Comments Add Comment

वर्षाले जनजीवन अस्तव्यस्तः भक्तपुर र बनेपा डुब्यो, अरनिको राजमार्ग ठप्प

२८ असार, काठमाडौं । बुधबारदेखि देशभर परेको वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षापछि आएको बाढीले वस्ती डुबानमा परेका छन् भने पहिरोले राजमार्ग ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

अविरल वर्षाले भक्तपुरको हनुमन्ते खोलामा बढेको पानीको वहावले भक्तपुरका विभिन्न स्थान जनमग्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी,चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र जलमग्न भएको हो ।

लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक सडक आज बिहान साढे ४ बजेबाट पूर्ण रुपमा अवरुद्ध भएको छ ।

काभ्रेको बनेपा र पनौती पनि डुवानमा परेको छ । काभ्रेस्थित अनलाइनखबरकर्मी रामसुन्दर आचार्यका अनुसार पुण्यमती खोला र खहरेमा आएको बाढीले बनेपाको थापा गाउँदेखि धनेश्वरसम्मका भाग डुबानमा परेका छन । तीन दर्जन बढी पसल, घरको पहिलो तलामा पानीको भेल पस्दा रातभर स्थानीय जागराम रहे ।

 

यसैबीच, पहिरो खस्दा अरनिको राजमार्ग बिहीबार बिहानैदेखि ठप्प छ । काभ्रे भञ्ज्याङमा खसेको पहिरोले आवागमन प्रभावित भएको हो ।

सडक माथिबाट खसेको पहिराका कारण गए रातिदेखि पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ ।

सडकखण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजीकै माथिबाट लेदो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । गएराति झण्डै १० बजेदेखि नै पहिरो खस्न शुरु गरेका कारण पोखराबाट पर्वत हुँदै मुस्ताङ, म्याग्दी र बागलुङ जाने तथा पर्वत हुँदै पोखरा तथा अन्य लामो तथा छोटो दूरीमा जाने सयौँ सवारी साधान रातिदेखि नै बीचैमा अलपत्र परेका छन् ।

बाटो खुलाउनका लागि रातिदेखि नै डोजर प्रयोग गरिए पनि हिलो र लेदो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म पनि बाटो अवरुद्ध नै छ ।

बाटो खुलाउनका लागि डिमुवाबाट रातिदेखि नै प्रहरी खटिए पनि सडक पुनः सञ्चालन हुन सकेको छैन । वर्षा शुरु भएसंँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा–बागलुङ सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ । दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्ड पनि वर्षाले प्रभावित भएको छ । यो सडकखण्ड अन्तर्गत पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा दुवैतर्फ सवारी रोकिएका छन् ।

राससका अनुसार दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको छ । मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए ।

उता, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीखण्ड पहिराका कारण अवरुद्ध भएको छ ।

सिन्धुली फिक्कल गाउँपालिका–२ सुनामबेंसीमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि परेको पानीका कारण सडकमाथिबाट माटो खसिरहँदा अहिले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment