सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

महासेनानी बढुवा सिफारिसमा मनोमानी गरेको भन्दै प्रधानसेनापतिविरुद्ध उजुरी

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

Suzuki
अनलाइनखबर

३० असार, काठमाडौं । नेपाली सेनाका ४७ जना प्रमुख सेनानी (कर्णेल) लाई महासेनानी (फुल कर्णेल) बढुवा सिफारिस विवादमा परेपछि मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । अन्यायमा परेका बरिष्ठ अधिकृतले सिफारिस फिर्ता गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रधासेनापति राजेन्द्र क्षेत्रीले ९ वर्ष जुनियर प्रमुख सेनानीहरुलाई अग्रपंक्तिमा बढुवा गरेर सिनियरलाई अन्याय गरेको उजुरी परेपछि सोमबारको मन्त्रिपरिषद बैठकमा सो एजेण्डा प्रवेश नगरेको स्रोतले जनाएको छ ।

नियतवश चलखेल

आगामी ०७५ सालमा खाली हुने महासेनानीको संख्या ४७ छ । कात्तिकमै पहिलो बेसिकका प्रमुख सनेताहरुलाई महासेनानीमा बढुवा गर्नुपर्ने नियमावलीको व्यवस्था विपरीत प्रधानसेनापतिले आफू निकटलाई अगाडि ल्याउन अहिलेसम्म रोकेर राखेको आरोप लागेको छ ।

यदी दुई पटक पदोन्नति गरिएको भए ०६९ मा बढुवा भएका २८ देखि ३१ बेसिकका प्रमुख सेनानी कात्तिकमै महासेनानी भइसक्ने थिए । बाँकी ३२ देखि ३६ का अधिकृतलाई आउने असोज कात्तिकमा बढुवा गर्दा रोलक्रम मिचिने र बढुवामा अन्याय परेर घर जानुपर्ने अवस्था आउने थिएन ।

तर, सेनापतिले आफू अवकाश हुनै लाग्दा आफू निकटहरुलाई बढुवाको शीर्ष स्थानमा राखेर सिफारिस गरेपछि जंगी अड्डाको सिफारिस विवादमा परेको छ । बढुवामा नपरेका सिनियर अधिकृतले नियम अनुसार दिएको निवेदनसमेत सुनुवाइ नभएपछि यो विषय रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसम्म पुगेको हो ।

प्रधानसनेपति क्षेत्रीको सिफारिसलाई रक्षामन्त्री ईश्वर पोखरेलले पनि जस्ताको त्यस्तै सदर गरेर मन्त्रिपरिषदमा पठाएपछि अन्यायमा परेकाहरुको गुनासो प्रधानमन्त्रीसम्म पुगेको स्रोतले जनाएको छ ।

८ वटा बेसिकका सैनिक अधिकृतलाई एउटै लटमा बढुवा गर्ने प्रचलन काहिँ नभएको भन्दै रक्षामन्त्रीले शुरुमा सो सिफारिस पुनर्विचार हुने आश्वासन दिएका थिए । तर, पछि सोही प्रस्ताव अघि बढाइएको असन्तुष्टहरुको गुनासो छ ।

९ वर्ष बरिष्ठलाई पनि कनिष्ठ बनाइयो

नेपाली सेनाका २८,२९,३० र ३१ ब्याचका अधिकृतहरु ०६९ सालमा प्रमुख सेनानीमा बढुवा भएका थिए । त्यस्तै, ०७० मा ३२, ३३, ३४, ३५ र ३६ ब्याचका अधिकृत प्रमुख सेनानीमा बढुवा भएका थिए ।

तर, अहिले महासेनानी बढुवा गर्ने क्रममा २८ देखि ३६ बेसिकसम्मका सबैलाई एकै ठाउँमा राखेर ३६ बेसिकका पदमबहादुर बुढालाई एक नम्बरमा पुर्‍याइएको गुनासो सैन्य अधिकारीहरुको छ ।

संसारको कुनै पनि सेनामा प्रचलित बढुवा प्रणालीको बर्खिलाप र सैनिक निमायवलीको आफूखुसी ब्याख्या गरी एकै साथ ८ बेसिकका ८ वर्ष जागिर अवधि फरकरहेका अधिकृतहरुलाई एकैचोटि ‘प्रमोसन बोर्ड’मा राखी प्रतिस्पर्धा गराइएको भन्दै सेनाभित्र असन्तुष्टि बढेको छ ।

९ वर्ष जुनियर अधिकृतलाई सेनाजस्तो मर्यादाक्रममा चल्ने संस्थामा सबैभन्दा पहिलो नम्बरमा बढुवा गराएर सिनियर बनाउने कुराले चेन अफ कमाण्डमै असर गर्ने उच्च सैनिक अधिकारीहरु बताउँछन् ।

यदी एकैपटक ४७ जनाको बढुवा गर्नुपर्ने भएमा बरिष्ठ अधिकृतलाई कनिष्ठभन्दा बढी नम्बर दिनुपर्ने प्रचलन पनि भत्काइएको गुनासो अधिकृतहरुले गरेका छन् ।

भावी सेनापतिका लागि चलखेल

भावी प्रधानसेनापतिको लाइनमा आफ्नो मान्छे राख्ने योजनाअन्तर्गत चलखेल गरिएको आरोप छ । प्रधानसेनापतिले सिनियर अधिकृतहरुलाई पछि पारेर ३६ बेसिकका पदम बुढामगर, माधव थापा, रञ्जित थापा लगायतलाई शीर्ष स्थानमा सिफारिस गरेका छन् ।

त्यस्तै, ३३ बेसिकका पवन खत्री र ३२ बेसिकका द्रब्यराम भण्डारी पनि शीर्ष ५ भित्र पारिएका छन् ।

जबकि, २९, ३० र ३१ बेसिकका सिनियर अधिकृतहरुलाई निकै पछाडि राखेर माथिल्लो पदमा बढुवा हुने बाटो नै बन्द गर्न खोजिएको आरोप सेनापतिमाथि लागेको छ ।

प्रधानसेनापतिले सैनिक नियमावली अनुसार एकैपटक आठ बेसिकका अधिकृतहरुलाई बढुवा प्रतिस्पर्धा गराउनुपरेको भने पनि सेनामा यसअघि यस्तो भएको थिएन ।

सेनपातिका नातेदारलाई नियम लागेन

सैन्य स्रोतका अनुसार प्रधानसेनपतिका नजिकका नातेदार रविन्द्र केसीलाई महासेनानी बढुवा गर्दा नियमावली प्रयोग भएको थिएन ।

उनलाई बैकल्पिक उम्मेदवारमा राखेर पछि खाली भएका बेला प्रतिस्पर्धा नगराई महासेनानी बढुवा गरिएको थियो । जबकि, नियमावलीमा वैकल्पिक उम्मेदवार राख्ने प्रावधान छैन ।

सैनिक नियमावली ०६९ अनुसार प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा एक जना बढुवा गर्न तीनजना बीच प्रतिस्पर्धा गराउने व्यवस्था छ । त्यसो गर्दा एउटै बेसिकका वा दुई तीनवटा बेसिकका अधिकृतहरुबीच प्रतिस्पर्धा गराउनुपर्नेमा प्रधानसेनपातिले एकैपटक ४७ जना बढुवा गर्ने भन्दै आठ वटा बेसिकका अधिकृतहरुलाई प्रतिस्पर्धा गराए ।

जबकि, प्रधानसेनपातिका विश्वासपात्र हालका महासेनानी अनुपजंग थापा र २८ बेसिकका पछाडिका अन्य अधिकृतहरुलाई पदोन्नति गराउँदा एक बराबार तीनजनाको अनुपात अलम्बन नगरिएको बताइएको छ । जागिर खाएको २९ वर्ष अवधि पुगेका र २० वर्षमात्र पुगेका सबैलाई एकै दर्जामा राखेर प्रतिस्पर्धा गराउँदा नम्बर पनि मनोमानी र अपारदर्शी ढंगले दिएको उजुरी परेको छ ।

एक उच्च सैनिक अधिकृतले भने, ‘सैनिक नियमावलीमा रहेको १ः३ को प्रावधानलाई अपब्याख्या गरियो । कनिष्ठलाई सबैभन्दा बरिष्ठमा सिफारिस गरिएको छ ।’

१ः३ को अनुमात भनेको आठ वटा बेसिकबीच प्रतिस्पर्धा गराएर समान पदोन्नति नम्बर दिनुले पनि यसमा ठूलो चलखेल भएको प्रष्ट हुने स्रोतको दाबी छ ।

जाँदाजाँदै सेनापतिको मनोमानी

बरिष्ठतामा तलमाथि पार्न खोज्दा बिगतमा १ः३ मा मात्र नटेकेर बुद्धिमतापूर्वक बरिष्ठताको सन्तुलन हुने गरी बढुवा सिफारिस गर्ने प्रचलन स्थापित भएको थियो । तर, प्रधानसेनपति क्षेत्रीले आफू साउनमा अवकाश हुनुअघि आफ्ना निकटस्थ ९ वर्ष कनिष्ठ अधिकृतलाई महासेनानीको शीर्ष स्थानमा राखेर बढुवा गर्न खोजेको स्रोतले जनाएको छ ।

बढुवा सिफारिस गर्दा नियमावलीमा रहेको अंक वितरणलाई न्यायोचित ढंगबाट वितरण नगरी कनिष्ठलाई माथि ल्याउन बरिष्ठलाई अन्याय गरिएको आरोप लागेको छ । विशेष गरी कायमी सेवा (जागिर अवधि) वापत प्राप्त हुने अंक ३१ देखि २६ बेसिक (५ वर्ष सिनियर, जुनियर) सबैलाई समान ५ अंक दिइएको छ ।

नियमावली अनुसार कायमी सेवा बापत १७ नम्बर दिन सकिन्छ । एक दिनको बरिष्ठ भए पनि कायमी सेवा अंक उसले बढी पाउने प्राबधान विपरीत २९ वर्ष सेवा अवधि र २० वर्ष सेवा अवधि भएका सबैलाई समान अंक दिएर सिनियर अधिकृतलाई अन्याय गरिएको गुनासो सरकार समक्ष पुगेको छ । यो भनेको भावी प्रधानसेनापतिको आधार तयार पार्न खोजिएको हो ।

नम्बरदेखि बिभुषणसम्म गोलमाल

कार्य सम्पादन बापत प्राप्त हुने ३३ अंकमा प्रधानसेनापति र पदोन्नति बोर्डमा रहेका उच्च अधिकृतहरुले आफ्नो मान्छेलाई मनपरी ढंगले दिएको आरोप समेत लागेको छ । कार्य सम्पादन मूल्यांकनबाट प्राप्त हुने अंकलाई एक सय मान्दा ८० भन्दा बढी दिनुपर्दा कारण खुलाउनुपर्छ ।

असाधारण काम गर्ने अधिकृतलाई दिइने नम्बरमा मनोमानी गर्दै आफ्ना निकटस्थलाई ९० नम्बर सम्म दिएको भेटिएको स्रोत बताउँछ । पहुँच नहुने बरिष्ठतम अधिकृतहरुलाई भने ८० भन्दा तलको अंक दिइएको छ ।

पदोन्नतिका क्रममा बिभुषणलाई ३ नम्बर दिने व्यवस्था नियमावलीमा छ । बिभुषण ऐन ०६४ अनुसार बिभुषण अन्तर्गत मानपदवी, अलंकार र पदक पर्छन् । तर, यसपटक महासेनानी बढुवा सिफारिसका क्रममा पदकलाई अंक नदिई आफू निकटस्थको नम्बर माथि पार्न खोजिएको आरोप समेत लागेको छ ।

निवेदनको सुनुवाई नै भएन

पदोन्नतिका लागि बोर्डले दिएको नम्बर पारदर्शी नभएको भन्दै उजुरी परेको छ । पदोन्नतिका लागि सिफारिस भएका ४७ जनाको नाम सार्वजनिक भएपछि असन्तुष्ट भएका केही अधिकृतले नियम अनुसार उजुरी पनि दिए ।

प्रमुख सेनानी मनोज खत्री र खन्नु मुन्ना राईले आफूहरु के कारणले पदोन्नति सिफारिसमा नपरेको भनी निवेदन दिएकोमा त्यसको सुनुवाई नभएको भन्दै लिखित र मौखिक उजुरी सरकारसमक्ष पुगेको स्रोतले जनाएको छ ।

सैनिक नियमावली अनुसार निवेदन दिने अधिकृतहरुलाई जंगी अड्डाले लिखित जवाफ दिनुपर्छ । तर, बरिष्ठता क्रममा रहेर पनि बढुवा नपाएका ती अधिकृतको निवेदनको कुनै सुनुवाई नै भएन ।

नियमावलीमा आफूले कति अंक प्राप्त गरेको हो भनेर हेर्न पाउने व्यवस्था छ । तर, सो व्यवस्थालाई यसपटक लत्याइएको र अपारदर्शी रुपमा अंक तलमाथि गरिएको आरोप सेनापतिमाथि लागेको छ ।

रक्षामन्त्री भन्छन्– नियमावलीले मर्का पारेको छ

अन्यायमा परेका अधिकृतहरुले सबैभन्दा पहिले आफ्नै संगठनमा गुनासो गरे । तर प्रधानसेनापतिले न्याय गर्न नसकेपछि उनीहरु रक्षामन्त्रालय पुगे । रक्षामन्त्रीले बढुवा सिफारिसमा मनोमानी भएको भन्दै जस्ताको तस्तै पास नहुने बताए पनि सो फाइल मन्त्रिपरिषद पुगिसकेको छ ।

प्रधानमन्त्रीपछिको दोस्रो बरियताका उपप्रधानमन्त्री ईश्वर पोखरेल मन्त्री भएको बेला पनि रक्षा मन्त्रालय जंगी अड्डाको आदेश तामेली गर्ने अड्डाबाट माथि उठ्न नसकेको यो प्रकरणले पनि पुष्टि गरेको छ । विवादमा परेको बढुवा सिफारिस पुनर्विचार गर्न रक्षमन्त्रीले प्रधानसेनापतिलाई फिर्ता पठाउन सक्थे तर किन गरेनन् ?

यसबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले सैनिक नियमावली अनुसार आएको प्रस्तावलाई मन्त्रालयले फिर्ता पठाउन नसकेको बताए । उनले यो नियमावलीकै कारण धेरै सैनिक अधिकृतमाथि मर्का परेको बारे आफू जानकार हुँदै हुँदै पनि कानुनसम्मत सिफारिस अगाडि बढाउनुको विकल्प नरहेको जवाफ दिए ।

पोखरेलले भने, ‘नियमावलीका कतिपय प्रावधानले चेन अफ कमाण्डलाई असर गर्ने देखिएको छ । यसबीचमा यही प्रक्रियाबाट चार/पाँच बेसिकका अधिकृतको बढुवा भइसकेको रहेछ । अब नियमावलीमा समयानुकुल परिमार्जन गर्दै जानुपर्छ भन्ने मेरो सोचाइ छ ।’

रक्षामन्त्रालयले पदोन्नतिलाई पारदर्शी र स्वीकार्य बनाउन पदोन्तनति बोर्डले दिएको सम्पूर्ण अंकहरुका विवरण माग गर्न सक्ने रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

तर, निमायवली देखाएर प्रधानसेनापति क्षेत्रीको मनपरी भने जारी रहेको गुनासो केही सैन्य अधिकारीहरुले गरेका छन् ।

अवकाशको मुखमा बढुवामा चलखेलजस्ता कार्यमा सेनापति आफैं संलग्न हुँदा रक्षामन्त्रालयले रोक्न नसकेको उच्च सैनिक अधिकृतहरुले टिप्पणी गरेका छन् ।

जाँदाजाँदै सेनापतिले सैनिक संगठनलाई दीर्घकालीन असरपर्ने खालका काम गरिरहेको भन्दै संसदको राज्य व्यवस्था समिति र सभामुख समक्ष पनि उजुरी हाल्ने तयारी सैनिक अधिकृतहरुले गरेको स्रोतले अनलाइनखबरलाई बतायो ।

२०७५ जेठ ३१ गते २:१५ मा प्रकाशित (२०७५ जेठ ३० गते २०:०३मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

४ प्रतिकृयाहरू प्राप्त
  • hariram tamang लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते ५:४९

    Mathillo nikayama
    yasto thicho micho xa tallo nikayama kasto hola ? kalkana gari saknu xaina.

    0
    0
    Share

  • बिनोद तामाङ लेख्नुहुन्छ    |   २०७५ जेठ ३१ गते १२:४९

    प्रधानसेनापतिको कारण सैनिक संगठन ध्वस्त हुनसक्छ । सम्मानित प्रधानमन्त्रीज्युको ध्यान यस बिषयमा केन्द्रित हुन आवश्यक छ ।
    सैनिक नियमावली २०६९ मा व्यवस्था भए बमोजिम नेपाली सेनाको महासेनानी पदमा बढुवाको निम्ति ।
    परिच्छेद ३
    ३२. बढुवाको आधार: (१) नेपाली सेनाको जुनसुकै पदमा बढुवा हुनको लागि निम्नबमोजिमको आधारहरु पुरा गरेको हुनुपर्दछ ।
    (क) अनुसूची ६ बमोजिमको तालिम पुरा गरेको (ख) कार्यसम्पादन मूल्यांकनमा योग्य देखिएको (ग) न्यूनतम सेवा अवधि पुरा गरेको (घ) स्वास्थ्य वर्गीकरण (मेडिकल क्याटागोरी) मा योग्य ठहरिएको
    (२) उपनियम (१) को आधारमा बढुवा गर्दा जेष्ठतालाई प्राथमिकता दिनुपर्नेछ
    उपनियम (१) को योग्यता सम्बन्धि विवरण बढुवा समितिको बैठक बस्नु अगावै अधिकृतको हकमा सैनिक सचिव बिभाग र अन्यको हकमा सम्बन्धित कार्यालयले बढुवा समितिलाई उपलब्ध गराउनु पर्नेछ
    ३३. बढुवा समिति: (१) (ग) नेपाली सेनाका महासेनानी पदमा बढुवाको लागि सिफारिस गर्न देहाय बमोजिमको बढुवा समिति रहनेछ :-
    (१) रथी – अध्यक्ष (२) निरीक्षणाधिकृत – सदस्य (३) कार्यरथी – सदस्य (४) व्यवस्था तथा युद्ध महानिर्देशक – सदस्य (५) सैनिक विनय महानिर्देशक – सदस्य (६) कमाण्डमा रहेका उपरथीहरु मध्ये
    ३८. को (७) उपनियम (३) को प्रयोजन(बढुवा) का लागी देहाय बमोजिमको शिर्षकमा अङ्क प्रदान गरिनेछ । यसरी प्रदान गरिने अंकको बिभाजन अनुसूची -९ र मूल्यांकन फारम अनुसूची -१० बमोजिम हुनेछ ।
    (क) क्याडेट जेष्ठता वापत १० (ख) कायमी सेवा वापत १७ (ग) कार्य सम्पादन मूल्यांकन वापत ३३ (घ) तालिम (ग्रेडिङको आधारमा) वापत २८ (ङ) भौगोलिक / चुनौतिपूर्ण क्षेत्र वापत ६ (च) विभूषण वापत ३ (छ) बढुवा समितिको मूल्यांकन वापत ३
    जम्मा १००
    नियमावलीमा उल्लेखित नियमहरुभन्दा बाहिर गएर नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्णेल)हरुको अनुभव,कार्यक्षमता, कार्यदक्षता, वरिष्ठता र योगदानको उचित मुल्यांकन नगरि ,संसारको कुनै पनि सेनामा प्रचलित बढुवा प्रणालीको बर्खिलाप र सैनिक निमायवलीको आफूखुसी ब्याख्या गरी, जागिर खाएको २९ वर्ष अवधि पुगेका र २० वर्षमात्र पुगेका सबैलाई एकै दर्जामा राखेर प्रतिस्पर्धा गराउँदा नम्बर पनि मनोमानी र अपारदर्शी ढंगबाट दिएको, बढुवा शिर्षकमा प्रदान गरिनुपर्ने अंक बिपरित ९ वर्ष बरिष्ठलाई पनि कनिष्ठ बनाई आफ्ना इष्टमित्र नातेदारहरुलाई अगाडि बढाउने कुनियत राखी महासेनानी (फुल कर्णेल) बढुवा सिफारिस गरिएको देखिएकोले, लामोसमयसम्म आफ्नो संगठनमा इमान्दारीपूर्वक लागिपरेका, सैनिक संगठनको सबैभन्दा महत्वपूर्ण तालिम स्टाप कलेजमा विशिष्टता हासिल गरेका , सैनिक संगठनका बिभिन्न युनिटमा रहदा महत्वपूर्ण बिशेष यागदान स्वरूप मान, पदवी, अलंकारबाट विभूषित, शान्ति मिसनमा खटिदा देशको शिर उचो पार्ने कार्य गरेका, भावी प्रधानसेनापति हुनसक्ने योग्य सैनिक अधिकृतहरुको मनोबल गिराउने काम गरि चेन अफ कमाण्डमा बिचलन ल्याउने खालको कार्य अवकाश हुनै लागेका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरेको हुँदा उक्त बढुवा सिफारिस फिर्ता मात्र होइन, प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग स्पष्टिकरण समेत लिन आवश्यक छ प्रधानमन्त्रीज्यु !

    1
    0
    Share

  • Krishna N S Thapa लेख्नुहुन्छ    |   २०७५ असार १ गते १७:५२

    Ridiculous. The Promotion Board must give enough reasons to support their decision why they have decided to promote an officer 9 years junior superseding so many seniors depriving of their seniority. Which in fact as per the promotion rules mentioned above is not correct . Army in any country is a very protocol conscious organisation and the chain of command is maintained by seniority. Losing of ones seniority is considered punishment and normally the superseded officers do not serve under a junior commander with the same moral and spirit. Besides the NA’s promotion rules has clearly given consideration for the seniority. If the promotion board considers taking into conditions all the criteria and finds number of officers fit for promotion then the promotion should take place as per their service seniority as and when the vacancies occur. It is never with the logic that who so ever gets the more marks he or she gets the priority for promotion. The junior most guy who gets the highest marks has already been rewarded by superseding all his course mates and other senior officers of other senior courses who have no made the board. This should be the spirit of the fast track promotion. Otherwise it would turnout to be Crash Track promotion which is the long term will definitely ruin the moral and chain of command of the NA.

    0
    0
    Share

  • Krishna N S Thapa लेख्नुहुन्छ    |   २०७५ असार १ गते १८:१०

    I think there was a flaw in the past when the Fast Track System was introduced. It was highly controversial then and the NA should have corrected the flaws in time. The same flaws should not have been repeated again. I do hope the NA will not be drawn under such controversial issues again. I do believe the NA is in good hands to handle such situations. Long live NA.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this