Comments Add Comment

प्रधानमन्त्री ओलीको चीन भ्रमणका ५१ ‘उपलब्धि’

सुपुर्दर्गी सन्धि र पारवाहनको प्रोटोकलमा छलफल बाँकी

९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने भ्रमण सकेर आइतबार नेपाल फर्कंदैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका उपलब्धि केके भए भन्ने विषयमा सूक्ष्म विश्लेषणका लागि समय पाकिसकेको छैन ।

हामीले यहाँ नेपाल र चीनवीच के कस्ता विषयमा सहमति भए भन्नेबारे ५१ वटा बुँदामा सूचना दिने प्रयास गरेका छौं ।

प्रधानमन्त्री ओलीको भ्रमणको सबैभन्दा ठूलो उपलब्धि भनेको केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति हो । राजनीतिक र कूटनीतिक रुपमा पनि यो भ्रमणले दुई देशवीच केही मात्रामा आपसी विश्वास र सदभाव थपेकै हुनुपर्छ ।
तर, यो भ्रमणमा विगतको ट्रान्जिट ट्रान्सपोर्ट सम्झौताको प्राटोकोलमा भने ठोस प्रगति हुन सकेन ।

यसैवीच ओलीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ पक्षले नेपालसँग सुपुर्दर्गी सन्धीको प्रस्ताव उठाएको थियो । पश्चिमा शक्ति खासगरी अमेरिका र दक्षिणी छिमेकी भारतको विशेष चासो रहनसक्ने यो सुपुदर्गी सन्धिका विषयमा छलफल गर्न नेपाली पक्षले सहमति जनाएको छ ।

आखिर, प्रधानमन्त्री केपी ओलीको ६ दिन लामो चीन भ्रमणमा उत्तरी मित्रराष्ट्र चीनसँग के-कस्ता विषयहरुमा सम्झौता, समझदारी र छलफल भए त ?

भ्रमणका ‘उपलब्धि’ हरु यस्ता छन्ः

१. दुवै देशले संयुक्त राष्ट्रसंघ र अन्य बहुदेशीय मञ्चहरुमा विकासशील, अतिकम विकसित र भूपरिवेष्ठित राष्ट्रहरुका साझा मुद्दामा सहकार्य बलियो बनाउने ।

२. चीनले सांघाई को-अपरेसन अर्गनाइजेसनमा नेपालको अब्जर्भर स्टाटस प्राप्त गर्ने चाहनालाई महत्व दिँदै अन्य सदस्य राष्ट्रहरुसँग सहमतिका आधारमा यसबारेमा विचार गर्ने ।

३. दुवै देशले एक अर्काको क्षेत्रीय सहकार्य प्रक्रियामा सहभागितालाई सकारात्मक रुपले लिने र सहयोग गर्ने । एससीओ, सार्क र अन्य क्षेत्रीय सहकार्य संयन्त्रभित्र सहमति भएका प|mेमवर्क र निर्देशन अनुसार सहकार्य र समन्वय गर्ने ।

४. दुवै देशले विश्व व्यापार संगठनअन्तर्गत अझै खुल्ला, समावेशी र सन्तुलित आर्थिक विश्वव्यापीकरणसँगै एलडीसी र एलएलडीसीलाई विशेष प्राथमिकता दिने ।

५. दुवै देशले नेपाल-चीनको विस्तृत सहकार्य र साझेदारीलाई प्रवर्द्धन गर्दै सधैं रहने मैत्रीसम्बन्धलाई महत्व दिने ।

६. चिनियाँ नेताहरुलाई यसै वर्ष नेपाल भ्रमणका लागि प्रधानमन्त्री केपी ओलीले निम्तो गरेकोमा उपयुक्त समयमा नेपाल भ्रमण गर्ने । यसबारे कुटनीतिक तहबाट कुराकानी गर्ने ।

७. दुवै देशले चीन-नेपाल स्वतन्त्र व्यापार सम्झौताको संयुक्त सम्भाव्यता अध्ययन गर्ने र रचनात्मक रुपमा लागिपर्ने ।

८. सन् २०१६ मा दुई देशबीच भएको ट्रान्जिट ट्रान्सपोर्ट सम्झौता अनुसार ट्रान्जिट यातायातमा सहकार्यको महत्वलाई जोड दिने । दुवै देशका समकक्षी अधिकारीहरुले सम्झौता सुरुवाती चरणमा लागु गर्न प्रोटोकलको छलफललाई तिव्रता दिने ।

९.बेल्ट एण्ड रोड परियोजनामा गरिएको समझदारी पत्रको कार्यान्वयन गर्ने । कनेक्टिभिटीका मुख्य तत्वहरु सम्बोधन गर्दैै बन्दरगाह, रोड, रेल्वे, उड्ययन र सूचनालाई ट्रान्स हिमायलय बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत व्यापक बनाउने । व्यवहारिक मापदण्ड अनुसार समझदारी पत्रमा रहेका सबै क्षेत्रहरुको प्रवर्द्धन गर्ने ।

१० नेपालको पूर्वाधार निर्माण र अन्य उत्पादनमूलक क्षेत्रमा अझै धेरै चिनियाँ लगानी प्राप्त गर्न नेपालका कानून र नीतिहरुलाई सजिलो बनाउने । निवेदन, जग्गा, करसम्बन्धी र भिसा सजिलो बनाई लगानी अनुकुल वातावरण सिर्जना गर्ने र चिनियाँ कम्पनीहरुका लागि व्यापारको वातावरण बनाउने ।

११. चीनले लार्चास्थित तातोपानी फ्रन्टियर इन्सपेक्सन स्टेसन प्रोजेक्ट र टिमुरे रसुवागढी स्थित प|mन्टियर इन्स्पेक्सन स्टेसनको पोस्ट डिजास्टर रिकभरीमा सहयोग गर्ने । दुवै फ्रन्टियर इन्स्पेक्सन प्रोजेक्टको निमार्णका लागि नेपालले आफ्नो पूरा समर्थन र व्यापक सहकार्य गर्ने ।

१२. नेपाल चीन सीमा नाकामा अन्य सुख्खा बन्दरगाहको विकासका लागि काम गर्ने ।

१३. रेल्वेका लागि विभागबीचमा दिगो सञ्चार संयन्त्र स्थापना गरी रेल्वे सहकार्यलाई प्रवर्द्धन गर्ने । चिनियाँ पक्षले प्राविधिक सहयोग र तालिम दिने ।

१४. रोड कनेक्टिभिटी, रेल्वे कनेक्टिभिटी, हाइड्रोपावर र प्रशारण लाइन र अन्य नेपालले प्रस्ताव गरेका परियोजनाहरुको वित्तीय मोडालिटिका बारेमा छलफल गर्ने ।

१५. नेपालले पहिचान गरेका स्थानहरुमा इन्धन भण्डारण सुविधा बनाउनका लागि सम्भाव्यता अध्ययन गर्ने ।

१६. नेपालमा तेल र ग्यासका स्रोतहरुको सम्भाव्यता अध्ययनका लागि चीनले सहयोग गर्ने ।

१७. सीमापार प्रशारण लाइन बनाइदिन नेपालले गरेको प्रस्तावमा चीनले चिनियाँ कम्पनीहरुलाई सम्भाव्यता अध्ययनका लागि प्रोत्साहन गर्ने ।

१८. दुई देशबीचको व्यापार, पर्यटन र लगानीलाई प्रवर्द्धन र सजिलो बनाउन चीनले चिनियाँ बैंकहरुलाई नेपालमा विद्यमान नीति र नियमभित्र रही शाखा खोल्न सहयोग गर्ने । यसमा नेपालले त्यस्ता बैंकहरुलाई नेपाली बजारमा प्रवेश गर्न आवश्यक नीति र नियामक सहयोग गर्ने ।

१९. नेपालको उत्तर दक्षिण आर्थिक कोरिडोर विकासलाई गति दिन कोशी आर्थिक कोरिडोर, गण्डकी आर्थिक कोरिडोर र कर्णाली आर्थिक कोरिडोर निर्माण गर्ने ।

२०. नेपालबाट चीनमा हुने निर्यातलाई सजिलो बनाउन चीनले सकारात्मक पहल गर्ने । उत्पादन विकास र कृषि उत्पादनको भण्डारण प्रविधिका लागि प्राविधिक र वित्तीय सहयोगका लागि विचार गर्ने ।

२१. चीनले नेपालमा प्रयोगशाला र क्वारेन्टाइन सुविधा स्थापनाका लागि प्राविधिक सहयोगका वारेमा विचार गर्ने । थप ट्रेड रुट खोल्नका लागि र आपसी सहमति मार्फत वित्तीय कारोबारहरु बैंकिङ च्यानलबाट गर्न प्रोत्साहन गर्ने ।

२२. सीमा क्षेत्रको प्रशासनको सहकार्य बलियो बनाउन र अवैध सीमा पार र अन्तराष्ट्रिय अपराध नियन्त्रणका लागि आपराधिक कार्यहरुमा आपसी कानूनी सहायता सन्धी र सुपुर्दगी सन्धीका बारेमा छलफल गर्ने ।

२३. सीमा सुरक्षा र व्यवस्थापनका लागि सहकार्य अझै सुमधुर बनाउने र सीमा व्यवस्थापन प्रणालीमा सम्झौताका लागि छलफल गर्ने ।

२४. चिनियाँ र नेपाल एयरलाइन्सहरुलाई दुई देशबीचमा भएको द्वीपक्षीय वायु सेवा सम्झौताको प्रावधान अनुसार अझै धेरै सिधा उडान गर्न प्रोत्साहन गर्ने ।

२५. पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणलाई गति दिन सहकार्य गर्ने र तोकिएको भन्दा अगाडि नै सञ्चालनमा ल्याउन सहकार्य गर्ने ।

२६. नेपाल चीन सीमापार फाइबर केवलको सफल व्यावसायिक सेवा सञ्चालन भएकोमा सूचना र प्रविधिमा आपसी फाइदाका लागि सहकार्यलाई अझै बलियो बनाउने ।

२७. जतिसक्दो चाँडो जाङ्मु/खासा नाकालाई फेरि सञ्चालन गर्ने । जिलोङ/केरुङ नाकाको सञ्चालनमा सुधार गर्ने ।

२८. अरनिको राजमार्गको सहज सञ्चालनमा सुनिश्चितता र मर्मत सम्भार गर्ने ।

२९. स्याफ्रुबेसी रसुवागढी राजमार्गको सुधार गर्ने ।

३०. पुलन/यारी नाकाको हिल्सामा कर्णाली नदीमाथि पुल बनाउने ।

३१. तातोपानी नाका वरिपरि र अरनिको राजमार्ग पुनर्निर्माण गर्ने ।

३२. काठमाडौं-स्याफ्रुबेसी राजमार्ग मर्मतसम्भार गर्ने ।

३३. चीनले चेङदुमा महावाणिज्य दुतावास स्थापना गर्ने नेपाल सरकारको प्रस्तावमा गम्भीर अध्ययन गर्ने ।

३४. मदन भण्डारी इन्स्िटच्युट अफ साइन्स एण्ड टेक्नोलोजी स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने ।

३५. दुवै देशले दुई देशबीचका विभिन्न शहरहरु बीच सिस्टर सिटी सम्बन्ध स्थापनाका लागि प्रोत्साहन गर्ने ।

३६. चीनले तिब्बत स्वशासित क्षेत्रका साथै सिचुवान, युनान र क्विङगाई र अन्य प्रान्तहरुलाई व्यापार, पर्यटन एवं लगानी बढाउनका लागि प्रोत्साहन गर्ने ।

३७. चाइना इन्टरनेशनल ट्राभल मार्टमा नेपालको सहभागितालाई स्वागत गरेको चीनले नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि चिनियाँ मिडिया र ट्राभल एजेन्सीका प्रतिनिधिहरुको नेपाल भ्रमणको व्यवस्था गर्ने ।

३८. चीनले नेपाली पर्यटन व्यवसायीहरुलाई नेपालमा चिनियाँ भाषासम्बन्धी तालिम प्रदान गर्ने । नेपालले शिक्षा मन्त्रालय र चिनियाँ राजदुतावासबीच भएको समझदारी पत्रअनुसार स्वयमसेवी चिनियाँ भाषा शिक्षकहरुलाई कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने ।

३९. चीनले मानव स्रोत विकासका लागि ४०० तालिम अवसर प्रदान गर्ने । अन्य सरकारी छात्रवृत्तिको सङ्ख्या बढाउने ।

४०. चीनले ८ औं चाइना फेस्टिवल र तेस्रो काठमाडौं कल्चरल फोरममा सहभागिता जनाउने ।

४१. कन्फुसियस इन्स्िटच्युटलाई नेपाल-चीन सांस्कृतिक आदान-प्रदान र सहकार्यका लागि चिनियाँ सांस्कृतिक केन्द्रलाई प्रोत्साहन गर्ने ।

४२. आर्थिक, व्यापार, लगानी, औद्योगिक क्षमता, विपत्तिपछिको पुननिर्माण र अन्य आपसी फाइदाको क्षेत्रमा सहयकार्यलाई अझै गहिरो बनाउने ।

४३. नेपालको सम्पदा र विद्यालय पुननिर्माणका लागि चीनले नेपालसँगको सहकार्यलाई निरन्तरता दिने ।

४४. दुई देशबीच हस्ताक्षर भएको एमओयुअनुसार केन्द्रीय र स्थानीय स्तरमा सहकार्यलाई बलियो बनाउने र सीमापार आर्थिक सहकार्य क्षेत्र स्थापना गर्ने ।

४५. चीनले स्थानीय सरकारहरु, चिनियाँ कम्पनीहरु र सामाजिक समूहहरुलाई नेपाली पक्षको उत्पादन क्षमताको सम्भावनालाई बढाउन प्रोत्साहन गर्ने । निर्माण सामग्री, पानी संरक्षण र उर्जा र अर्गानिक कृषि र जडीबुटी जस्ता नेपालसँग भएको स्रोत र फाइदाको उत्पादन क्षमता बढाई सहकार्यलाई बलियो बनाउने ।

४६. चीन सरकारले नेपालको आर्थिक र सामाजिक विकासका लागि आफ्नो क्षमता अनुसार सहयोगलाई निरन्तरता दिने । नेपाललाई दिइने अनुदान सहयोग र आपसी सहमति भएका परियोजनाहरु विपत्तिपछिको निर्माणका लागि समयमा सम्पन्न होस् भन्ने चीनले चाहना व्यक्त गरेको छ ।

४७. नेपालले चीनको सहयोग परियोजनाहरुलाई कार्यान्वयन गर्न एक्सचेन्ज लेटरमा उल्लेख भएअनुसार सहयोग र सहकार्य गर्ने ।

४८. सूचना आदान-प्रदान, क्षमता निर्माण र तालिमहरुका लागि कानून लागु गर्ने एजेन्सीहरु बीच सहकार्यलाई बलियो बनाउने ।

४९. दुवै देशले तालिम, विपतमा सहयोग एवं क्षमता निर्माणका लागि नागरिक र सुरक्षाकर्मीको भ्रमण बढाउने ।

५०. दुबै देशले शिक्षा, संस्कृति, पर्यटन, मिडिया, थिंकट्याङ्क, युवा र जनता-जनता बीचको सम्बन्ध आदान-प्रदान एवं सहकार्य बढाउने ।

५१. नेपाल सरकारका तर्फबाट दुई जोडी एकसिंगे गैंडा चीन सरकारका लागि उपहारस्वरुप दिइएकोमा चीनले त्यसलाई प्रशंसा गरेको छ ।

राजनीतिक क्षेत्रको समझदारी

यसैवीच केपी ओलीको चीन भ्रमणमा दुबै देशको राजनीतिक अवस्थाका विषयमा पनि प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति एवं प्रधानमन्त्रीसँगका छलफलहरुमा केही समझदारी एवं छलफल भयो । उक्त राजनीतिक विषयलाई दुबै देशले जारी गरेको संयुक्त वक्तव्यमा यसरी व्याख्या गरिएको छः

‘नेपाली पक्षले चीनलाई १९ औं चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस सफलतापूर्वक सम्पन्न गरेकोमा बधाइ दियो । त्यस्तै नेशनल पिपुल्स कंग्रेस र चाइनिज पोलिटिकल कन्सल्टेटिभ कन्प|mेन्स २०१८ मा सम्पन्न गरेकोमा बधाइ दियो । नेपाली पक्षले सी जिनपिङ विचारधाराको पथ प्रदर्शनमा चिनियाँ विशेषता अनुसारको समाजवादको सोचद्वारा नयाँ युगमा पुग्ने विश्वास गरेको छ । चिनियाँ जनताले चीनलाई एक समृद्ध, बलियो, प्रजातान्त्रिक, सांस्कृतिक रुपमा आधुनिक र सुन्दर महान आधुनिक समाजवादी देश निर्माण गर्ने दुई शताब्दीको लक्ष्य महसुस गर्ने विश्वास व्यक्त गर्‍यो ।

चिनियाँ पक्षले नेपालाई र नेपाली जनतालाई ऐतिहासिक र महत्वपूर्ण राजनीतिक संक्रमण अन्त्य गर्दै नेपालमा राजनीतिक स्थिरता र आर्थिक विकासको युग सुरु गरेकोमा बधाइ दिएको छ । चीनले नेपालमा तीन तहको निर्वाचन सम्पन्न गरेर नयाँ सरकार गठन गरेकोमा पनि खुसी व्यक्त गरेको छ ।

चीनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालले समृद्ध नेपाल सुखी नेपाली लक्ष्य प्राप्त गर्ने र राजनीतिक स्थिरता, सामाजिक सदभाव र आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ । चिनियाँ पक्षले नेपाललाई आफ्नो क्षमताअनुसार विकासको लक्ष्य प्राप्त गर्नको लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

दुवै पक्षले एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्ने ठोस प्रतिबद्धता व्यक्त गरेका छन् र एक अर्काको चासो र चिन्तालाई सम्मान र ठाँउ दिनेछन् । नेपाली पक्षले आफ्नो एक चीन नीतिको बारेमा ठोस प्रतिबद्धता व्यक्त गरेको छ र तिब्बत र ताइवानको मामिला चीनको आन्तरिक मामिलाको रुपमा लिएको र आफ्नो भूमिमा कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने बताएको छ ।
चीनियाँ पक्षले नेपालको सामाजिक प्रणाली र विकासको मार्गको स्वतन्त्र रोजाइ र नेपालले आफ्नो सार्वभौमिकता रक्षाको लागि गरेको प्रयास, स्वतन्त्रता, क्षेत्रीय एकता राष्ट्रिय एकता र स्थिरताको लागि दृढ समर्थन गरेको छ ।’

कूटनीतिक समझदारी र उपलब्धिहरु

नेपाली प्रमण्डलको चीन भ्रमणमा दुईदेशवीच सहकार्य र सहयात्राका लागि कूटनीतिक समझदारीहरु भएका छन् । यी समझदारीलाई संयुक्त वक्तव्यको प्रारम्भिक खण्डमा यसरी व्याख्या गरिएको छः

‘दुवै पक्ष (देश) द्वीपक्षीय सम्बन्धको विकासका लागि उच्चस्तरीय सम्पर्कले विशेष महत्व राख्ने विश्वास गर्छन् । दुवै पक्षले नेताहरुको बीचमा द्विपक्षीय र बहुपक्षीय अवसरहरुमा साझा चासोको विषयमा धारणाहरु व्यक्त गर्न उच्चस्तरीय आपसी भ्रमण र भेटवार्ताहरु आवश्यक हुने विश्वास व्यक्त गरेका छन् ।

दुवै पक्ष द्वीपक्षीय परामर्श संयन्त्र र संयुक्त आर्थिक र व्यापार समितिको वैठक लाई समावेश गरेर आदान-प्रदान र सहकार्य सरकारी मन्त्रालयहरु, विभाग, संसद र राजनीतिक दलहरु सबै स्तरमा अहिले भएका संयन्त्रहरुको पूर्ण प्रयोगका लागि सहमत भएका छन् ।’

यो सामाग्री संयुक्त वक्तव्यमा आधारित रहेर तयार पारिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment