Comments Add Comment

मौद्रिक नीतिमा कहाँ अल्मलियो राष्ट्रबैंक ?

अहिलेसम्म बोर्डमै पुगेन मौद्रिक नीतिको ड्राफ्ट

फाइल फोटो

१६ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौदि्रक नीति सार्वजनिक गर्न नेपाल राष्ट्र बैंक अल्मलिएको छ । यसअघि शुक्रबार नै मौदि्रक नीति सार्वजनिक गर्ने भनिए पनि आन्तरिक तयारी नपुगेको भन्दै राष्ट्र बैंकले नीति सार्वजनिक गर्न सकेन ।

सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि बजेट ल्याएको एक महिना बितिसकेको छ । तर, सोही बजेट कार्यान्वयनको सहजताका लागि ल्याउनुपर्ने मौदि्रक नीति कहिले सार्वजनिक गर्ने भन्ने विषयमा राष्ट्र बैंक अहिलेसम्म अल्मलिएको छ ।

राष्ट्र बैंकले ल्याउने मौऽकि नीतिको संयोजनवाट नै आर्थिक वृद्धिका लागि आवश्यक नगदको व्यवस्थापन र मूल्यवृद्धि नियन्त्रणको उपाय अवलम्बन गर्ने गरिन्छ । त्यसैले सरकारले चाँडै बजेट ल्याएका बेला त्यसलाई सघाउन मौद्रिक नीति पनि चाँडो आउनुपर्ने विज्ञहरुले बताउँदै आएका छन् ।

विगतलाई हेर्ने हो भने सरकारले असार मसान्तमा बजेट ल्याउँदा राष्ट्र बैंकले त्यसको एक हप्तापछि मौऽकि नीति ल्याउने गरेको थियो । तर, यो वर्ष भने आर्थिक वर्ष ०७५/०७६ को बजेट सरकारले जेठ १५ गते नै ल्याइसकेको छ । उक्त बजेट यही साउन १ गतेदेखि कार्यान्वयन हुनेछ । र, त्यही बजेटलाई सहयोग गर्नका लागि राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने प्रचलन रही आएको छ ।

मौद्रिक नीति असारको पहिलो साता नै सार्वजनिक गर्ने भनिए पनि दोस्रो साता नाघिसक्दा पनि सार्वजनिक नहुँदा विभिन्न शंका, आशंका उब्जिएका छन् ।

राष्ट्र बैंकको आन्तरिक विवादका कारण मौदि्रक नीति सार्वजनिक भएको हो कि भन्ने विषयमा पनि तर्क-वितर्क शुरु भइसकेको छ ।किनभने यसअघि राष्ट्र बैंकका कर्मचारी र व्यवस्थापनवीच विवाद बढेका समाचारहरु सार्वजनिक हुँदै आएका छन् ।

किन ढिलाइ गर्दैछ राष्ट्र बैंक ?

मौद्रिक नीति सार्वजनिक हुन ढिलाइ हुनुको कारण आन्तरिक विवाद भने नभएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताउँछन् ।पौडेलका अनुसार ढिलाइ हुनुमा विवाद नभएर अन्य कारणहरु रहेका छन् ।

मौद्रिक नीति सार्वजनिक हुनुमा ढिलाइ हुनुको एउटा कारण गभर्नर सम्मेलन भएको राष्ट्र बैंकले बताएको छ । गभर्नर सम्मेलनको तयारीका कारण मौदि्रक नीतिमा ढिलाइ भएको प्रवक्ता पौडेलले अनलाइनखबरलाई बताए ।

प्रवक्ता पौडेलले ढिलाइ हुनुको अर्को रहस्य खोलेका छन् ।गभर्नर सम्मेलनअघि नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भए पनि अर्थसचिव देश बाहिर भएकाले समेत ढिलाइ भएको उनले बताए ।’पहिले अर्थसचिव देश बाहिर भएकाले ढिलाइ भएको भन्ने सुनेको हुँ’ प्रवक्ता पौडेलले भने, ‘पछिल्लो समयचाहिँ गभर्नर सम्मेलनकै कारण ढिलाइ भएको हो, शुक्रबार सम्मेलन सकिएको छ र अब आगामी सातासम्म मौद्रिक नीति आउँछ ।’

बोर्डमा नै पुगेको छैन मौद्रिक नीतिको खाका

नेपाल राष्ट्र बैंकले तयार पारेको भनिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको खाका राष्ट्र बैंक बोर्डमा अहिलेसम्म पुग्न सकेको छैन । मौद्रिक नीतिको खाका तयार भएपछि छलफलका लागि राष्ट्र बैंकको बोर्डमा लग्नुपर्ने र बोर्डले पारित गरेपछि मात्रै मौदि्रक नीति सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

तर, असार पहिलो साता नै सार्वजनिक गर्ने भनिएको मौदि्रक नीति असार दोस्रो साता सकिँदासम्म पनि छलफलका लागि राष्ट्र बैंकको बोर्डमा पुग्न सकेको छैन ।मौद्रिक नीतिको खाका हालसम्म पनि बोर्ड पुग्न नसकेको प्रवक्ता पौडेलले स्वीकार गरेका छन् । आन्तरिक केही समस्याका कारण छलफलका लागि मौद्रिक नीतिको खाका बोर्डमा पुग्न नसकेको प्रवक्ता पौडेलले बताए ।

आगामी सातासम्म आउने दाबी

प्रवक्ता पौडेलका अनुसार गभर्नर सम्मेलन शुक्रबार सकिएकाले अब आइतबार वा सोमबार नै छलफलका लागि राष्ट्र बैंक व्यवस्थापनले बोर्डमा मौद्रिक नीतिको खाका पेश गर्नेछ ।
मौद्रिक नीतिको खाका छलफका लागि बोर्डमा आइतबार वा सोमबार नै लगिने र बोर्डले पास गरेलगत्तै मौदि्रक नीति सार्वजनिक गर्ने तयारी थालिने प्रवक्ता पौडेलको दाबी छ ।
आगामी साताभित्र मौद्रिक नीति सार्वजनिक हुनेमा आफू आशावादी रहेको उनले बताए ।

उता बैंकरहरु भने मौद्रिक नीतिको व्यग्र प्रतिक्षामा छन् । बैंकिङ क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने गरी मौदि्रक नीति आउला कि नआउला भन्ने चिन्ता रहेको एक बैंकरले बताए । ‘बैंकिङ क्षेत्रमा लामो समय तरलताको समस्या झेल्न पर्‍यो’ ती बैंकरले भने- ‘हामीलाई आशा छ, अब आउने मौद्रिक नीतिले तरलताको दीर्घकालीन समस्या समाधान गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment