ फ्रेन्ड्ली ?

तपाईंलाई लाग्दैन, आफ्नो घर पर्यावरणमैत्री होस् । पर्यावरण मैत्री किन ? संभवत तपाईलाई यो विषय झ्याउ लाग्न सक्छ । वा यसमा खास रुची नलाग्न सक्छ । तर, यो तपाईंको प्रत्यक्ष सरोकारको विषय हो ।

किनभने तपाईंले जीवनभरको मेहनत खर्चिएर घर बनाउनुभएको छ । घरको पिलरसँगै तपाईंका सपनाहरु पनि त्यही घरमा ठडिएको छ । घर निर्माणको लागि दुखजिलो गरेर पैसा बचत गर्नुभयो होला । सरसापट गर्नुभयो होला । बित्तिय सहयोग लिनुभयो होला । अझैपनि दैनिक कमाईंको कति हिस्सा बैकिंङ लोन भुक्तान गरिरहनुभएको होला ।

जीवनका यति अमूल्य समय, श्रम, सम्पति खर्चिएर बनाएको घर कस्तो होस् भन्ने चाहनुहुन्छ ?

स्वास्थ्यमैत्री घर

तपाईंको घर, जहाँ तपाईंको अधिकांश समय व्यतित हुन्छ । तपाईंका आमाबुबा, सासुससुरा, बालबच्चा त्यही छतमुनी आश्रय लिन्छन् । बस्छन्, सुत्छन्, विश्राम गर्छन्, खेल्छन्, रमाउँछन् । भनौं, त्यो घर केवल भौतिक संरचना मात्र होइन । त्यहाँ तपाईंको भावना मिसिएको छ । सपना मिसिएको छ । पसिना मिसिएको छ । समय मिसिएको छ । त्यो घरसँग तपाईंको जीवन र स्वास्थ्य पनि प्रत्यक्ष जोडिएको छ । त्यसो भए, घरलाई किन स्वास्थ्यमैत्री नबनाउने ?

तपाईंलाई लाग्दो हो, कसरी स्वास्थ्यमैत्री बनाउने ? यो कस्तो कुरा हो ?

स्वास्थ्यमैत्री भनेको यस्तो घर, जसमा तपाईंले उपभोग गर्ने वस्तुदेखि तपाईंले फर्ने साससम्म स्वच्छ होस् । ताजा होस् ।

घरलाई रंग रोगन गरेर, वा फुलबुट्टाले सजाएर राम्रो त हुन्छ, तर स्वस्थ्यमैत्री हुँदैन । स्वास्थ्यमैत्री बनाउनका लागि तपाईंले घरभित्रको वातावरण, प्रयोग हुने सामाग्री सबैको समुचित व्यवस्था गर्नुपर्छ । तर कसरी ?

काइदा – १

घरलाई स्वास्थ्यमैत्री बनाउने पहिलो सर्त हो, त्यहाँ प्राकृतिक बोटबिरुवा लगाउनुहोस् । घर अघिल्तिर बगैंचा छ भने त्यसलाई हरियाली बनाउन सकिन्छ । फूलबारी बनाउन सकिन्छ, सागसब्जी रोप्न सकिन्छ । बगैंचा छैन भने, बार्दली, कौसीलाई त्यसै नछाडौं, त्यहाँ पनि फलफूल, बनस्पती, सागसब्जी लगाउन सकिन्छ ।

यसबाट प्रत्यक्ष तीनवटा फाइदा हुन्छ । एक, तपाईंले आफ्नै श्रमले उब्जनी गरेको सागसब्जी खान पाउनुहुन्छ, जो विषरहित हुन्छ । भनौं अग्र्यानिक । दुईं, यसले तपाईंको घरलाई पर्यावरणमैत्री बनाउँछ । तीन, तपाईं जब यस्तो काम थाल्नुहुनेछ, शारीरिक सक्रियता बढ्नेछ, मनको तनाव कम हुनेछ ।

कस्तो बनस्पति रोप्ने ?

केही यस्ता बनस्पति छन्, जो औषधिय महत्वको छन् । साथै  तिबनस्पतिले हावालाई शुद्धिकरण गर्छ । जस्तो कि, तुलसी, चमेली, पुदिना, घिउकुमारी ।

यी बनस्पति आयुर्वेदमा पनि निकै महत्वपूर्ण मानिएको छ । प्राकृतिक उपचार पद्धतीमा तुलसी, चमेली, पुदिना, घिउकुमारी बहुउपयोगी मानिन्छन् । यी बनस्पतिले तपाईंको घरको शोभा मात्रै दिदैन, वायुमण्डललाई शुद्धिकरण पनि गर्छ ।

अहिले शहरी क्षेत्रमा जटिल समस्या  बनेको छ, प्रदूषण । वायु प्रदूषणकै कारण दमको रोगी बढ्दैछ । तपाईं शहरी क्षेत्रमा हुनुहुन्छ भने, तपाईंका वृद्ध मातापिता मात्र होइन, बच्चा पनि दमको जोखिममा छन् । त्यस्तै यसले नाक, कान, घाँटीको क्यान्सर पनि निम्त्याउने गरेको छ । पछिल्लो समय नाक, कान, घाँटीको क्यान्सर रोगी बढ्दो क्रममा रहेको छ र यसको मूल कारण वायुप्रदूषण नै हो भनी चिकित्सकहरुले भनिसकेका छन् ।

काइदा-२

घरबाहिर बनस्पति रोप्ने, फूलबारी बनाउने कुरा त गरियो । अब तपाईंसँग बगैंचा छैन । कौशी र बार्दलीमा पनि त्यती संभव छैन । अर्थात तपाईं फ्ल्याटमा बस्नुहुन्छ । अब के गर्ने त ?

तपाईंले पर्याप्त मात्रामा इनडोर प्लान्ट लगाउन सक्नुहुनेछ । थुप्रै बनस्पति, फूल-बिरुवा हुन्छन्, जसलाई घरभित्रै रोप्न, हुर्काउन सकिन्छ । खासगरी घरको कुना, जहाँ अन्य सामाग्री राखिदैन त्यस्ता स्थानमा इनडोर प्लान्ट सजाउन सकिन्छ । यसले घरलाई हरियाली बनाउँछ ।

काइदा-३

घरलाई स्वास्थ्यमैत्री बनाउने अर्को काइदा हो, कम भन्दा कम प्लाष्टिकको प्रयोग । तपाईंलाई सस्तो, छरितो र सजिलो त प्लाष्टिक नै लाग्छ । तर, त्यही प्लाष्टिक हो, जसले तपाईंलाई क्यान्सर रोगी पनि बनाउँदैछ ।

प्लाष्टिकको भाँडावर्तन तयार गर्ने क्रममा जुन रसायन प्रयोग गरिएको हुन्छ, त्यसको असर खानेकुरामा पर्छ । हामी प्लाष्टिकको भाँडामा लामो समय पानी राख्छौं । खानेकुरा राख्छौं । प्लाष्टिकको भाँडो तात्छ । त्यसमा भएको रसायन खानेकुराले लिन्छ । त्यही खानेकुरा हामी खान्छौं, जसले शरीरभित्र क्यान्सरका लागि कारक मानिने तत्वहरु पैदा गर्छ ।

प्लाष्टिक पूर्णत नष्ट हुँदैन । पच्दैन । गल्दैन । र, हामीले घरमा यस्ता प्लाष्टिक ल्याउँछौं, जो पुन प्रयोग हुँदैन । हामी त्यस्ता प्लाष्टिक जथाभावी मिल्काउँछौं, जसले पर्यावरणमा नकारात्मक असर पार्छ ।

त्यसैले प्लाष्टिकको प्रयोग गर्नुको बदलामा तपाईंले काँच, फलाम वा तामाको प्रयोग गर्न एकदमै राम्रो हुन्छ । फलामको भाँडावर्तन स्वास्थ्यमैत्री मानिन्छ । फलामको भाँडामा पकाएको खानेकुरा सेवन गर्दा हाम्रो शरीरमा फलामको मात्रा पनि आपूर्ति हुन्छ । शरीरलाई चाहिने विभिन्न पोषकतत्वमध्ये एक फलाम पनि हो भन्ने त तपाईंलाई थाहा नै छ । तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ ।

काइदा-४

घरमा प्रयोग हुने विद्युतिय सामनको प्रयोग कसरी गर्नुहुन्छ ? त्यसले पनि तपाईंको स्वास्थ्यसँग सरोकार राख्छ ।

हामीले जथाभावी विद्युतिय सामग्रीको प्रयोग गर्दा त्यसले हाम्रो घरको व्यायभार मात्र बढाउँदैन, पर्यावरणमा समेत असर गर्छ । धेरै विद्युत खपत गर्ने, तापक्रम बढाउने विद्युतिय सामग्री प्रयोग नगरौं । त्यसको विकल्पमा अन्य सामाग्री प्रयोग गर्न सकिन्छ । जस्तो कि, सामान्य बल्वको ठाउँमा सीएफएल, एलईडी बल्व प्रयोग गर्न सकिन्छ । यसले तपाईंले उर्जा बचत गर्न सक्नुहुनेछ । भनिन्छ, करिव ६६ प्रतिशत उर्जालाई तपाईंले बल्व बदलेर पनि बचत गर्न सक्नुहुनेछ ।

तपाईंलाई यस्तो कुरा गर्दा सामान्य लाग्न सक्छ । वा वाहियात पनि । तर, सामान्य बल्व, जुन तपाईंले घरमा बाल्नु हुन्छ, त्यसको किरणले तपाईंको आँखालाई प्रत्यक्ष असर गरिरहेका छ भन्ने कुरा विर्सनुहुँदैन । खासगरी पठनपाठन गर्ने तपाईंको बच्चाले किशोरवयमा नपुग्दै चस्मा लगाउनुपर्ने वाध्यता आइलाग्छ ।

अनावश्यक ठाउँमा विद्युतिय सामाग्री प्रयोग नगरौं । प्रयोग गरिसकेपछि माइक्रोवेभ, टिभी, वाशिङ मसिन आदिको स्विच बन्द गरौं । यसले १५ प्रतिशतसम्म उर्जा खपत बचत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment