२७ असार, बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । हावापानी र माटो अनुकूलको खाद्यबाली, तरकारी, फलफूल र जडीबुटी खेतीको विकास गरी रोजगारी र आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले गाउँपालिकाले एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरेको हो ।
पहिलो वर्ष यसपालि वडा नं २ लुलाङ र वडा नं ६ मराङलाई एक गाउँ एक उत्पादन कार्यक्रमका लागि छनोट गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख योगेन्द्र राईले जानकारी दिए । लुलाङमा आलु र मराङमा अलैँची खेतीका लागि एक गाउँ एक उत्पादन कार्यक्रम शुरु गरिएको राईले बताए ।
मराङको हाङबाङमा गठन भएको मालीका कृषक समूहमार्फत दुई हेक्टर क्षेत्रफलमा रामशाही जातको अलैँचीको बिरुवा लगाइएको छ । यहाँ ४३ कृषकले १४ हजार अलैँचीका बिरुवा रोपेका छन् । गाउँपालिकाले अलैँचीका बिरुवा निःशुल्क उपलब्ध गराएको थियो ।
यसैगरी एक गाउँ एक उत्पादन कार्यक्रमका लागि आलुखेती छनोट भएको लुलाङमा बीउ भण्डारण गृह (रस्टिक स्टोर) निर्माण भएको छ । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको रु दुई लाख ७० हजार अनुदानमा बनाइएको भवनमा यसपाली फर्निचर र अन्य पूर्वाधारको व्यवस्था गरेर पूर्णता दिइएको छ ।
लेखकको बारेमा
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4