Comments Add Comment

चुक्ता पूँजीमा कमजोर देखिए जीवन बीमा कम्पनी

एउटाबाहेक अरुले पुर्‍याउन सकेनन् २ अर्ब


२० असार, काठमाडौं । चुक्तापूँजीमा जीवन बीमा कम्पनीहरु कमजोर देखिएका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दासमेत एउटाबाहेक अन्य जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी पुर्‍याउन सकेका छैनन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीमध्ये  वैशाख मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बीमा समितिले तोकेअनुसारको चुक्ता पूँजी पुर्‍याउन सफल भएको छ ।

बीमा समितिले चालु आर्थिक वर्षको असार मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी २ अर्ब पुर्‍याउन निर्देशन दिएको थियो । बीमा समितको निर्देशनअनुसार  चालु आर्थिक वर्षको १० महिनासम्ममा नेपाल लाइफले तोकिएको भन्दा बढी अर्थात ३ अर्ब ९ करोड ६४ लाख २९ हजार रुपैयाँ पुर्‍याएको छ ।

बीमा समितिले उपलब्ध गराएको वैशाखसम्मको तथ्यांकअनुसार अन्य १७ वटा कम्पनीहरुले भने अझै २ अर्ब पूँजी पुर्‍याउन सकेका छैनन् । चालु आर्थिक वर्षको असार मसान्तसम्म ती कम्पनीहरुले तोकिएअनुसारको पूँजी पुर्‍याउन सक्ने सम्भावना पनि कम देखिएको छ ।

पाँच कम्पनीको पूँजी ५० प्रतिशतभन्दा कम

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई दुई अर्ब पूँजी पुर्‍याउन निर्देशन दिएकोमा ५ कम्पनीले समीक्षा अवधिमा त्यसको ५० प्रतिशत अर्थात १ अर्ब पनि पुर्‍याउन नसकेको समितिको तथ्यांकले देखाएको छ । उक्त तथ्यांक अनुसार चुक्ता पूँजीका हिसाबले सबैभन्दा कमजोर राष्ट्रिय बीमा संस्थान देखिएको छ ।

सरकारी स्वामित्वको यस कम्पनीको पूँजी चालु आर्थिक वर्षको १० महिनासम्ममा जम्मा १२ करोड ९३ लाख रुपैयाँ मात्र रहेको छ । बीमा समितिले तोकेअनुसारको २ अर्ब पूँजी पुर्‍याउन यस कम्पनीलाई अझै १ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको आवश्यकता पर्ने हुन्छ ।

यसैगरी पूँजीका हिसाबले गुराँस लाइफ इन्स्योरेन्स पनि कमजोर देखिएको छ । यस कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ । अर्को कमजोर कम्पनी प्राइम लाइफ इन्स्योरेन्सको पनि चुक्ता पूँजी ६१ करोड ०२ लाख रुपैयाँ मात्रै छ ।

यसैगरी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको पनि चुक्ता पूँजी १ अर्ब पनि पुग्न सकेको छैन । चालु आर्थिक वर्षको १० महिनासम्म सूर्याको चुक्ता पूँजी ७२ करोड १८ लाख रुपैयाँ रहेको छ भने एशिएनको चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैयाँ मात्रै छ ।

एक अर्बमाथि पूँजी भएका कम्पनीहरु

चालु आर्थिक वर्षको १० महिनासम्म सबैभन्दा बढी पूँजी भएको कम्पनी नेपाल लाइफ नै हो । नेपाल लाइफको ३ अर्ब ९ करोड ६४ लाख २९ हजार रुपैयाँ पूँजी पुगिसकेको छ । पूँजीका हिसाबले नेपाल लाइफ पछि सिटिजन लाइफ इन्स्योरेन्स बलियो देखिएको छ । सिटिजनको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ ।

चुक्ता पूँजीको हिसाबले तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । गत वैशाख मसान्तसम्म यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ । पूँजीका हिसाबले चौथो स्थानमा देखिएको ज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ छ भने पाँचौं स्थानमा देखिएको युनियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ ।

चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ बनाएर रिलायन्स लाइफ इन्स्योरेन्स भने छैठौं स्थानमा देखिएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल लाईफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बराबर देखिएको छ । चालु आवको १० महिनासम्म यी ५ कम्पनीहरुको चुक्ता पूँजी समान १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

बाँकी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पूँजी भने १ अर्ब ३३ करोड ४६ लाख ७८ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment