Comments Add Comment

विश्वकपः क्रोएसियाको मिडफिल्ड कि इंग्ल्याण्डको अट्याक ?

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राति पौने १२ बजे इंग्ल्याण्ड र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । खेल मस्कोमा रहेको लुजिन्की रंगशालामा हुनेछ ।

इंग्ल्याण्डले समूह चरणमा ट्युनिसियालाई २–१, पानामालाई ६–१ ले हराएको थियो भने बेल्जियमसँग १–० ले हारेको थियो । अन्तिम १६ मा कोलम्बियासँग १–१ को बराबरीपछि टाइबे्रकरमा ४–३ ले विजयी भएको इंग्ल्याण्डले क्वाटरफाइनलमा स्वीडेनलाई २–० ले हराएको थियो ।

क्रोएसियाले समूह चरणमा नाइजेरियलाई २–०, अर्जेन्टिनालाई ३–० र आइसल्याण्डलाई २–१ ले हराएको थियो । अन्तिम १६ मा डेनमार्कसँग १–१ को बराबरीपछि टाइब्रेकरमा ३–२ ले विजयी भएको क्रोएसिया क्वाटरफाइनलमा पनि टाइब्रेकरमै विजयी भएको हो । क्वाटरफाइनलमा रसियासँग २–२ को बराबरीपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी भएको थियो ।

विश्वकपमा क्रोएसिया दुई पटक टाइब्रेकरमा विजयी हुने दोस्रो टिम बन्यो । यसअघि अर्जेन्टिनाले १९९० मा दुई पटक टाइब्रेकर जितेको थियो । साथै तीन पटक टाइबे्रकर जित्न नसकेको इंग्ल्याण्डले कोलम्बियालाई अन्तिम १६ मा टाइब्रेकरमा हरायो ।

इंग्ल्याण्डविरुद्ध क्रोएसियाका डिफेन्डर सिम भरसाल्ज्को हुने छैनन् । घुँडाको चोटका कारण उनी मैदान बाहिर छन् । गोलकिपर ड्यानियल सुवासिक पनि पूर्ण रुपमा फिट छैनन् ।

इंग्ल्याण्ड टोलीमा भने २३ जना खेलाडी नै पूर्ण रुपमा फिट छन् । स्वीडेनसँगको खेलमा समस्यामा रहेका जेमी भार्डी र जोर्डन हेन्डर्सन क्रोएसियाविरुद्ध खेल्न तयार छन् ।

यसअघिको भेटमा

इंग्ल्याण्ड र क्रोएसियाबीच यसअघि ७ पटक खेल भएको छ । जसमा इंग्ल्याण्डले चार खेल जितेको छ । क्रोएसियाले दुई खेल जितेको छ भने एक खेल बराबरी भएको छ ।

प्रमुख प्रतियोगितामा सन् २००४ को युरोकपमा भएको भेटमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले हराएको थियो ।

दुवै टिमका केही तथ्य

सन् १९९८ को विश्वकपमा सेमिफाइनलमा पुगेको क्रोएसिया त्यसपछि २००२, २००६ र २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । पहिले युगोस्लाभियाकै क्षेत्र रहेको क्रोएसियाको यो पाँचौ विश्वकप सहभागिता हो ।

इंग्ल्याण्ड अहिले तेस्रो पटक विश्वकप सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा इंग्ल्याण्डमा आयोजना हुँदा, १९९० मा इटालीमा र यसपटक रसियामा गरेर तीनै पटक युरोपियन भूमिमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको हो ।

युरोपियन विपक्षीसँग क्रोएसियाले विश्वकपमा अहिलेसम्म एक पटक मात्रै हारेको छ । १९९८ को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएपछि युरोपियन देशसँगको सात खेलमा क्रोएसिया हारेको छैन । पाँच खेल जितेको छ भने दुई खेल बराबरी गरेको छ ।

रसिया विश्वकपमा अहिलेसम्म ६ गोल गरेका इंग्ल्याण्डका ह्यारी केन गोल्डेन बुटको दौडमा अघि छन् । फाइनलमा पुगेको फ्रान्सका एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पेले तीन/तीन गोल गरेका छन् । क्रोएसियाका लुका मोडरिकले दुई गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment