Comments Add Comment

बैंकको संख्या घटाउने ‘बिग मर्जर’ बारे विज्ञको मत बाझियो

राष्ट्र बैंकका अधिकारी भन्छन्- छलफलै भएको छैन

१९ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा यतिबेला ‘बिग मर्जर’को विषय चर्चामा छ । नेपाल राष्ट्र बैंकले यसअघि पूँजी वृद्धिको योजना ल्याएर बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने राणनीति लिएको थियो । अहिले मौद्रिक नीति आउन लागेका बेला राष्ट्र बैंक मर्जर नीतिबारे अलमलमा परेको छ ।

राष्ट्र बैंकको पूँजी वृद्धिको योजना अनुसार ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको संख्या धेरै घटेको छ । तर, ‘क’ वर्गका वाणिज्य बैंकहरुको हकमा भने पूँजी वृद्धिको योजनाबाट संख्या घटाउन राष्ट्र बैंक सफल हुन सकेको छैन ।

पूँजी वृद्धिको योजना आउनु अगाडिसम्म ३२ वटा रहेका वाणिज्य बैंकहरुको संख्या हाल २८ वटामा झरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकको संख्या एक दर्जनमा सीमित गर्ने गरी उक्त योजना ल्याएको थियो । त्यो चाहना पूरा नभएपछि यसपटक भने आफ्नो योजनामा सफलता पाउने गरी ठूला बैंक मर्ज गर्न ‘बिग मर्जर’को नीति ल्याउने राष्ट्र बैंकको तयारी छ ।

अगामी मौदि्रक नीतिमा समेटिने भनिएको बिग मर्जरको विषयमा अर्थविदहरुको धारणा भने फरक देखिएको छ ।
‘जसले अनुमति दियो, उसैले बैंकको संख्या घटाउने ?’

लक्ष्य स्पष्ट नभएसम्म बिग मर्जरको आवश्यकता नरहेको पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । जसले सञ्चालन अनुमति दियो, उसले नै बैंकको संख्या धेरै भयो भनेर जबर्जस्त मर्ज गराउनु उपयुक्त नहुने पूर्वगभर्नर क्षेत्रीको प्रतिक्रिया छ ।

‘हिजो राष्ट्र बैंकले लिएको पूँजी वृद्धिको योजनाले अपेक्षित नतिजा ल्याउन सकेन, बरु पुँजी वृद्धि गर्न नसके पनि हामी मर्ज हुँदैनाैं भनेर अडान लिएर बसेको देखियो’ अनलाइनखबरसँगको कुराकानीमा क्षेत्रीले भने, ‘निश्चित उद्देश्य नभई केवल परीक्षणका लागि जर्वजस्त मर्ज गर्नु राम्रो होइन ।’

बिग मर्जर आवश्यक छः डा. रावल

अर्का पूर्वगभर्नर डा. तिलक रावल भने विदेशी बैंक, वित्तसँग समेत स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने बनाउनका लागि बिग मर्जर आवश्यक रहेको बताउँछन् ।

बैंक, वित्तलाई बलियो बनाउन राष्ट्र बैंकले पूँजी वृद्धिको योजना ल्याएको तर यसले बलिया-बलिया बैंकहरु गाभिएर अझ बलियो बन्न नसेकका कारण अब बलिया र ठूला बैंकहरु नै एक आपसमा गाभिनुपर्ने डा. रावलको धारणा छ ।

‘हिजो बलियो बैंकले कमजोर बैंकलाई र कमजोर-कमजोर बैंकहरुमात्रै एक आपसमा गाभिए’ अनलाइनखबरसँगको कुराकानीमा रावलले भने- ‘नेपालका बैंकहरु विदेशी बैंकसँग पनि स्वस्थ प्रतिस्पर्धा गर्न सक्षम हुनु आवश्यक छ र यसका लागि ठूला-ठूला बैंकहरु एक आपसमा मर्ज हुनुपर्छ ।’

हतारमा मर्ज गर्ने नीति गलतः डा. खनाल

राष्ट्र बैंकले हतारमा मर्ज गर्ने गरी नीति ल्याउन नहुने अर्थविद डा. डिल्लीराज खनालको भनाइ छ । यसअघि हकप्रद जारी गरेर पूँजी पुर्‍याउन दिएका कारण राष्ट्र बैंकको लक्ष्य पूरा हुन नसकेको भन्दै हतारमा नभई विचार पुर्‍याएर मर्जरको निर्णय लिएमात्रै लक्ष्य प्राप्ति गर्न सकिने अर्थविद डा. खनाल बताउँछन् ।

बिग मर्जरको नीति ल्याउने कि नल्याउने भन्ने विषयमा गभर्नर डा. चिरञ्जीवी नेपालले भनेे निर्णय लिन सकेका छैनन् । यस विषयमा अर्थमन्त्री डा. युवराज खतिवडाले समेत विशेष चासो दिएकाले गभर्नर नेपालले अन्तिम निर्णय लिन नसकेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

अर्थमन्त्री खतिवडाको समर्थन पाएको खण्डमा भने गभर्नरले बिग मर्जरको नीति मौद्रिक नीतिमा समावेश गर्ने ती अधिकारीको दाबी छ ।

बिग मर्जरका विषयमा छलफल नै भएको छैन- राष्ट्र बैंक

बाहिर हल्ला चले पनि राष्ट्र बैंकमा भने बिग मर्जरको विषयले ठाउँ नपाएको कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । असार अन्तिम सातासम्म मौद्रिक नीति आउने गरी तयारी भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक थापाले बिग मर्जरको विषयमा भने कुनै पनि छलफल नभएको अनलाइनखबरलाई बताए ।

कार्यकारी निर्देशक थापा राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुखसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment