+
+
Shares

अनशनबारे ओलीको टिप्पणी : बेमौसममा कराउनेहरु केही दिनमा चुप लाग्छन्

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २६ गते ४:३०


२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएको टिप्पणी गरेका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा उनले कसैले उक्साएर जुम्लामा भोकै सुत्न लगाउने र काठमाडौंका सडकमा केही मान्छे कराइरहने काम भएको टिप्पणी गरेका हुन् । ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्’ प्रधानमन्त्री ओलीले भने ।

केसीले केसीको अनशन र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गरे । सरकारले नराम्रो नगरेको भन्दै अडानका साथ कुरा राख्न आग्रह गरेका हुन् । ‘हामीले नराम्रो केही गरेको छैन । दृढताका साथ कुरा राख्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘अरु चाहिँ साउनको सिस्नु जस्तो फस्टाउने अनि हामी चाहिँ ओइलाउने हुन्छ ?’

उनले प्रतिपक्षी नेपाली कांग्रेसले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीति अनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र?’ प्रधानमन्त्री ओलीले भने ।

संस्कृत विश्व विश्वविद्यालयका उपकुलपति स्वीकृति नलिई विदेश जान लागेकोले उनलाई रोकिएको भन्दै ओलीले कोइरालामाथि थुप्रै उजुरी परेकाले छानबिन गर्ने बताए । ‘अहिलेका हल्लाले यो छानविन रोकिदैन’ उनले भने ।

प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौती दिए । ‘विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’ उनले प्रश्न गरे ।

काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं’ प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?