+

मुख्यमन्त्रीको सुझावः खेलाडी छनोटको दायरा फराकिलो बनाऊ

२०७५ साउन  ३ गते १२:०९ २०७५ साउन ३ गते १२:०९
मुख्यमन्त्रीको सुझावः खेलाडी छनोटको दायरा फराकिलो बनाऊ

३ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले खेलकुदमा उपलब्धी हासिल गर्न खेलाडी छनोटमा विशेष ध्यान दिनुपर्ने औंल्याएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रदेशस्तरीय अन्तरक्रिया र कार्यशालाको बिहीबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरलले अहिलेसम्म पदाधिकारी निकटका मान्छेका छोराछोरीलाई छनोट गर्ने परिपाटीले नेपालको फुटबल खेल पछाडि परेको बताए ।

फुटबल खेलाडी छनोट गर्दा स्टामिना राम्रो भएको, कुद्न सक्ने र गोल हान्ने कौशल (कला) भएका खेलाडी छनोट गर्न सकिएन भने राज्यले जतिसुकै लगानी गरेपनि उपलब्धी नहुने मुख्यमन्त्री पोखरेलले स्पष्ट पारे । ‘अबदेखि फुटबल खेलाडी छनोटको दायरा फराकिलो बनाउन जरुरी छ,जस्को स्टामिना राम्रो छ, कुदेर थाक्दैन र गोल गर्ने कला पनि छ तिनैलाई छान्नुपर्छ,’मुख्यमन्त्री पोखरेलले भने-‘अहिलेसम्म आफ्ना निकटका मान्छेलाई कसरी टिममा पार्ने भन्ने सांघुरो सोंचले काम गरेको थियो,अब त्यो बदल्नैपर्छ ।’

कुनैबेला साफ च्याम्पियन बनेको नेपाली फुटबल एन्फा भित्रको सांगठानिक विवादले पछाडि धकेलिएको औंल्याउंदै मुख्यमन्त्री पोखरेलले अब नयाँ नेतृत्व आइसकेको र विवाद सुल्झिसकेकाले एकतावद्ध भएर अघि बढेमा फेरि फड्को मार्न सकिने बताए ।

खेलाडी उत्पादन गर्ने स्पष्ट योजना बनाएर अघि बढ्न सुझाव दिँदै मुख्यमन्त्री पोखरेलले स्थानीय, प्रदेश र राष्ट्रियस्तरका प्रतियोगिताहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतियोगिताको निरन्तरताले खेलाडीमा ऊर्जा र हौसला मिल्नुका साथै खेल कौशलको पनि विकास हुने उनले सुझाए ।

खेलाडी उत्पादन र फुटबलको विकासका लागि जिल्लासम्म मात्र नभई पालिकातहमै पुग्न एन्फालाई सुझाव दिंदै मुख्यमन्त्रीले प्रदेश ५ सरकारले अन्य सबै प्रदेशले भन्दा बढी खेलकुदको विकासलाई प्राथमिकता दिएको जानकारी गराए ।

प्रदेश सरकारले एक वर्षभित्र गाउं तथा नगर पालिकाहरुमा १ सय ११ वटा खेल मैदान र उपमहानगरपालिकामा ४ वटा रंगशाला बनाउने लक्ष्य सहित पर्याप्त वजेट विनियोजन गरेको बताए ।

एउटा पालिकाका लागि खेल मैदान बनाउन कम्तीमा ५० लाख छुट्टाइएको जानकारी दिँदै मुख्यमन्त्रीले स्पष्ट प्रस्ताव लिएर आए एन्फासंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि बताए ।

उनले फिफाबाट प्राप्त २२ लाख डलर सातवटै प्रदेशमा समानुपातिक ढंगले वितरण गरी सहकार्य गर्न आएमा उक्त वजेट भन्दा धेरै काम गरेर देखाउन प्रदेश ५ सरकार इच्छुक रहेको प्रष्ट पारे ।

एन्फाका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले विगतमा संस्थाभित्रकै विवाद, अपारदर्शिता, अनियमितता जस्ता कारणले नेपालको फुटबल क्षेत्र नाजुक बनेको उल्लेख गर्दै अब विधान, आर्थिक नियमावली,संगठनात्मक संरचना आदि संशोधन र परिमार्जन गरेर फुटबललाई पुनःर्जिवित गर्ने लक्ष्य अनुसार सातै प्रदेशमा सुझाव संकलनका लागि अन्तरक्रिया र कार्यशाला आयोजना गरिएको बताए ।

नेपाली फुटबलको ग्रासरुटदेखि नै विकास गर्ने उद्देश्यले ४५ जिल्लामा भदौमा ग्रासरुट कार्यक्रम नै संचालन गर्न लागिएको र स्थगित शहीद स्मारक लिग पनि यसै वर्ष सूचारु गर्न लागिएको अध्यक्ष शेर्पाले बताए ।

राष्ट्रिय लिग,महिला लिग, अन्तर मावि लिगलाई सुचारु गर्नेदेखि सातै प्रदेशमा प्रदेशस्तरीय रंगशाला,अन्तर्राष्ट्रिय रंगशाला जस्ता पुर्वाधार निर्माणमा संघीय, प्रदेश र स्थानीय सरकारले लगानी गर्नुपर्ने शेर्पाले माग गरे ।

प्रदेश ५ मा प्रदेशस्तरीय टेक्निकल सेन्टरका लागि जग्गा उपलब्ध गराइदिन शेर्पाले मुख्यमन्त्रीसंग माग गरे ।

अन्तरक्रियामा एन्फाका उपाध्यक्ष कृष्ण थापा,पंकजविक्रम नेम्बाङ,प्रवक्ता किरण राई लगायतले बोल्दै राजनीतिज्ञहरुले खेलकुदलाई राम्रोसंग नबुझ्दा समग्र खेलकुद क्षेत्र पछाडि परेको अवस्थामा प्रदेश ५ सरकार र मुख्यमन्त्रीले खेलकुद क्षेत्रलाई दिएको प्राथमिकता दिई पर्याप्त वजेट छुट्टाएको देखेर आफूहरु प्रभावित भएको भन्दै खुलेर प्रशंसा गरे ।

उनीहरुले प्रदेश ५ बाट अन्य प्रदेश र संघीय सरकारले सिक्नुपर्ने धारणा राखे । कार्यशालामा प्रदेश ५,६र ७ का जिल्ला फुटबल संघका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

एन्फाको यही साउन ३० गते हुन लागेको विशेष साधारणसभालाई लक्षित गरी सातै प्रदेशलाई समेटेर कार्यशाला गरिएको हो ।

खेलाडी मुख्यमन्त्री शंकर पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय