बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

‘बमले खुट्टा गुम्यो तर, देशका लागि केही गर्ने अठोट बाँकी छ’

Suzuki
चिरञ्जीवी पौडेल

२५ जेष्ठ, काठमाडौं । असैह्य पीडाका बीच पनि मुस्कुराइरहेका छन् ७० वर्षीय नारायण कार्की । उनलाई देख्दा यस्तो लाग्दैन कि शरीरको महत्वपूर्ण अंग भर्खरै गुमाएका छन् । टिचिङ हस्पिटलको बेड नम्बर ४०५ मा भेट्न आउने जो-कोहीलाई हाँसेर स्वागत गर्छन् ।

‘पैताला दुखेझैं लाग्छ, चिलाएझैं लाग्छ । के अचम्म होला ?’ ड्यूटीमा रहेकी नर्ससँग उनले गुनासो गर्दै थिए । नर्सले खुट्टा काटेपछि सबैलाई यस्तै हुने जवाफ दिँदै चिन्ता नलिन आग्रह गरिन् ।

चुनावी अभियानका क्रममा १ मंसिरमा भएको बम विष्फोटमा परेर गम्भीर घाइते भएका कांग्रेस नेता कार्कीको दाहिने खुट्टा विसेक नभएपछि गत आइतबार डाक्टरले काटिदिएका हुन् । बुढ्यौली जीवन अपांगतामा बिताउनुपर्ने भएको छ उनले ।

तर, किञ्चित हताश छैनन् । ‘म बाँकी जीवन यत्तिकै खेर फाल्दिनँ, अझै पनि देशका लागि केही गर्ने जोश र अठोट बाँकी छ,’ उनले सुनाए ।

यस्तो छ राजनीतिक जीवन

कार्कीको राजनीतिक जीवन सरल रेखामा बगेन । २०२१ सालमा त्रिचन्द्र कलेजमा आईएस्सी पढ्दै उनले राजनीति थालेका थिए । त्यतिबेला उनी कांग्रेस कार्यकर्ता कौशलराज रेग्मीसँग रुम शेयर गर्थे । रेग्मीकै संगतले कार्कीमा राजनीतिको चस्का पस्यो ।

त्यतिबेला विद्यार्थी आन्दोलनका क्रममा रेग्मीसहितका थुप्रै विद्यार्थीलाई पक्राउ गरेर अहिले राष्ट्र बैंक रहेको सुवर्णसम्शेरको घरमा थुनिएको थियो । उनले १२ दिन विद्यार्थीहरुलाई भात पकाएर ओसारेका थिए ।

पहिले त साह्रै दुःख लागेको थियो । बुढेसकालमा अपांग भएर के बाँच्नु जस्तो लागेको थियो । तर, सबै जनाले मलाई हौसला दिनुभयो । बाँच्ने प्रेरणा दिनुभयो । र, मैले आफूलाई सम्हालेँ

आईएस्सी सिध्याएपछि भने आफ्नो गाउँ फर्किए । उनका बुवाको पहलमा उदयपुर जिल्ला सदरमुकाममा विद्यालय खोलिएको थियो । त्यतिबेला विज्ञान शिक्षक पाउन मुस्किल पथ्र्यो । त्यसैले बुवाले उनलाई बोलाए । उनी जिल्ला फर्केर शिक्षण पेशा अपनाए ।

यही क्रममा प्राइभेट परिक्षा दिएर बीए र बीएड उत्तिर्ण गरे । शिक्षण पेशाकै क्रममा पनि राजनीतिबाट भने टाढा थिएनन् । स्कुलमा शिक्षकहरु कांग्रेस र कम्युनिष्टमा बाँडिएका थिए । उनीहरुबीच गरमागरम बहस चल्थ्यो । ४२ सालमा कांग्रेसले सत्याग्रहको घोषणा गरेका बेला एक कम्युनिष्ट शिक्षकले उनलाई बडो खिज्याए । ‘सत्याग्रहले पनि कहीँ परिवर्तन आउँछ ?’ उनले खितिति हाँस्दै भने ।

‘किन आउँदैन ?’ कार्कीले भारतका महात्मा गान्धिको उदाहरण दिए ।

ओठमा खैनी च्यापेका साथीले सोधे, ‘ल त्यसो भए मेरो बुवा बिँडीका अम्मली हुनुहुन्छ, सत्याग्रहको माध्यमले उहाँको लत कसरी छुटाउने बताऊ ?

‘बुवाले तिमीलाई कति माया गर्नुहुन्छ ?’

‘अति’

‘त्यसो भए बुवाले बिँडी नछोड्दासम्म आफूले भातै नखाने घोषणा गर । समस्या समाधान भएन भने मलाई भन्नु ।’

उनले सिकाएको उपायले काम गरेछ भन्ने उनले पछि थाहा पाए ।

४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा कांग्रेसले भाग लिने तयारी गरेको थियो । कार्की पनि चुनाव लड्न कस्सिए । विद्यालय प्रधानाध्यापक पदबाट राजीनामा नै ठोके ।

तर, कांग्रेस फेरि पछि हट्यो । आफूहरुको माग सम्वोधन नभएको भन्दै चुनावमा भाग नलिने घोषणा तत्कालीन महामन्त्री गिरिजा प्रसाद कोइरालाले गरे । त्यसबेलासम्म कार्की भने जागिर छोडेर चुनावी अभियानमा होमिइसकेका थिए । उनी घर फर्किए तर, साथीभाइ इष्टमित्र सबैले चुनाव लड्नैपर्छ भनेर दबाव दिनथाले ।

उनलाई पनि लाग्यो, पञ्चायतभित्रै पसेर पनि केही सुधारका काम गर्न सकिन्छ कि ? अततः चुनाव लडे । तर, नमज्जाले हारे । चौंथो भए । त्यसपछि उनी जिल्ला पञ्चायतमा छिरे ।

४६ सालको जनआन्दोलन सुरु भयो । जिल्ला पञ्चायतमा आन्दोलनकारीलाई कसरी दवाउने भनेर कडिकडाउ छलफल चल्यो । तर कार्कीले भने दवाउने कुराको ठाडै विरोध गरे । पञ्च भए पनि प्रजातन्त्र आओस भन्ने भित्री चाहना थियो उनको । जिल्ला पञ्चायतमा त्यो प्रकट भइहाल्यो । त्यसको भोलिपल्ट उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगे । उनी जन्ति गएका थिए र उम्किए ।

बरु पक्राउ परेको भए हिरो हुन्थेँ भन्ने उनलाई अहिले लाग्छ । ‘त्यतिबेला पक्राउ परेको भए मेेरो ‘पञ्च’ छवि पनि मेटिन्थ्यो र प्रजातन्त्र आएपछि कांग्रेस राजनीति गर्न सजिलो हुन्थ्यो,’ उनी भन्छन् ।

प्रजातन्त्र आएपछि ढिला नगरी उनी कांग्रेसमा छिरे । तर, पञ्चायतबाट आएको पृष्ठभूमिका कारण चुनावमा टिकट पाएनन् । बरु पार्टीको जिल्ला सभापति भए । बीचका कांग्रेस फुट्दा देउवातिर लागे । फेरि एकीकरणपछि पनि जिल्ला सभापति नै रहे ।

उदयपुर-३ मा कांग्रेसले लगातार संसदीय चुनाव हार्‍यो । ६४ सालको संविधानसभा चुनावमा भने कांग्रेसले कार्कीलाई टिकट दियो । पञ्चायतमा पसेर पनि अरु पञ्चभन्दा फरक ढंगले काम गरेको हुनाले उनी लोकपि्रय नै थिए । तर, भोटमा त्यो प्रतिबिम्बित भएन ।

माओवादीको पक्षमा जनलहर उर्लेको बेलामा उनी गुल्टिए । ७० सालको दोस्रो संविधानसभा चुनावमा फेरि टिकट पाए । यसपटक इतिहास दोहोरिएन । पहिलोपटक यो क्षेत्रमा कांग्रेसले झण्डा गाड्यो र उनी सभासद भए ।

सभासद हुँदा आफूले जिल्लाका दुर्गम क्षेत्रहरुमा विकास पुर्‍याएको कार्की बताउँछन् । ‘मैले करिब साढे सात करोड बजेट पाएको थिएँ र त्यो बजेट दुर्गम ठाउँहरुमा पुर्‍याएँ,’ उनले भने, ‘गाउँमा बस्न नसकेर बसाई सर्न ठीक परेकाहरु पनि विकासको लहर आएपछि अडिए ।’

त्यसपछि आयो ७४ सालको संसदीय चुनाव । पहिलोपटक आफ्नो क्षेत्रमा कांग्रेसलाई जित दिलाएका र लोकपि्रय काम गरेका कार्कीले टिकट नपाउने प्रश्नै आएन ‘मेरा प्रतिस्पर्धी माओवादी उम्मेदवार स्थानीय व्यक्ति थिएनन् ।

अर्कोतर्फ माओवादीले विगतमा यहाँ गरेको ज्यादतिलाई जनताको स्मृतिमा ताजै थिए,’ कार्की भन्छन्, ‘माहोल मेरो पक्षमा आइसकेको थियो ।’

उनी चुनाव प्रचारमा अहोरात्र भिडिरहेका थिए । तर, समयले उनीविरुद्ध अर्कै तयारी गरेको रहेछ ।

त्यो मंसिर १३

मंसिर १३ का दिन कटारीमा आमसभा सकेर उनीसहित ९ जनाको समूह नेपालटारतर्फ लागेको थियो । त्यतिबेला विप्लव माओवादीका नाममा बम विष्फोटका घटनाले व्यापकता पाइसकेको थियो । उनकै जिल्लामा पनि केही ठाउँमा बिस्फोट भएका थिए, तर जनधनको क्षति नहुने गरी ।

कार्कीले सोचेका थिए, ‘तर्साउने मात्रै नियत होला ।’ तैपनि मनमा डर त थियो नै ।

जंगलको बाटो भएकाले गाडीमा रहेका सबैजना डरले थुरथुर थिए । जंगल सिद्धिएर गाउँ आएपछि उनीहरुले लामो सास फेरे । तर, गाउँ पस्नासाथ गाडी एम्बुसमा पर्‍यो ।

ड्याम्म आवाज आएको सुनेको, त्यसपछि आफू बेहोस भएको कार्की बताउँछन् । केहीबेरमा आँखा खुल्यो । गाडी भित्तामा ठोक्किएर लडेको थियो । सबैजना चिच्याइरहेका थिए । उनले खुट्टा टेक्न खोजे । तर, दुवै खुट्टा टेकिएन । अनुहारभरी, शरीरभरी रगतै रगत थियो । ‘बचाउ बचाउ भन्दै चिच्याए । मानिसहरु जम्मा भए । तर, कसैले ‘फेरि बम पड्किनसक्ने’ हल्ला गर्‍यो र सबै भागाभाग भए ।

त्यो गाउँमा उनले पढाएका केही युवाहरु रहेछन् । उनीहरुले कार्कीलाई चिनेर उद्दार गरे । त्यसपछि अरु पनि आएर सबेलाई निकाले । त्यसपछि सामान्य प्राथमिक उपचार गरेर उनीहरुलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो र टिचिङ हस्पिटलमा भर्ना गरियो ।

विष्फोटमा तीन जना गम्भीर घाइते भएका थिए । गाडीका ड्राइभर, नेविसंघकी कार्यकर्ता मिरा र कार्की । ड्राइभरको खुट्टामा स्टिल हालिएको छ । मिराको एउटा खुट्टा काट्नुपर्‍यो । कृत्रिम खुट्टाको सहयोगमा अलिअलि हिँड्न सक्छिन् । उनीहरु दुवै हस्पिटलबाट डिस्चार्ज भइसकेका छन् ।

कार्कीको भने एउटा खुट्टा छियाछिया भएको थियो । सुरुमा प्लास्टिक सर्जनहरुले उनको खुट्टाको घाउको उपचार गरे । त्यसपछि हाडजोर्नीका डाक्टर गोविन्द केसीलाई जिम्मा लगाए ।

उनको पैतालामुनिबाट बमको छर्रा पसेर माथिबाट निस्केको थियो । प्लास्टिक सर्जनहरुले उनको दुईवटा अम्ला नचल्न सक्ने बताएका थिए । तर, तीनवटा अम्ला चलेनन् । अन्ततः अम्ला काट्नुपर्ने भयो । पहिले दुईवटा अम्ला काटियो । त्यसपछि अर्को अम्ला कालो भयो र चल्न छोड्यो । त्यो पनि काटियो ।

विष्फोटमा परेपछि उनको दिमागका धेरै कुराहरु खेले । उनले आफूलाई ओल्टाइपल्टाई हेरे, आखिर को हुन सक्छ उनको दुश्मन ? शिक्षक हुँदा आफूल सिर्कना हानेका विद्यार्थीदेखि राजनीतिक जीवनका प्रतिद्वन्द्वीसम्म उनको आँखा अगाडि आए

औंला काटेर उनलाई डिस्चार्ज गरियो । उनी तीनकुनेमा रहेको डेरामा गएर बसे । तर खुट्टाको दुखाई बढ्दै गयो । असैह्य दुख्न थालेपछि फेरि टिचिङ पुगे । डाक्टरले खुट्टाको घाउको पिप जाँच गरे । त्यसबाट पत्ता लाग्यो कि उनले खाएको एन्टिबायोटिकहरुले कुनै असर गरेको रहेनछ ।

त्यसपछि डाक्टर गोविन्द केसीले भने, ‘तपाईंको दाया खुट्टा काट्नै पर्छ, अरु उपाय छैन ।’

उनी अत्तालिए । खुट्टा काट्ने मानसिकता बनाउनै सकेनन् । त्यसपछि केही व्यक्तिहरुको सुझावमा उनले बीएन्डबीका डाक्टर अशोक बास्कोटालाई भेटे । बास्कोटाले पनि भने, ‘खुट्टाको घाउ गन्हाउन थालिसकेको छ, तुरुन्तै काट्नुपर्छ, अन्यथा शरीरलाई हानी गर्छ ।’

त्यही दिन कांग्रेस सभापति शेरबहादुर देउवा उनको डेरामा आए । उनले देउवालाई डाक्टरले भनेका कुरा सुनाए । ‘दुईजना डाक्टरले भन्दैमा खुट्टा काट्नु हुँदैन, ग्रान्डीका डा. चक्रराज पाण्डेलाई भेट्नुस्,’ देउवाले भने ।

उनले चक्रराजलाई भेट्ने प्रयास गरे तर, उनी विदेशमा रहेछन् । त्यसपछि ट्रमा सेन्टरका डाक्टरलाई भेटे । उनले पनि नयाँ कुरा गरेनन् ।

अन्ततः कार्की आफ्नो खुट्टा काट्ने निधोमा पुगे र त्यसका लागि डा. केसी नै रोजे । टिचिङमा आएर उनले केसीलाई भने, ‘मेरो खुट्टा तुरुन्तै काटिदिनुस्, म यो पीडा अब धेरै खप्न सक्दिनँ ।’

केसीले सम्झाए, ‘रुखको हाँगा काटेजस्तो होइन खुट्टा काट्ने कुरा । धेरै कुराहरु हेर्नुपर्छ । अहिलेको अहिल्यै हुन्न ।’

त्यसपछि उनी अस्पताल भर्ना भए । गत आइतबार उनको खुट्टा काटियो ।

एउटा खुट्टा आफ्नो साथमा नरहेपछि कति दुःख लाग्यो होला उनलाई ?

कार्की भन्छन्, ‘पहिले त साह्रै दुःख लागेको थियो । बुढेसकालमा अपांग भएर के बाँच्नु जस्तो लागेको थियो । तर, सबै जनाले मलाई हौसला दिनुभयो । बाँच्ने प्रेरणा दिनुभयो । र, मैले आफूलाई सम्हालेँ । अहिले कम्तिमा दुखाईको पीडाबाट मुक्ति पाएको छु ।’

विदेश गएर उपचार गर्न पनि उनलाई कतिपयले नसुझाएका होइनन् । तर, उनले स्वदेशकै डाक्टरमा भर गरे ।

उनलाई डाक्टरले केही समयपछि कृत्रिम खुट्टा हाल्न मिल्ने बताएका छन् । त्यसका लागि सुरुमा सुन्निएको बस्नुपर्छ र घाउ सुक्नुपर्छ । अहिले सो खुट्टा सुन्निएर डमडम भएको छ । नक्कली खुट्टाको सहाराले बाँकी जीवन पनि सक्रियतापूर्वक गुजार्ने कार्कीको अभिलाषा छ । हरेक प्रकारको आतंकवादबाट देशलाई मुक्त गर्नका लागि अब आफ्नो जीवन लगाउने उनले बताए ।

कसले राख्यो बम ?

विष्फोटमा परेपछि उनको दिमागका धेरै कुराहरु खेले । उनले आफूलाई ओल्टाइपल्टाई हेरे, आखिर को हुन सक्छ उनको दुश्मन ? शिक्षक हुँदा आफूल सिर्कना हानेका विद्यार्थीदेखि राजनीतिक जीवनका प्रतिद्वन्द्वीसम्म उनको आँखा अगाडि आए ।

‘तर, यस्तो अमानवीय आक्रमण गर्ने खालको दुश्मन त मैले कोही पनि कमाएको छैन,’ कार्कीले निस्कर्ष निकाले ।

प्रहरीले विप्लव माओवादीले विष्फोट गराएको अनुमान गरेको छ । तर, कार्की भने त्यसमा सन्देह व्यक्त गर्छन् । घटना भएको दिनभन्दा एक दिन अगाडि उनले सम्पर्कसूत्रमार्फत विप्लवका स्थानीय नेतासँग कुरा गरेका रहेछन् । उनीहरुले भनेका थिए, ‘हामलाई रासनको व्यवस्था गरिदिए पुग्छ ।’

कार्कीले त्यसमा सहमति जनाएका थिए । उनको दिमागमा अहिले पनि यही प्रश्न घुमिरहेको छ, ‘आखिर कसले राखेको हो बम ?’ प्रहरीले घटनामा संलग्न हुन सक्ने भनेर ४-५ जना विप्लवका कार्यकर्ता पक्राउ गरे पछि उनीहरुको संलग्नता पुष्टि भएन ।

कार्की विप्लव माओवादीप्रति त्यति आक्रामक छैनन् ।

‘यदि उनीहरुले नै ममाथि यस्तो घटना गराएको हो भने पनि ममा कुनै प्रतिशोधको भावना छैन, म आफूमाथि गरेको अपराधका लागि माफी दिन तयार छु’ उनी भन्छन्, ‘तर, यति चाहन्छु कि अब यस्तो घटना कसैमाथि नदोहोरियोस् ।’

आर्थिक संकट

कार्कीको उपचार अहिलेसम्म सरकारले गरिरहेको छ । तर, टिचिङ अस्पतालमा नपाइने औषधिहरु बाहिरबाट मगाउनु परेमा आफैंले पैसा जुटाउनुपर्छ । अहिलेसम्म आफ्नो चार लाख जति खर्च भएको उनले बताए । त्यो सबै साथीभाईसँग ऋणपान गरेका छन् ।

उनको परिवारमा श्रीमती, एक छोरा, बुहारी र नाति-नातिना छन् । छोराले राइस मिल चलाउँथे । तर, बुवाको दुर्घटना भएयता उनी हस्पिटलमै छन् । परिवारको अरु आयस्रोत केही पनि छैन ।

उनको अर्को समस्याको कारक बनेको छ दुर्घटनामा परेको गाडी । करिब एक वर्ष अगाडि २५ लाखमा किनिएको गाडी उनले मागेर चलाएका थिए । तर, विष्फोटमा परेर झिरिप्प भएको छ । त्यो गाडीको क्षतिपूर्ति अहिलेसम्म उनले कतैबाट पाएका छैनन् । सीडीओले २० लाख रुपैयाँ क्षतिपूर्तिको सिफारिस गरे पनि उनले पाएका छैनन् ।

कांग्रेस सभापति देउवा लगायत विभिन्न नेताहरुले उनलाई भेटेर आश्वासनहरु दिइरहेका छन् । देउवाले आफू प्रधानमन्त्री हुँदा क्षतिपूर्तिका सम्वन्धमा निर्णय गराएको र, त्यसलाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

‘म त्यो कार्यान्वयन गराउन सक्दो प्रयास गर्छु । यदि कथंकदाचित भएन भने पार्टीको तर्फबाट सहयोग जुटाएर भए पनि तपाईंलाई आर्थिक भारबाट मुक्त गर्छौं,’ देउवाको भनाइ उद्वृत गर्दै कार्कीले भने । कृष्ण सिटौला, विमलेन्द्र निधि लगायतले पनि उनलाई आश्वासन दिएका छन् ।

२०७५ जेठ २५ गते २१:२९ मा प्रकाशित (२०७५ जेठ २७ गते १०:०८मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this