
३१ जेठ, झापा । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहीबार बिहान सुरक्षित रुपमा बम निष्क्रिय बनाएको हो ।
दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै अाएका छन् । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो ।
उनले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गरेका थिए ।
फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, करिब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन ।
प्रतिक्रिया 4