नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७५/७६ को मौद्रिक नीति जारी गरिसकेको छ । मौद्रिक नीतिमार्फत पूँजी बजारका थप अन्य कुरा सम्बोधन गरिएको छ । अब यसपटकको मौद्रिक नीतिले समग्र पूँजीबजारलाई कस्तो प्रभाव पार्ला ? मौद्रिक नीति बजेटको परिपूरक हुन्छ । यस वर्ष पनि त्यसै भएको छ, यसलाई नकार्न सकिँदैन ।
मौद्रिक नीतिका कारणले तत्काल बजार बढ्छ र घट्छ भन्ने सोच राख्नुभन्दा दीर्घकालीन रूपमा त्यसको प्रभाव समग्र बजार विकास र विस्तारमा कस्तो पर्छ भनेर हेर्नुपर्छ । अहिले बजारको विकासका लागि मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन गर्न सकेको छैन । त्यसैले मौद्रिक नीति पुँजी बजारको विकास र विस्तारमा सहयोगी हुन नसकेको प्रष्ट देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको एक चुनावी सभालाई सम्वोधन गर्ने क्रममा भन्नुभएको थियो, ‘तपाईँहरु जो पुँजीबजारका लगानीकर्ता हुनुहुन्छ, धक फुकाएर लगानी गर्नुस्, चुनावपछि बन्ने वाम गठवन्धनको सरकारले पूँजीबजारको विकासका लागि कुनै कसर बाँकी राख्ने छैन । कम्युनिष्ट सरकार बनेपछि सेयर बजार झन् घट्छ भन्ने हल्ला फैलाइएको छ । यो सबै भ्रम हो ।
अझ पछाडि फर्किएर हेर्ने हो भने उहाँ नै प्रधानमन्त्री हुँदा ०७३ साउन १२ गते पुँजी बजारले आकाश नै छोएको थियो । त्यसवेला नेप्से इन्डेक्स १८८१ विन्दुमा थियो । उहाँले यो कुरा हेक्का राख्नुपर्ने हो । ‘हामी बजार सुधारका कार्यक्रम ल्याउनेछौं, तपाईंहरु नआत्तिनुहोस्’ भन्ने जस्ता आश्वासन आम लगानीकर्ताले यतिबेला झलझली सम्झिरहेका छन् ।
पूँजीबजारको अवस्था र नयाँ मौद्रिक नीति
बजारमा अहिले नयाँ-नयाँ कम्पनीहरु छपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम पनि बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ । साथै, सीमित व्रोकरहरुको हातमा बजार नियन्त्रित छ । बजारमा ब्रोकरहरुको सिन्डिकेट कायम छ । जसका कारण बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ ।
कहिलेकाहिँ बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल हुने गर्छ । बैंकमा आउने तरलताको कारण बजारमा नकारात्मक असर पर्छ । तर, यस मौद्रिक नीतिमार्फत बैंकहरुको सीआरआर ४ प्रतिशतमा झारेको कारण बैंकहरुमा ४८ अर्ब रूपैयाँ तरलता थपिएको छ । जसको कारण बैंकहरुमा तरलता वृद्धिभई बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
लगानीकर्ताहरुको अर्को टाउको दुखाइको बिषय मार्जिन कल पनि हो । केही हदसम्म यो मौद्रिक नीति मार्फत सम्बोधन भएको छ । मार्जिन कलको समस्या केही हदसम्म सम्बोधन भएता पनि लगानीकर्ताहरुले अपेक्षा गरेको सेयर धितो कर्जा वृद्धिलाई यस मौद्रिक नीतिले समेट्न भने सकेको छैन । स्मरण रहोस् सेयर मूल्यांकनमा हामीले ७० देखि ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितताका लागि पहल गरेका थियौं ।
एउटा आशालाग्दो काम सेयर मूल्य २० प्रतिशत नघटिकन मार्जिन कल गर्न नपाइने व्यवस्थाका कारण यो अप्रत्यक्ष रूपमा सेयर धितो कर्जा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याइएको जस्तो नै हो ।
सेयरको अंकित मूल्य घटेपनि वास्तविक मूल्य भने बढेको छ । जसका कारण मार्जिन रकम तिर्नका लागि लगानीकर्ताहरुले या त शेयर बिक्री गर्नुपर्ने वा अन्यत्रबाट रकमको जोहो गर्नुपर्ने झन्झट केही हदसम्म हटेको छ ।
अलि-अलि मूल्य घट्यो कि मार्जिन रकम तिर्नकै लागि सेयर बेच्नुपर्ने झन्झट कम भएको छ । जसको कारण मार्जिन रकम तिर्न सेयर बिक्री गर्ने चाप कम हुनेछ । बिक्री चाप कम भै बजारमा सकारात्मक प्रभाव पर्नेछ ।
बाणिज्य बैंकहरुको चुक्ता पूँजी २ अर्ब रूपैयाँ मात्र थियो । उक्त समयमा प्राथमिक पूँजीको ४० प्रतिशतसम्म सेयरमा ऋण प्रवाह गर्न पाइन्थ्यो । तर अहिले बैंकहरुको पूँजी वृद्धि भई ८ अर्ब रूपैयाँ पुगेको छ । बैंकहरुले पूँजी वृद्धि गरेको कारण नै प्राथमिक पूँजीको २५ प्रतिशतसम्म सेयरमा ऋण प्रवाह ब्यवस्था गरिएको हो ।
झट्ट हेर्दा बैंकहरुको प्राथमिक पूँजीको सेयरमा ऋण प्रबाह ४० प्रतिशतबाट २५ प्रतिशतमा झारेको जस्तो देखिएता पनि अहिले बैंकहरुको पूँजीको आकार वृद्धि भएको कारण यसलाई सकारात्मक रूपमा नै लिनुपर्छ । ऋण प्रबाहको प्रतिशतमा घटे तापनि ऋण प्रवाह हुने समग्र रकम भने घटेको छैन ।
यसले वाणिज्य बैंकहरुको सेयर कर्जामा ऋण प्रवाह गर्ने क्षमता घट्दैन । बैंकहरुको पूँजीको आकार र जगेडा कोष लगायत बढ्दो क्रममा रहेकाले प्राथमिक पूँजी बढ्दै जानेछ भने बैंकहरुको सेयर कर्जामा ऋण दिने क्षमता पनि बढ्ने छ ।
लघुवित्तलाई नयाँ लाइसेन्स नदिने तर मर्जरमा जान प्रोत्साहन गरिने नीतिका कारण बजारमा नयाँ लघुवित्त कम्पनीको सेयर थपिने छैन । बजारमा नयाँ लघुवित्त कम्पनीका नयाँ सेयरहरु नआउने हुँदा बिद्यमान लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा कुनै नकारात्मक असर पर्दैन । बजारमा विद्यमान लघुवित्त कम्पनीहरुको मात्र सेयर कारोबार हुने हो ।
आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमार्फत लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप सेयर धितो कर्जाको सीमा वृद्धि भएन । वर्तमान ५० प्रतिशतको सीमा वृद्धि होस् भन्ने हामी लगानीकर्ताहरुको चाहना थियो तर यो चाहना केवल चाहनामा मात्र सीमित रहृयो । लगानीकर्ताहरुले अपेक्षा गरे अनुरुप मौद्रिक नीतिमार्फत यसको प्रत्यक्ष रूपमा सम्बोधन गरिएन ।
मौद्रिक नीतिकै कारण बजार तत्काल नै घट्ने वा बढ्ने दृष्टिकोणबाट हेर्नुभन्दा पनि यो मौऽकि नीतिले समग्र पूँजी बजारलाई दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्ने छ त त्यो आधारबाट मौद्रिक नीतिको थप व्याख्या गर्नुपर्ने हुन्छ ।
बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकरको काम गर्ने कुरामा सम्बोधन गर्नु, तरलताको समस्या केही हदसम्म सम्बोधन गर्न सीआरआर ४ प्रतिशतमा झार्नु , ब्याजदर ब्यवस्थित गर्न स्प्रेडदर घटाउनु, मार्जिन कलको तनाव कम गर्न सेयरमूल्य २० प्रतिशत नघटी मार्जिन कल नगर्ने व्यवस्था गर्नुलगायतका विविध ब्यवस्थाको कारणले पूँजी बजारको दीर्घकालीन हित, पूँजी बजारको विकास एवं विस्तारका लागि यो मौऽकि नीतिलाई सकारात्मकरूपमा लिनुपर्छ । यो व्यवस्थाका कारण दीर्घकालीन रूपमा समग्र पूँजी बजारलाई सकारात्मक प्रभाव पार्नेछ ।
अन्त्यमा,
बजारको वास्तविक प्रवृत्ति र लगानी गर्ने समयका बारेमा सामान्य अन्दाज नहुँदा पनि नयाँ र साना लगानीकर्ता अधिक मारमा पर्ने गर्छन् । आखिर कहाँ गयो प्रधानमन्त्रीले चुनावअघि बाँडेको आश्वासन ? त्यो भाषणबाट पुलकित भएका नेपाली पूँजी बजारका १५ लाख लगानीकर्ता अहिले आएर एमालेलाई भोट हालेर ठूलो गल्ती गरिएछ भन्न थालेका छन् ।
त्यसैले यो सरकारसँग जनताको ठूलो अपेक्षा छ । वजेट र मौद्रिक नीतिले छुन नसकेको बजारलाई प्रधानमन्त्री केपी ओलीजस्तो भिजन र मिसनका साथ अगाडि बढिरहेका नेताले १५ लाख लगानीकर्तालाई मलम पट्टी लगाउने कि थप नुनचूक ? लगानीकर्ताहरु बाटो हेरेर बसेका छन् ।
सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जाको व्याज दरलाई ८ प्रतिशतमा झारिदिने व्यवस्था गर्नसक्नु भए विपक्षले लगाउने गरेको दाग स्वत: मेटिएर जाने छ । साथै लगानिकर्ताको स्वाहा भएको रकम फेरी बजारमै भित्रने छ । वजारले पुनर्जीवन प्राप्त गर्नेछ । र, सरकारलाई लगानीकर्ताले सधैँ सम्झिरहनेछन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4